राष्ट्रपतिको निर्वाचनपश्चात् राजनीतिमा नयाँ तरंग - JC NEPAL MEDIA

माघ ११,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रपतिको निर्वाचनपश्चात् राजनीतिमा नयाँ तरंग उत्पन्न हुने संभावना देखिन्छ । संसद्को तेस्रो तर कमजोर समूहको रूपमा रहेको नेकपा माओवादी अहिले सर्वाधिक बलशाली पार्टीको भूमिकामा देखापरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको इच्छा र योजनामा प्रधानमन्त्री बनेका प्रचण्डले केपीको लाचारछाया भएर काम गर्नुपर्ने ठानिएको थियो, तर परिस्थितिले प्रचण्डलाई पहिलेको भन्दा निकै ‘कम्फर्टेबल’ अवस्थामा पुऱ्याइदिएको छ । काङ्ग्रेसले विश्वासको मत दिएपछि प्रचण्ड यसरी बलियो बन्ने परिस्थिति निर्माण भएको हो । प्रचण्डलाई गत पौष २६ गते काङ्ग्रेसले विश्वासको मत दिएपछि केपी नराम्रोसँग झस्किएका थिए र, उनले काङ्ग्रेसको निर्णयप्रति गम्भीर असहमति जनाएका थिए । कतै सभामुख र राष्ट्रपति जस्ता दुवै उच्च पद लिन नसकिने हो कि भन्ने चिन्ता एमाले नेतृत्वमा पैदा भएको थियो । प्रचण्डप्रतिको अविश्वासकै कारण हतार-हतारमा मूख्यमन्त्री र सभामुखको चयन भइसकेका छन् । सातमध्ये चार मुख्यमन्त्री र सभामुख पद एमालेले हात लगाइसकेको छ । अब राष्ट्रपति पद पनि एमालेमै पार्ने प्रयास एमालेले गरिरहेको छ ।

त्यसो त प्रचण्डले आफू प्रधानमन्त्री बन्ने क्रममा केपीलाई राष्ट्रपति र सभामुख दुवैै पद एमालेलाई दिने वचन दिएका थिए । प्रचण्डले त्यसरी दिएको वचनको माओवादी पार्टीभित्र व्यापक आलोचना भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश एमालेसमर्थित, अख्तियार प्रमुख एमाले समर्थित, प्रमुख निर्वाचन आयुक्त एमालेसमर्थित, सातमध्ये चार मुख्यमन्त्री एमालेसमर्थित र राष्ट्रियसभाको अध्यक्ष एमालेसमर्थित रहेको स्थितिमा राष्ट्रपति पनि एमालेको हातमा जाँदा मुलुकको राजनीतिमा असहज र असन्तुलित अवस्था आउने भन्दै माओवादीका नेताहरूले प्रचण्डलाई सचेत गराएको बुझिएको छ । यद्यपि केपीले माओवादीलाई पुनः पार्टी एकीकरणको प्रस्ताव दिएर अन्तरविरोध शिथिल तुल्याउने प्रयास गरिसकेका छन् । यदि केपी आफ्नो योजनामा सफल भए भने राष्ट्रपति एमाले कित्ताबाट नै बन्नेछ । होइन भने उक्त पदीय जिम्मेवारी काङ्ग्रेसलाई प्राप्त हुने अवस्था छ । एमालेभित्र अष्टलक्ष्मी शाक्य, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा र सुवास नेम्वाङलगायतका ब्यक्तिहरूको नाम सम्भावित राष्ट्रपतिका रूपमा लिइन्छ ।

तथापि केपीले कसैले सोच्नै नसकेको नाम राष्ट्रपतिमा अघि सार्ने सम्भावनालाई पनि इन्कार गर्न सकिन्न । मानिसलाई ‘सरप्राइज’ दिन केपी औधी रूचि राख्ने गर्दछन् । एमालेले राष्ट्रपति चयन गर्ने मौका नपाएमा लोसपाका महन्थ ठाकुर राष्ट्रपति बन्न सक्ने अनुमान गरिन्छ । भारतसँग बढेको दूरी घटाउन पनि महन्थलाई राष्ट्रपति दिनसक्ने अनुमान गर्न थालिएको छ । काङ्ग्रेस पार्टीमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम अगाडि आएको छ । पौडेल र सिटौला उक्त पदीय जिम्मेवारी हात पार्न निकै कसरतमा रहेको बुझिन्छ । दुवै नेताहरू आफूले टिकट पाएमा विजयी बन्ने विश्वास सभापति शेरबहादुर देउवालाई दिलाउने प्रयास गरिरहेका छन् । तर काङ्ग्रेसलाई राष्ट्रपति चयनको मौका आएमा उक्त पदमा मानबहादुर विश्वकर्माको चयन हुनसक्ने सम्भावना प्रवल बन्दै गएको छ । कुनै समय अमृत साइन्स कलेजमा प्राध्यापन गर्ने विश्वकर्मालाई काङ्ग्रेसको सक्रिय राजनीतिमा ल्याउन किशुनजीले राजीनामा गराएका थिए । मन्त्रीसम्म बनिसकेका विश्वकर्मा अनेक दृष्टिले राष्ट्रपतिका निम्ति उपयुक्त मानिन्छन् । त्यसो त वरिष्ठ नेता कुलबहादुर गुरुङको नाम पनि सम्भावित राष्ट्रपतिका रूपमा लिइन्छ । पश्चिमाहरूले भने कुनै तटस्थ ब्यक्ति जस्तै लाग्ने आफ्नो खास मानिसलाई राष्ट्रपति बनाउने कसरत गरिरहेको बुझिन्छ । त्यसनिम्ति सोसल मिडियामार्फत अनेक ब्यक्तिको नाम चर्चामा ल्याउने काम पश्चिमाहरूले नियोजित रूपमा गरिरहेका छन् ।

देशभक्त राष्ट्रवादीहरूले भने तटस्थ ब्यक्तिलाई नै बनाउने हो भने डा. जगमान गुरुङ राष्ट्रपतिका सबैभन्दा उत्तम उम्मेदवार हुने धारणा प्रस्तुत गर्दै आएका छन् । राष्ट्रपति चयनमा माओवादीले केपीलाई साथ नदिएमा दुई पक्षबीच अन्तरविरोध चर्किने निश्चित छ । यद्यपि अन्तरविरोध चर्किए पनि एमाले सरकारबाट बाहिरिने सम्भावना न्यून छ । सरकारबाट बाहिरिएको अवस्थामा पनि घाटा एमालेलाई नै हुने भएकोले राष्ट्रपति नपाए पनि एमालेले सत्ता छोड्ने सम्भावना देखिँदैन ।

तर अलिक असहज वातावरण सिर्जना भएमा प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेर काङ्ग्रेसलगायतलाई भित्र्याउने र एमालेलाई हटाइदिने सम्भावना भने नभएको होइन । संविधानको धारा ७६ (२) अनुसार बनेको यो सरकार एमाले बाहिरिएर काङ्ग्रेस भित्रिँदा पनि यथावत चल्नसक्ने छ । तर यस किसिमको स्थितिले तनाव बढाउने र राजनीति अस्थीर बनाउनेचाहिँ निश्चित मानिन्छ ।

प्रकाशित : माघ ११,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

राजधानीकै ठूला पसलमा तस्करीको सुन : काठमाडौं JCNEPAL_MEDIA

खुशी - विरेन्द्रक यात्रा कथाकाे आवरण सार्वजनिकीकरण कार्यक्रम सम्पन्न JCNEPAL_MEDIA

अवैध सालको गोलिया काठसहित सफारी गाडी बरामद JCNEPAL_MEDIA

उपप्रम एवं सहरी विकासमन्त्री सिंह र भारतका राजदूत नवीन श्रीवास्तव बीच शिष्टाचार भेटवार्ता JCNEPAL_MEDIA

साउनदेखि ड्राइभिङ लाईसेन्सको सट्टा राष्ट्रिय परिचय पत्र JCNEPAL_MEDIA