अध्यादेशमा जसपा नेपाल निर्णायक बनेपछि सत्तामा फर्किन बार्गेनिङ गर्दै छन् : उपेन्द्र यादव JCNEPAL MEDIA

पुस १४,२०८१ / जेसी नेपाल संवाददाता

विगत वैशाखयताका नौ महिना सत्ता राजनीतिदेखि टाढा पुगेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशको संसदीय गणितले पुनः निर्णायक बनाइदिएको छ । सरकारले एकसाथ ल्याएका ६ अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा दर्ता भएका छन् । माओवादी केन्द्रको नेतृत्वमा विपक्षी दलहरूले अध्यादेश अस्वीकार गर्ने रणनीति लिएका छन् । दुवै सदनमा २४ माघमा सो प्रस्ताव निर्णायार्थ पेस हुँदै छन् । प्रतिनिधिसभामा कांग्रेस-एमाले गठबन्धनको प्रस्ट बहुमत पुगे पनि राष्ट्रियसभामा भने पुग्दैन । जसपा नेपालका तीन सांसदले सत्ता वा प्रतिपक्ष जसलाई समर्थन गर्छन्, उतै बहुमत पुग्ने स्थिति छ । सत्तापक्षलाई जसपा नेपालकाे मात्र मत भए पुग्छ भने विपक्षी दललाई जसपासँगै राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतमको पनि साथ चाहिन्छ । सत्तापक्षको यो अप्ठ्यारो बुझेका जसपा नेपालका अध्यक्ष यादवले अहिलेसम्म अध्यादेशको पक्ष वा विपक्ष कता उभिने भनेर कित्ता क्लियर गरिसकेका छैनन् । यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले फोन गरेरै अध्यादेशमा सघाउन यादवसँग आग्रह गरिसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने यसबारे कुनै कुरा नभएको यादवले बताए । निजीक्षेत्रको मनोबल बढाउने, लगानीको वातावरण बनाउने र सुधारको अनुभूति हुने गरी कानुन संशोधन गर्न सरकारले अध्यादेशको सहारा लिएको थियो । संसद बैठक बस्नुभन्दा तीन साताअघि ल्याइएका अध्यादेशका विषयवस्तुभन्दा प्रक्रियामा विपक्षीको ज्यादा असहमति छ । त्यसैले अध्यादेशलाई रोक्ने वा अघि बढाउने विषयलाई सत्ता र प्रतिपक्षी दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । आफ्नो पार्टी निर्णायक बनेपछि जसपा नेपालका अध्यक्ष यादव यसबाट राजनीतिक लाभ उठाउने रणनीतिमा देखिन्छन् । ‘महाभारतको युद्धमा मध्यबिन्दु आएको थियो । हामी पनि अहिले त्यस्तै मध्यबिन्दुमा छौँ,अध्यादेशबारे अध्यक्ष यादवले शिलापत्रसँग भने, ‘हामीले विज्ञसहितको कार्यदल बनाएका छौँ । विस्तृत अध्ययनपछि कार्यदलको सुझाव लिएर निर्णय गर्छौं ।’

विपक्षी दलहरूले अध्यादेशको प्रक्रियाप्रति विमति राखेर अस्वीकार गर्ने भनिरहेका बेला जसपा नेपालले भने विषयवस्तु हेरेर निर्णय लिने उनले बताए । विपक्षी मोर्चामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेकाले यादव सहजै अध्यादेश अस्वीकारको पक्षमा नउभिने जसपा नेपालनिकट स्रोत बताउँछ । त्यो बुझेरै हुन सक्छ, प्रचण्डले मंगलबार अपराह्नसम्म यादवसँग सम्पर्क गरेका छैनन् । त्यसो त, जसपा नेपाललगायतका मधेशकेन्द्रित दलहरूको समर्थन प्रधानमन्त्री ओलीलाई छ । अशोक राई नेतृत्वको जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी संघीय सरकारमै छन् भने जनमत पार्टीको नेतृत्वमा मधेश सरकार छ । आफ्नो पार्टीलाई सरकारमा नलगे पनि ६ साउनमा ओलीले विश्वासको मत लिँदा जसपा नेपाल पनि पक्षमै उभिएको थियो । त्यसको एउटा कारण, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बिग्रेको सम्बन्धलाई लिइएको छ । प्रचण्डसँग यादवको राम्रो बोलचालसमेत छैन । माओवादी केन्द्रको नेतृत्वमा बनेको समाजवादी मोर्चा मात्र होइन, विपक्षी दलहरूको मोर्चामा समेत यादव गएका छैनन् । बरु, आफैँबाट विभाजित अशोक राई नेतृत्वको जसपा संलग्न मधेशकेन्द्रित दलहरूको मोर्चामा प्रतिनिधि पठाएका यादव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग किन यति धेरै रिसाए ? त्यसका दुई कारण छन् । पहिलो, पार्टी विभाजनमा प्रचण्डको साथ । दोस्रो, मधेश र संघ सरकारबाट अपमानपूर्वक बहिर्गमन । प्रचण्ड नेतृत्वको राजनीतिक मोर्चामा फर्किन सबैभन्दा पहिले उनले विगतमा आफूमाथि भएको घात र विश्वासघातप्रति माफी माग्नुपर्ने सर्त यादवले राखेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मिलेर सरकार हेरफेरको कसरतमा लागेको बुझेपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल विभाजनमा सघाएका थिए । ‘समस्या नभएका पार्टी त को छन् र ? राज्य नै लागेपछि पार्टी फुटाउनु के ठूलाे कुरा भो र ?’ यादवको आरोप छ । यादव अमेरिका भ्रमणमै रहेका बेला २४ वैशाखमा अशोक राईको नेतृत्वमा जसपाका सात सांसदले नयाँ दल दर्ता गराएका थिए । त्यसपछि पनि आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता नलिएका यादवलाई प्रचण्डले बोलाएरै राजीनामा मागेका थिए । अत्यन्त अपमानबोध गर्दै ३१ वैशाखमा उनले राजीनामा गरे । सो घटनापछि नै हो, यादवको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति मोहभङ्ग भएको । लगत्तै यादवलाई मधेश सरकारमा धक्का लाग्यो । प्रदेश संरचनामा गइसकेपछि निरन्तर मधेश सरकारको नेतृत्व गरिरहेको जसपा पहिलोपटक सत्ताबाहिर पुग्यो । एमाले-माओवादी केन्द्रको साथ लिएर २५ जेठमा जनमत पार्टीका सतिश सिंह मधेश सरकारका मुख्यमन्त्री बने । राष्ट्रिय राजनीतिमा आफू निर्णायक भएको मौकामा जसपा नेपालका अध्यक्ष यादव त्यसरी गुमेको मधेश सरकार फर्काउन चाहन्छन् । त्यसै पनि जसपा नेपाल हटेपछि मधेश सरकारमा सत्तारुढ दलहरूबीच नै किचलो छ । सत्तारुढ जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिपक्षभन्दा चर्को स्वरले सत्ता गठबन्धन दलहरू कांग्रेस र एमालेको आलोचना गर्दै आएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले केही साताअघि जनकपुर पुगेरै मधेश सरकारको नेतृत्व छिट्टै कांग्रेसले गर्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । पार्टी विभाजनको क्षति रोक्न मधेशमा चारमहिने अभियान चलाएका यादव संगठन सम्हालेपछि बल्ल काठमाडौं फर्किएका छन् ।

मधेशमा रहँदा मुख्यमन्त्री सिंहसँग कांग्रेस–एमालेको सम्बन्ध बिग्रिँदै गएको नजिकबाट देखेका उनी प्रदेश सरकार ढाल्ने उपयुक्त समयको पर्खाइमा थिए । आफ्नो साथबिना सत्तापक्षले अध्यादेश राष्ट्रियसभामा अघि बढाउन नसक्ने स्थितिमा अहिले उनले त्यो समय आएको बुझेका छन् । यही मौकामा मधेश सरकारमा फर्किन यादवले भरमग्धुर कोसिस गरिरहेका छन् । ‘उहाँलाई प्रचण्डभन्दा प्रधानमन्त्री ओलीलाई सघाउन सजिलो होला । २०७९ को आमचुनावमा मधेशमा तालमेल पनि एमालेसँगै गरेको हो,’ एमालेका एक नेता भन्छन्, ‘उहाँको बार्गेनिङ मधेश सरकारमा फर्किने छ । हामीले अहिले सघाउनुस्, पछि मधेश र संघ सरकारमै आउनुहोला भनेका छौँ ।

प्रकाशित : पुस १४,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जसपा बैठक चलिरहँदा अध्यक्ष यादवलाई ओली देउवाको फोन वर्ता : JCNEPAL MEDIA

१५ औं महाधिवेशन नजिकै गर्दा धमाधम गुट परिवर्तन गर्दै कांग्रेस पदाधिकारी : JCNEPAL MEDIA

सातै प्रदेशमा अध्यक्षका उम्मेदवारले पाएका मत परिणाम : अखिल क्रान्तिकारी चुनाव JCNEPAL MEDIA

कोशी प्रदेशमा हेमन्त राईलाई भारी मत : अखिल क्रान्तिकारी चुनावJCNEPAL MEDIA

जिल्ला समन्वय समिति प्रमुखहरूले भने, हामीले के काम गर्ने? : JCNEPAL MEDIA

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला ९ निर्णय सार्वजनिक : कांग्रेस JCNEPAL MEDIA