परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री यी बीच द्विपक्षीय भेटवार्ता -JCNEPAL MEDIA

मंशिर १४,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । चीनको छन्दु सहरमा अपराह्न उनीहरूबीच वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा. राणा बिहीबार त्यसतर्फ गएकी हुन् । उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

सो भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिएकी थिइन् । वार्ताका क्रममा चीनको ७५औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा. राणाले बधाई ज्ञापन गरेकी थिइन् । मन्त्री डा. राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताइन् ।

चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिइन् । सो वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल चीनबीच लामो समयदेखि रही आएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरिएको उनले बताइन् । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।

सो भेटपछि परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताले नेपाल चीन सम्बन्धमा नयाँ उचाइ थपेको र दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको बताइन् ।

प्रकाशित : मंशिर १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रधानमन्त्री कार्कीद्वारा संसद बिघटनको लागि सिफारिस : JCNEPAL MEDIA

कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी भए पनि संसद् विघटनको विषयले टुंगो लागेन : JCNEPAL MEDIA

सेनाको सुरक्षा घेरामा राष्ट्रपति, प्रधानमन्त्री, अन्तरिम सरकारमा बालेन्द्र-बाबुरामको चर्चा : JCNEPAL MEDIA

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध विरोध प्रदर्शन : काठमाडौंJCNEPAL MEDIA

जनकपुरमा प्रहरी र स्थानीय बीच झडप, गोली लागेर एकजना घाइते : JCNEPAL MEDIA

राराब कलेजमा सँयुक्त विद्यार्थी संगठनको आन्दोलन : जनकपुर JCNEPAL MEDIA