सञ्चालनमै आएन क्यान्सर उपचार केन्द्र : JCNEPAL MEDIA

मंशिर २९,२०८१/ जेसी नेपाल संवाददाता

सुर्खेत : देश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबीच सम्झौता भएको तीन महिना बित्दासमेत क्यान्सर उपचार केन्द्र सञ्चालनमा आउन सकेको छैन । प्रदेश अस्पतालबाटै क्यान्सर उपचार केन्द्र सञ्चालन गर्न प्रदेश अस्पताल र बीपी कोइराला क्यान्सर अस्पतालबीच गत भदौ १२ मा सम्झौता भएको थियो ।

सम्झौतालगत्तै भरतपुरबाट आएको विशेषज्ञ चिकित्सकको टोलीले प्रदेश अस्पतालमा भदौ १३ मा क्यान्सरका सम्भावित बिरामीको परीक्षण गरेको थियो । सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग उपचार सेवा प्रदान गर्नुपर्ने उल्लेख गरेको थियो । सुर्खेतको प्रादेशिक अस्पतालको क्यान्सर नियन्त्रण रणनीतिमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीमा सेवा विस्तार गर्ने उल्लेख थियो । रणनीति कार्यान्वयनका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि पारित गरिसकेको छ ।

अस्पतालका वरिष्ठ अर्थोपेडिक कन्सल्टेन्ट डा. विकास केसीले क्यान्सर रोगको निदानका लागि प्रदेश अस्पतालमा अत्याधुनिक उपकरण भए पनि भरतपुरबाट विशेषज्ञ चिकित्सकको टोली नआउँदा उपचार हुन नसकेको बताए । ‘हामी तयारै हुँदासमेत उता (भरतुपर) बाट विशेषज्ञ टोली आएन, पहिलो पटक कार्यक्रम सञ्चालन मात्र भयो,’ उनले भने, ‘कुन–कुन रोगको विशेषज्ञ आउने भन्ने टुंगो नलाग्दा नाम दर्ता हुन सकेन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत असार ३१ मा पद सम्हालेपछि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । रणनीतिमा सातै प्रदेशबाट क्यान्सरको परीक्षण र उपचार केन्द्र सञ्चालन गर्ने उल्लेख छ ।

प्रदेश अस्पतालका तत्कालीन निर्देशक डा. डम्बर खड्का र बीपी कोइराला मेमोरियल अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा सुर्खेत आउने विशेषज्ञ चिकित्सकको यातायात, खाना र आवास खर्च भरतपुर अस्पतालले नै बेहोर्ने उल्लेख छ । अस्पतालका सम्बन्धित विभागबाटै क्यान्सर जाँच गर्ने व्यवस्था मिलाइएको थियो । क्यान्सरको उपचार सुरु हुने खबरले प्रदेश अस्पतालमा बिरामीको संख्या बढेको थियो । अस्पतालका निर्देशक डा. केशव ढकालले सम्झौताअनुसार सेवा सञ्चालनका लागि पहल गर्ने बताए । ‘कर्णालीमा यस्तो सेवा अत्यावश्यक छ तर यसबीचमा चाडपर्व पर्‍यो र व्यवस्थापकीय हिसाबमा केही ढिलासुस्ती भयो,’ उनले भने, ‘अब क्यान्सर उपचार केन्द्र सञ्चालन गर्ने गरी मन्त्रालय र भरतपुर अस्पतालसँग समन्वय गर्छौं ।

प्रदेश अस्पतालका पूर्वनिर्देशक डा. खड्काले स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले घोषणा गरेर ‘फलोअप’ मा ध्यान नदिएको टिप्पणी गरे । ‘लोकप्रियताका लागि घोषणा मात्र गरियो, मन्त्रालयको टिमले कार्यान्वयनमा चासो दिएको पाइएन,’ उनले भने, ‘मन्त्रालयले कम्तीमा एक जना डाक्टरलाई फोकल पर्सन तोके सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सक्थ्यो ।’ पूर्वनिर्देशक खड्काले सेवा सञ्चालनका लागि सम्झौताका दुई पक्षले आपसी समन्वय गर्नुपर्ने बताए ।

प्रकाशित : मंशिर २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान : JCNEPAL MEDIA

सामाजिक सञ्जाल खोल्ने सरकारको निर्णय : JCNEPAL MEDIA

जेन-जीको प्रदर्शनमा अभियान्ता ‘ई.’का भाइ ईश्वतको मृत्यु : JCNEPAL MEDIA

मृत्यु हुनेको संख्या ९ पुग्यो : जेनजी प्रदर्शन JCNEPAL MEDIA

जेनी- जी’को प्रर्दशनमा मार्चपास , गीत– कविता सुनाउन पाइने, कसैले भाषण नगर्ने : काठमाडौं JCNEPAL MEDIA

जनकपुरमा प्रहरी र स्थानीय बीच झडप, गोली लागेर एकजना घाइते : JCNEPAL MEDIA