१५ औं महाधिवेशन नजिकै गर्दा धमाधम गुट परिवर्तन गर्दै कांग्रेस पदाधिकारी : JCNEPAL MEDIA

माघ १९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : १५ औं महाधिवेशन नजिकै गर्दा कांग्रेस पदाधिकारीहरू धमाधम गुट परिवर्तन गरिरहेका छन । नेपाली कांग्रेसको विधानअनुसार चार-चार वर्षमा पार्टीको महाधिवेशन हुनुपर्छ। सोहीअनुसार कांग्रेसको १५ औँ महाधिवेशन हुने मिति ०८२ मंसिर हो। कांग्रेसले १४ औँ महाधिवेशन २०७८ मंसिरमा गरेको थियो। यद्यपि, कांग्रेसको महाधिवेशन नियमित समयमा नभएको इतिहास छ। तैपनि, अहिले नेताहरू १५ औँ महाधिवेशनको तयारीमा लागिसकेका छन्। १४ औँ महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित डा शेखर कोइराला फेरि उम्मेदवार बन्ने घोषणासहित देश दौडाहामा छन्। कोइराला सभापतिको पक्का उम्मेदवार बन्दा अब भने उनको प्रतिस्पर्धा देउवासँग हुने छैन। कांग्रेस विधानले एकै व्यक्ति तेस्रोपटक पार्टी सभापति हुन दिँदैन।

देउवा अहिले सभापतिको दोस्रो कार्यकालमा छन्। कांग्रेसका १४ पदाधिकारी को-काे कता तिर ? पार्टीमा अब देउवा सभापति बन्न नपाउने भएसँगै उनको समूहमा रहेका नेताहरू गुट परिवर्तनमा लागेका छन्। कांग्रेस पदाधिकारी १४ जना छन्। यीमध्ये ६ जना कोइराला समूहमा रहेर आगामी महाधिवेशनमा होमिन तयार भएका छन्। ६ जनामध्ये ४ जना गुट परिवर्तन गरेर कोइरालाकहाँ पुगेका हुन्। ‘सभापतिमा शेरबहादुर दाइ फेरि लड्न नपाउने भएपछि उहाँको गुटमा रहेका नेताहरू शेखर दाइसँग नजिक हुन थालेका छन्,’ कांग्रेसका एक नेताले नेपालखबरसँग भने, ‘पार्टीका धेरै पदाधिकारी र उमेरले ६० काटेका नेताहरूले शेखरलाई सभापति मानेर हामी जान तयार छौँ भनेर सहयोग गर्न थाल्नुभएको छ।’ कांग्रेसका १४ पदाधिकारी (सभापतिले नियुक्त गर्ने कोषाध्यक्षसहित) मध्ये उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार १४ औँ महाधिवेशनमै कोइराला गुटबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्।

उनीहरू अहिले पनि कोइराला गुटमै छन्। यीबाहेक प्रकाशमान सिंह गुटबाट महामन्त्रीको उम्मेदवार बनेर निर्वाचित विश्वप्रकाश शर्मा पनि कोइरालासँगै रहने नेताहरू बताउँछन्। शर्मा महाधिवेशनमा सिंहको समूहबाट महामन्त्री उम्मेदवार भए पनि उनले देउवासँग सम्बन्ध भने सुमधुर नै राखिरहेका थिए। १४ औं महाधिवेशनअघि उनै शर्मालाई देउवाले पार्टीको प्रवक्ताको जिम्मेवारी दिएका थिए। ‘विश्वप्रकाशजी र शेखरजी पटकपटक भेट गरेर एक खालको समझदारी गरिसक्नुभएको छ,’ कांग्रेसका अर्का नेता भन्छन्, ‘१४ औँ महाधिवेशनमा शेखरले आफ्नै टिममा सन्तुलन बनाउन नसक्दा आफू पनि पराजित हुनुभयो, विश्वप्रकाशलाई पनि आफ्नो टिममा राख्न सक्नु भएन। तर, आज त्यसलाई सच्याएर शेखरले विश्वसँग छलफल गरेर सँगै जाने समझदारी गर्नुभएको छ।

देउवा गुटबाट निर्वाचित सहमहामन्त्री भीष्मराज आङ्दम्बे पनि कोइराला समूहनिकट भएका छन्। उनले आफूनिकटहरूसँग भनेका छन्, ‘शेरबहादुर दाइ सभापति हुँदासम्म म उहाँसँगै छु। उहाँ सभापति नभएपछि म मेरो निर्णय आफैँ गरेर शेखर दाइलाई सहयोग गर्न जान्छु।’ आङ्दम्बे कोइराला सहभागी भएको कार्यक्रमहरूमा सहभागी हुन थालिसकेका छन्। महेन्द्र यादव देउवा समूहबाट उम्मेदवार बनेर सहमहामन्त्री निर्वाचित भएका हुन्। उनी पार्टीमा देउवाभन्दा पनि बालकृष्ण खाणनिकट नेता हुन्। खाण कोइरालासँग नजिक भएपछि उनी पनि कोइरालानजिक पुगेका छन्। देउवा गुटमा सक्रिय भएका तर आफू भुटानी शरणार्थी प्रकरणमा मुछिँदा देउवासहितको सहयोग नपाएको आक्रोशसहित बालकृष्ण खाण कोइरालासँग नजिक छन्। खाण शरणार्थी मुद्दाको पुर्पक्षका लागि थुनामा हुँदा कोइरालाले कारागार नै पुगेर तीनपटक भेटेका थिए। कोइरालाले सहमहामन्त्रीद्वय किशोरसिंह राठौर र महालक्ष्मी उपाध्याय 'डिना' सँग पनि निरन्तर कुरा गरिरहेका छन्।

उनीहरूसँगको कुराकानी निर्णायक तहमा नपुगेको नेताहरूले बताएका छन्। शेखरनिकट एक नेताको भनाइ छ, ‘राठौरजीसँग पनि कुरा भएको छ। मिलेर जाने सम्भावना बढिरहेको छ। डिना दिदी त मिलेर जान तयार भइसक्नु भयो।' देउवा समूहमा रहेका अर्का नेता मोहनबहादुर बस्नेतले त कोइरालालाई आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारमा सहयोग गरी अघि बढ्ने अभिव्यक्ति दिन थालेका छन्। ‘खट्ने नेताहरू नै पार्टी नेतृत्वमा आएको इतिहास छ,’ बस्नेतले नेपालखबरसँग भने, ‘हिजो किसुनजी, गणेशमान हुँदाहुँदै गिरिजाप्रसाद कोइराला संगठनमा खटेर, देशका विभिन्न भागमा पुगेर नेता कार्यकर्ताको कुरा सुनेर सफल भएका हुन्। अहिले शेखर कोइरालाको देश दौडाहा र राजनीतिक खटाइ ठीक छ।’ उनले देउवापछिको नेतृत्वमा कोइरालालाई स्वीकार्ने पनि बताए। उनले भने, ‘म फेरि शेरबहादुर देउवा नै सभापति लड्ने हुँदा उहाँकै पक्षमा उभिने थिएँ। तर, कांग्रेसको विधानअनुसार फेरि सभापति नलड्ने भएपछि नेता छान्नुपर्ने हुन्छ, त्यो मैले पनि गर्छु।’ १४औँ महाधिवेशनको पहिलो चरणमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङगरी ५ जना सभापतिका उम्मेदवार थिए।

