सञ्चालनमै आएन क्यान्सर उपचार केन्द्र : JCNEPAL MEDIA

मंशिर २९,२०८१/ जेसी नेपाल संवाददाता

सुर्खेत : देश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबीच सम्झौता भएको तीन महिना बित्दासमेत क्यान्सर उपचार केन्द्र सञ्चालनमा आउन सकेको छैन । प्रदेश अस्पतालबाटै क्यान्सर उपचार केन्द्र सञ्चालन गर्न प्रदेश अस्पताल र बीपी कोइराला क्यान्सर अस्पतालबीच गत भदौ १२ मा सम्झौता भएको थियो ।

सम्झौतालगत्तै भरतपुरबाट आएको विशेषज्ञ चिकित्सकको टोलीले प्रदेश अस्पतालमा भदौ १३ मा क्यान्सरका सम्भावित बिरामीको परीक्षण गरेको थियो । सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग उपचार सेवा प्रदान गर्नुपर्ने उल्लेख गरेको थियो । सुर्खेतको प्रादेशिक अस्पतालको क्यान्सर नियन्त्रण रणनीतिमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीमा सेवा विस्तार गर्ने उल्लेख थियो । रणनीति कार्यान्वयनका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि पारित गरिसकेको छ ।

अस्पतालका वरिष्ठ अर्थोपेडिक कन्सल्टेन्ट डा. विकास केसीले क्यान्सर रोगको निदानका लागि प्रदेश अस्पतालमा अत्याधुनिक उपकरण भए पनि भरतपुरबाट विशेषज्ञ चिकित्सकको टोली नआउँदा उपचार हुन नसकेको बताए । ‘हामी तयारै हुँदासमेत उता (भरतुपर) बाट विशेषज्ञ टोली आएन, पहिलो पटक कार्यक्रम सञ्चालन मात्र भयो,’ उनले भने, ‘कुन–कुन रोगको विशेषज्ञ आउने भन्ने टुंगो नलाग्दा नाम दर्ता हुन सकेन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत असार ३१ मा पद सम्हालेपछि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । रणनीतिमा सातै प्रदेशबाट क्यान्सरको परीक्षण र उपचार केन्द्र सञ्चालन गर्ने उल्लेख छ ।

प्रदेश अस्पतालका तत्कालीन निर्देशक डा. डम्बर खड्का र बीपी कोइराला मेमोरियल अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा सुर्खेत आउने विशेषज्ञ चिकित्सकको यातायात, खाना र आवास खर्च भरतपुर अस्पतालले नै बेहोर्ने उल्लेख छ । अस्पतालका सम्बन्धित विभागबाटै क्यान्सर जाँच गर्ने व्यवस्था मिलाइएको थियो । क्यान्सरको उपचार सुरु हुने खबरले प्रदेश अस्पतालमा बिरामीको संख्या बढेको थियो । अस्पतालका निर्देशक डा. केशव ढकालले सम्झौताअनुसार सेवा सञ्चालनका लागि पहल गर्ने बताए । ‘कर्णालीमा यस्तो सेवा अत्यावश्यक छ तर यसबीचमा चाडपर्व पर्‍यो र व्यवस्थापकीय हिसाबमा केही ढिलासुस्ती भयो,’ उनले भने, ‘अब क्यान्सर उपचार केन्द्र सञ्चालन गर्ने गरी मन्त्रालय र भरतपुर अस्पतालसँग समन्वय गर्छौं ।

प्रदेश अस्पतालका पूर्वनिर्देशक डा. खड्काले स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले घोषणा गरेर ‘फलोअप’ मा ध्यान नदिएको टिप्पणी गरे । ‘लोकप्रियताका लागि घोषणा मात्र गरियो, मन्त्रालयको टिमले कार्यान्वयनमा चासो दिएको पाइएन,’ उनले भने, ‘मन्त्रालयले कम्तीमा एक जना डाक्टरलाई फोकल पर्सन तोके सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सक्थ्यो ।’ पूर्वनिर्देशक खड्काले सेवा सञ्चालनका लागि सम्झौताका दुई पक्षले आपसी समन्वय गर्नुपर्ने बताए ।

प्रकाशित : मंशिर २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA

पासपोर्ट छपाइको जिम्मा पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल पक्राउ : JCNEPALMEDIA

परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता : JCNEPALMEDIA