चुनावी सरकारका गृहमन्त्रीलाई ‘गुमराह’मा राखेर एसपी सरुवा, महत्वपूर्ण जिल्लामा ओलीकाे छायाँ : JCNEPAL MEDIA

अशाेज ०२,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम चुनावी सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई चक्मा हान्दै नेपाल प्रहरीका एसपी सरुवामा महत्वपूर्ण ठाउँमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र एमालेको प्रष्ट छायाँ देखिएको छ। यसबाहेक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको पनि प्रभाव देखिएको छ। त्यो पनि एमालेको नै छायाँ हो।

तत्कालिन गृहमन्त्री रमेश लेखकले रोकेको एसपी सरुवा प्रहरी महानिरिक्षक (आईजी) चन्द्रकुबेर खापुङको निर्णयअनुसार असोज महिनाको तलब खानेगरी भएको छ। ४८ जना एसपी सरुवाका क्रममा १० जनालाई जिल्लाको कमान्डर बनाइएको छ। जसले आगामी फागुन २१ गते हुने मध्यावधि चुनावको समेत कमान्ड सम्हाल्नुपर्ने हुन्छ। विभिन्न जिल्लामा काज गएका दुई एसपीको सोही जिल्लामा दरबन्दी कायम भएको छ। यो पनि सोही सरकारको पालाको प्रभाव मानिन्छ। जिल्ला कमान्डको लाइनमा रहेका अब्बल प्रहरी अधिकारीलाई मौका दिइएको छैन।

सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र चन्दकै दरबन्दी कायम भएको छ। निक्कै आकर्षक मानिएको पर्सामा पाँच महिनामै एसपी गौतम मिश्र त्यहाँबाट सरुवा गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी सुदीपराज पाठक सरुवा गरिएको छ। अख्तियार प्रमुख राईको प्रभावका आधारमा पाठक त्यहाँ पुगेका हुन्। पाठक पनि इन्स्पेक्टर रहेका बेला ओलीको पीएसओ बसेका थिए। कास्कीमा एसपी नवीन कार्कीलाई जिम्मेवारी तोकिएको छ। उनी ओलीको सुरक्षा कमान्डमा बसेका अधिकारी हुन्।

यसमा ओली र एमालेको छायाँ प्रष्ट देखिन्छ। बाँके जिल्ला प्रहरी प्रमुखमा अंगुर जिसी सरुवा भएका छन्। उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए। उनी प्रहरी नायव उपरिक्षक (डीएसपी) रहेका बेला निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा थिए। अनुसन्धानमा मिस लिड गरेको भनी कारबाहीमा परेका थिए। यद्यपि संगठनमा उनलाई राम्रै प्रहरी अधिकारी भन्ने चर्चा गरिन्छ। मकवानपुरमा सुवासचन्द्र बोहराले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन्। मोरङमा कवित कट्वाल कमान्डमा पुगेका छन्।

उनलाई पनि अख्तियार प्रमुख राईको आशिर्वाद रहेको बताइन्छ। यसअघि उनी अख्तियारमा थिए। सुनसरीमा केशवकुमार थेवेले जिम्मेवारी पाएका छन्। उनी नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेका भतिजा हुन्। दाङमा दीपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पंजियार थारु कमान्डरका रुपमा पुगेका हुन्। कपिलवस्तुमा सन्तोष आचार्य जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन्। डोटीमा महेन्द्र नेपालले बढुवा भएको तीन महिनामा नै इन्चार्ज पाएका हुन्। भक्तपुरमा सूर्यबहादुर खड्का सरुवा भएर कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन्। आन्दोलनका क्रममा अधिक बल प्रयोग गरेको भनी आई खापुङको आलोचना भए पनि यो सरुवामा अख्तियार प्रमुख राईको भूमिका प्रधान रहेको उच्च स्रोतले जनाएको छ।

राई ओली सरकारका पालामा गृहसचिव थिए भने प्रहरी संगठनमा उनको प्रभाव त्यसबेला देखि नै बलियो रहेको थियो। ओलीले नै अख्तियार प्रमुख बनाएका राईसहितका संवैधानिक आयोगका पदाधिकारीलाई हटाउनुपर्ने आन्दोलनको माग रहेको थियो। पद धरापमा रहेका बेला कारबाही या निलम्बन अघि नै प्रहरी संगठनमा आफ्नो प्रभाव कायम गराउन राईलगायतको टोली सफल हुँदा जेनजी आन्दोलन र निर्वाचन समेत प्रभावित बनाउन सक्ने आँकलन स्वभाविक छ।

अख्तियारमा तत्कालिन प्रमुख लोकमानसिंह कार्कीको पालादेखि प्रहरीमा हस्तक्षेप गर्ने परम्परा छिरेको थियो। अधिवक्ता समेत रहेका र गृह प्रशासनमा उतिसाह्रो ध्यान नदिने भएकाले गृहमन्त्री अर्याललाई गुमराहमा पारेर सरुवा भएको बताइन्छ।

प्रकाशित : अशाेज ०२,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, मतदान साँझ ७ बजेबाट शुरू हुने : JCNEPAL MEDIA

प्रदेशसभा बैठक बुधबार ८ बजेका लागि बोलाइयो : मधेस प्रदेश JCNEPAL MEDIA

जनकपुरधाममा समाजवादी युवा संघको प्रदेशस्तरीय युवा नेतृत्व सशक्तीकरण सम्मेलन सम्पन्न : JCNEPAL MEDIA

महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान