हतारमा बनाइएका २३ विमानस्थल प्रयोगविहीन

माघ ३, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : आर्थिक सम्भाव्यता र यात्रुको चापलाई ध्यान नदिई लोकरिझाइँ, भोट ब्याङ्क बढाउने, कमिसनको लोभ जस्ता स्वार्थका कारण विमानस्थल निर्माणका नाममा हुने बेथितिहरूको लामै फेहरिस्त छ । अनावश्यक स्थानमा मापदण्ड र कानुन मिचेर राज्यको ठूलो स्रोतसाधन खर्च गरी बनाइएका धेरै विमानस्थल अहिले बन्द छन् ।

२०५१ सालदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थलमा २६ वर्षपछि २०७७ साल असोजमा विमान अवतरण गर्‍यो । त्यसबेला परीक्षण उडानमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई सवार थिए । तर, एक वर्षर् पनि नचलेर यो विमानस्थल फेरि बन्द भयो । अहिले गौचरन बनेको विमानस्थलको "रनवे" मा युवायुवती भिडियो बनाउँछन्, स्थानीय टहलिन जान्छन् । त्यो अवधिमा (०७७ असोजदेखि ०७८ चैतसम्म) १५/१६ पटक फ्लाइट भयो होला,पाटन विमानस्थलमा उडान गरेको समिट एयरका सुदूरपश्चिम प्रतिनिधि किशोर खड्काले भने, सुरुमा सातामा दुई फ्लाइट गर्ने सेड्युल थियो, यात्रु नपुगेपछि एक पटक राखियो, तैपनि लोड पुगेन र बन्द गरियो ।

धान्नै गाह्रो सञ्चालन खर्च भैरहवा र पोखरामा बनेका अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्याप्त उडान हुन नसक्दा सञ्चालन खर्च धान्न धौधौ भइरहेको छ । आन्तरिक विमानस्थलको अवस्था पनि उस्तै छ । निर्माण भइसकेका विमानस्थलमा उडान नभए पनि सञ्चालन खर्च भने नियमित लाग्छ । बन्द रहेका बागलुङ (बलेवा), बैतडी, डोटी, मनाङ, महेन्द्रनगर, मेघौली, रुकुमको चौरजहारी, रुम्जाटार, लामिडाँडा र काँगेलडाँडा गरी १० विमानस्थलले मात्रै कार्यालय सञ्चालन खर्च शीर्षकमा पछिल्लो एक दशकमा ९ करोड ५३ लाख खर्च गरेका छन् ।

लोकरिझाइँका लागि हवाई पूर्वाधारका नाममा राज्यको ढुकुटी रित्याउने काम भइरहेको छ, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेल भन्छन्, ‘नेताले विमानस्थल ल्याउने भएपछि विकास हुने भयो भनेर जनता खुसी हुन्छन्, सञ्चालन खर्चसमेत उठाउन नसक्ने यस्ता विमानस्थल निर्माणको काम रोक्नुपर्छ भन्ने कुरा जनतालाई बुझाउनुपर्छ ।’ पूर्वपर्यटनमन्त्री योगेश भट्टराई भन्छन्, ‘हिजो सडक यातायात नहुँदा विमानस्थलहरू आवश्यक थिए, अहिले उडानको भर नहुने विमान कुर्नॅभन्दा मानिसहरू सस्तो दरमा गाडी चढेर गन्तव्यतिर लाग्छन् ।

आफ्नो कार्यकालमा एउटा पनि नयाँ विमानस्थल स्वीकृत नगरेको दाबी गर्ने उनी बेकामे विमानस्थलले खर्च मात्रै बढाउने ठान्छन् । नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजन पोखरेल पनि कतिपय विमानस्थल राजनीतिक दबाबका कारण बनेका बताउँछन् । ‘सरकारले बजेट छुट्याएर बनाऊ भनेपछि प्राधिकरणले बनाउँदिनँ भन्न मिलेन,’ उनी भन्छन् । उनका अनुसार अहिलेसम्म अधिकांश विमानस्थलले पूर्वाधार निर्माण खर्च उठ्न सकेको छैन । धेरैको सञ्चालन खर्च त्रिभुवन विमानस्थलको आम्दानीले धानिएको छ । महालेखाको कार्यमूलक प्रतिवेदन ०७९ मा भनेको छ– ‘पहिलेदेखि रहेका विमानस्थल अलपत्र छोडिदिने र नयाँनयाँ विमानस्थल निर्माण गर्न प्रतिबद्धता जनाउने प्राधिकरणको परिपाटीले राज्यले अपेक्षा गरी गरेको लगानी रकम प्रतिफलविहीन भएको छ ।

प्रकाशित : माघ ३,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA

पासपोर्ट छपाइको जिम्मा पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल पक्राउ : JCNEPALMEDIA

परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता : JCNEPALMEDIA