नेपालमा गैरसंवैधानिक शक्तिको उदय

मंशिर ३०,२०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपालमा गैरसंवैधानिक शक्तिको उदय भएको छ । राज्य व्यवस्थाप्रतिको अपनत्व र स्वामित्व बढाउन एवं शासनको सुखद अनुभूति गराउन विभिन्न कालखण्डमा संविधान, शासन, सरकार, संरचना र संयन्त्रसमेत परिवर्तन हुँदै आएका छन् । एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै विभेद र उत्पीडनको अन्त्य गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संघीय शासन प्रणालीको अभ्यास गरिएको छ ।

तर संविधान, संरचना र शासन प्रणाली परिवर्तनका बावजुद शासकीय तथा प्रशासकीय गतिविधि अपेक्षा बमोजिम चलायमान हुन सकेनन् । त्यो किनभने, विगत शासनको प्रशासकीय लिगेसी अहिले पनि बाँकी नै छ । एउटा लामो व्यवस्थाबाट अर्कोमा पर्दापण हुँदै गर्दा पुरानो लिगेसीले केही न केही काम गरिरहेको हुन्छ । अर्को, शासनको नयाँ अभ्यास भएकाले धेरै कुरा संस्थागत हुँदै छन् । अभ्यासका क्रममा केही संरचना घटाउनुपर्ने, केही बढाउनुपर्ने अनुभूति हुँदै छ । सैद्धान्तिक रूपमा संविधान तथा कानूनमा लेखिएका अक्षर अभ्यासमा लैजाँदा मात्र परीक्षण हुन्छन् । हाम्रो शासन प्रणालीका नयाँ अभ्यासहरू परीक्षणमै छन् । आवश्यक थप्दै र अनावश्यक घटाउँदै लैजानुपर्छ ।

गैरसंवैधानिक शक्तिको उदय भनेको संविधान तथा कानुनले नचिनेका व्यक्ति तथा पात्रले शासकीय निर्णय तथा कामकारबाहीमा आफ्नो भूमिका स्थापित गर्नु हो । उच्च राजनीतिक पदमा पुगेका नेताका आफन्त, कार्यकर्ता, नातेदार र परिवारका सदस्यसमेत शक्तिशाली–बलशाली हुने गर्छन् । उनीहरूले प्रशासनको हरेक क्षेत्रमा पहुँच राख्छन् र आफ्नो स्वार्थअनुकूल काम गर्न सक्ने कर्मचारीको छनोट, सरुवा, बढुवा, नियुक्ति गर्छन् । अर्थात्, सन्तुलनको सिद्धान्तविपरीत राज्यका स्रोतसाधनको बाँडफाँट गर्छन् । मन्त्रालयको सचिव कसले बनाउँछ, प्रजिअ कसले पठाउँछ, प्रमुख प्रशासकीय अधिकृत कसलाई बनाइन्छ भन्ने कुरा ,ओपन सिक्रेट’ नै छ । अहिले नेपालमा भइरहेकै यही हो । आस्था र अवस्थाका आधारमा कर्मचारी खटनपटनको असर सेवा प्रवाहमा पर्ने गर्छ ।

उच्च प्रशासनिक नेतृत्वमा स्थिरता कायम गर्न नसक्दा संस्थागत क्षमता कमजोर हुँदै जान्छ । पार्टीको आस्थाका आधारमै प्रशासनिक पदाधिकारी, महाशाखा प्रमुख, विभाग प्रमुख, प्रजिअलगायतलाई बदल्ने र ‘एस म्यान’ खोज्ने प्रवृत्तिले राज्य कमजोर बन्दै जान्छ । यसले शासकीय र प्रशासकीय क्षमता लुलो बनाउँछ । नेपाल अहिले यस्तो अवस्थामा पुगिसकेको छ, न प्रभावकारी नियन्त्रण गर्न सक्छ न समन्वय गर्न सक्छ न त सहजीकरण नै गर्न सक्छ । फलतः बजार अनुगमनदेखि कार्यसम्पादनको अनुगमनसम्म कर्मकाण्डी बन्न पुगेका छन् । निष्पक्ष, निर्धक्क र निर्भीक रुपमा कार्यसम्पादन गर्ने आँट कमै कर्मचारीमा मात्र छ । जागिरे मानसिकताको विकास भएको छ, जसबाट कुनै उल्लेख्य नतिजा आउन सक्दैन, दिन काट्ने काम मात्र हुन्छ । प्रशासनिक नेतृत्व ‘मेरिट’ भन्दा अन्य बाटोबाट खोज्दा स्वाभाविक रूपमै सेवा प्रवाह कमजोर बन्न जान्छ । राजनीतिक नेतृत्वले आफू अनुकुल प्रशासनिक नेतृत्व छनोट गर्ने र एउटा प्रशासनिक नेतृत्वले गर्न नमानेको काम गर्न अर्को तयार हुने प्रवृत्तिले कर्मचारीतन्त्रको साख घटाइरहेको हुन्छ । अर्कातर्फ, सबै मन्त्रिलाई शक्तिशाली मन्त्रालय चाहिने, त्यसका लागि बार्गेनिङ गर्ने, उसले गरेका खराब कामलाई समेत पार्टीले समर्थन गर्ने जुन थिति बसेको छ, त्यसले शासकीय कमजोरी उजागर गर्छ ।

गैरसंवैधानिक शक्तिलाई निस्तेज पार्ने हतियार भनेकै राजनीति दल हुन् । तर नेपालमा राजनीतिक दलहरूभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै जानु, जनविश्वास घट्दै जानु, सरकारमा हुँदा एक र विपक्षीमा हुँदा अर्को धारणा हुनु अर्थात् नीतिगत अडान नहुनु, पार्टी सञ्चालन पारदर्शी नहुनु जस्ता रोगले पार्टीहरू संक्रमित छन् । पार्टी सच्चिन र सुध्रिन इमानदार, सक्षम र देशको मोह भएका राजनीतिकर्मीहरू चाहिन्छन्, तर त्यो पंक्ति अहिले सबैतिर बहिष्कृतप्रायः छ । पार्टीहरू सुध्रिने भनेको पनि लोकतान्त्रिक अभ्यासबाटै हो । लोकतन्त्रको वाहकका रुपमा रहेका पार्टीहरू जनमुखी नहुँदासम्म अरु क्षेत्रमा सुधार खोजेर काम छैन । राजनीतिको छत्रछायामा अन्य क्षेत्र हुर्कर्ने र बढ्ने भएकाले राजनीति नसुध्रिएसम्म यी समस्याले निरन्तरता पाइरहन्छन् ।

गैरसंवैधानिक शक्तिको आडमा हुने भ्रष्टाचारका काण्डहरूले मुलुकलाई लज्जित तुल्याइरहेका छन् । भ्रष्टाचारको चक्र तोड्नु वर्तमान शासकीय संरचनाको चुनौती हो । राज्यको समाजवादतर्फको यात्रा असम्भव त छैन, तर यस्तो रबैयाले गर्दा सजिलो पनि देखिँदैन । शासकीय कामकारबाही संविधान र कानुनअनुकूल तथा नागरिकले अपेक्षा गरे अनुरुप प्रवाह गर्न सकिएन भने व्यवस्थामाथि प्रश्न उठ्छ । व्यावसायिकताको विकास, सक्षमता अभिवृद्धि, राष्ट्रियताको सबलीकरण गर्दै शासकीय गतिविधि छिटोछरिता बनाएर नागरिकको विश्वास जित्न सकिन्छ । तर वक्ता मात्र भएर होइन, कर्ता भएर ।

प्रकाशित : मंसिर ३०, २०८० ०५:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

राजधानीकै ठूला पसलमा तस्करीको सुन : काठमाडौं JCNEPAL_MEDIA

खुशी - विरेन्द्रक यात्रा कथाकाे आवरण सार्वजनिकीकरण कार्यक्रम सम्पन्न JCNEPAL_MEDIA

अवैध सालको गोलिया काठसहित सफारी गाडी बरामद JCNEPAL_MEDIA

उपप्रम एवं सहरी विकासमन्त्री सिंह र भारतका राजदूत नवीन श्रीवास्तव बीच शिष्टाचार भेटवार्ता JCNEPAL_MEDIA

साउनदेखि ड्राइभिङ लाईसेन्सको सट्टा राष्ट्रिय परिचय पत्र JCNEPAL_MEDIA