त्यसबेला रामचन्द्र-शेखर समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र रामचन्द्र पौडेल मात्रै नभई कोइराला परिवारकै सदस्यहरू पूर्वमहामन्त्री शशांक कोइराला र नेता सुजाता कोइरालाले समेत देउवालाई साथ दिएपछि शेखरले हार बेहोर्नुपरेको थियो। दोस्रो चरणको मतदानमा देउवा २७३३ मतका साथ सभापतिमा निर्वाचित हुँदा नेता कोइरालाले १८५५ मत पाएका थिए। यद्यपि, कोइराला टिमबाट गगन थापा लोकप्रिय मत पाएर महामन्त्री निर्वाचित भए। थापा अहिले कोइराला समूहमा छैनन्। उनी देउवा समूहमा प्रवेश गरी आफ्नै गुट निर्माणको प्रयासमा देखिएका छन्। देउवा गुटमा रहेर १४औँ महाधिवेशनमा निर्वाचित एनपी साउद अहिले कोइरालानिकट छन्। उनले कोइरालाकै शैली पछ्याउँदै पछिल्लो समय सरकारको पनि आलोचना गरिरहेका छन्। अघिल्लो महाधिवेशनमा देउवालाई सहयोग गरेकी नेतृ सुजाता कोइरालाले ०८१ साउनको पहिलो साता शेखरको सम्पर्क कार्यालयमा कार्यक्रम राखेर शेखरलाई आगामी सभापति बनाउने घोषणा नै गरिन्। त्यसलगत्तै साउन १२ मा सुजाताले औपचारिक कार्यक्रम गरेरै विगतमा आफूबाट गल्ती भएको भन्दै १५औँ महाधिवेशनमा शेखरलाई सभापति बनाउन सबै तहका नेता कार्यकर्ताहरूलाई अभियानकै रूपमा लाग्न अनुरोध गरेकी थिइन्। पूर्वमहामन्त्री डा शशांक कोइरालाले पनि अबको महाधिवेशनमा कोइरालाहरू एकै ठाउँ रहने बताएका छन्। ‘राजनीतिलाई समाजसेवाका रूपमा अघि बढाउन बीपीलाई सम्झिएर पनि हामी एकै ठाउँ रहनु नै पर्छ,’ उनले भने।

उनले यस्तो बताए पनि उनी पनि सभापति पदको सम्भावित उम्मेदवारमध्ये एक भने हुन्। उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री फरमुल्लाह मन्सुर, सहमहामन्त्री उमाकान्त चौधरी र कोषाध्यक्ष उमेश श्रेष्ठ अहिले पनि सभापति देउवाकै समूहमा छन्। कोषाध्यक्ष श्रेष्ठ मनोनीत हुन्। कोइरालानिकट नेताहरू पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले पनि कोइराला समूहसँग नजिक भइसकेको बताउँछन्। त्यस्तै अहिलेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि कोइरालासँग निकटता बढाएको बताइएको छ। पौडेललाई कोइरालाले आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार बनाउने बचन दिएको दाबी निकट नेताको छ। 'यसअघि लाइन नमिल्दा प्रदीपजी महामन्त्रीमा चुनाव हार्न पुग्नुभयो,' ती नेताले भने, 'अब भने शेखरजीकै टिमबाट प्रदीपजी महामन्त्रीको उम्मेदवार बन्ने गरी सहकार्यको समझदारी भइसकेको छ।' उपसभापति खड्का पार्टीको १५औँ महाधिवेशनमा आफैँ सभापतिको उम्मेदवार बन्ने तयारी गरिरहेका छन्। त्यसैका लागि उनले सभापति देउवाको समर्थन खोजिरहेका छन्।

प्रकाशित : माघ १९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अध्यादेशमा जसपा नेपाल निर्णायक बनेपछि सत्तामा फर्किन बार्गेनिङ गर्दै छन् : उपेन्द्र यादव JCNEPAL MEDIA

जसपा बैठक चलिरहँदा अध्यक्ष यादवलाई ओली देउवाको फोन वर्ता : JCNEPAL MEDIA

सातै प्रदेशमा अध्यक्षका उम्मेदवारले पाएका मत परिणाम : अखिल क्रान्तिकारी चुनाव JCNEPAL MEDIA

कोशी प्रदेशमा हेमन्त राईलाई भारी मत : अखिल क्रान्तिकारी चुनावJCNEPAL MEDIA

जिल्ला समन्वय समिति प्रमुखहरूले भने, हामीले के काम गर्ने? : JCNEPAL MEDIA

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला ९ निर्णय सार्वजनिक : कांग्रेस JCNEPAL MEDIA