भारतमा पत्रकार आफैं बन्दै छन् समाचार

नयाँदिल्ली — भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको शुक्रबार निधन भयो । उनलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार भइरहेका बेला शुक्रबार बिहान ‘कार्डिआक अरेस्ट’ का कारण उनको मृत्यु भएको हो । सरदानाले आजतक टीभीमा ‘दंगल’ र ‘दस तक’ कार्यक्रम चलाउँथे । त्यस्तै महामारी सुरु भएदेखि नै दिनरात नभनी रिपोर्टिङमा खटेका च्यानल न्युज नेसनका पत्रकार मनोज कुमार आफैं समाचार बने ।

एक वर्षभित्र कैयन् संक्रमितहरूका कथा र व्यथा उनको रिपोर्टिङमा समेटिए । उनले गत मंगलबार कोरोना संक्रमणबाट ज्यान गुमाए । बेलायती पत्रिका द गार्जियनकी दिल्ली संवाददाता ककोली भट्टाचार्यको पनि कोरोनाले नै ज्यान लियो । ५१ वर्षीय भट्टाचार्य करिब १२ वर्षदेखि गार्जियनको दिल्लीस्थित दक्षिण एसिया ब्युरोमा आबद्ध थिइन् ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्याले हरेक दिन नयाँ रेकर्ड बनाउने क्रमसँगै संक्रमणकै कारण मृत्यु हुने पत्रकारहरूको यस्तो सूची दिनहुँ लामो बन्दै गएको छ । एक अध्ययनले पछिल्लो एक वर्षमा महामारीको जोखिमपूर्ण सही सूचनाका लागि कुदिरहेका पत्रकारहरू आफैं पनि संक्रमित भएका छन् र करिब डेढ सय जनाले ज्यान गुमाउनुपरेको छ । प्रेस क्लब अफ इन्डियाले त अप्रिलको महिनामा प्रत्येक दिन कम्तीमा एक जना पत्रकार गुमाउनुपरेको जनाएको छ । भारतीय महिला पत्रकारहरूको सञ्जाल (नेटवर्क अफ वुमन इन मिडिया) को तथ्यांकअनुसार महामारी सुरु भएयता १ सय ५५ जना भारतीय पत्रकारहरूले संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यसैगरी इन्स्टिच्युट अफ पर्सेप्सनले गरेको अर्को एक अध्ययनले पछिल्लो एक वर्षमा संक्रमणबाट ज्यान गुमाउनेहरूमा उत्तरप्रदेशका पत्रकार बढी छन् ।

अध्ययनका अनुसार २० अप्रिल २०२० देखि २१ अप्रिल २०२१ सम्ममा उत्तरप्रदेशमा मात्र १५ पत्रकारको मृत्यु संक्रमणका कारण भएको छ । दोस्रो स्थानमा छ तेलंगना । त्यहाँ ११ जनाको ज्यान गएको छ भने राजधानी दिल्लीमा ५ जना पत्रकारको मृत्यु भएको छ । अध्ययनका अनुसार पछिल्लो चार महिना मात्र संक्रमणले ३१ पत्रकारको ज्यान लिएको छ । र, यो संख्या दिनहुँ बढ्दो छ । र, युवादेखि पाका पत्रकारसम्मले कोरोनासँग जुध्दाजुध्दै हार मानेका छन् । वामपन्थी नेता सीताराम यचुरीका ३४ वर्षीय छोरा आशिष यचुरीको पनि संक्रमणबाट एक साताअघि मृत्यु भएको थियो । उनी न्युजलन्ड्रीमा सहायक सम्पादक पदमा कार्यरत थिए । पत्रकार यचुरीको हरियाणाको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अघिल्लो मंगलबार पाका पत्रकारद्वय पीपी पाण्डे र बिजन सरकारले पनि कोरोना भाइरसविरुद्धको लडाइँ जित्न सकेनन् । त्यस्तै गत आइतबार मुम्बईमा वरिष्ठ द हिन्दुका फोटो पत्रकार विवेक बेन्द्रेको संक्रमणकै कारण मृत्यु भयो । करिब ३० वर्ष फोटो पत्रकारिता गरेका बेन्द्रेले सन् १९९३ मुम्बईमा भएको शृंखलाबद्ध बम विस्फोटको तस्बिरका कारण निकै चर्चा बटुलेका थिए । पाँच दिनअघि अर्का पुराना पत्रकार सन्तोष कुमारको पनि कोरोनाले नै ज्यान लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

रात्रिभोजमा गोली चल्दा ६ जनाको मृत्यु : मेक्सिको

सैन्य कारबाहीमा पछिल्लो २४ घण्टामा २४१ जनाको मृत्यू : इजरायल

किन बिहेकै भोलिपल्ट श्रीमती कुटे मोटिभेसनल स्पिकर विवेक बिन्द्रा : भारत

मन्त्रीका छोरा गाजामा मारिए : इजरायल

सैनिक ड्रोन आक्रमणमा करिब ८५ जनाको मृत्यु : नाइजेरिया

निर्दोष जनताका लागि जलवायु न्यायको पक्षमा पार्न याे सम्मेलनमा उभिएको छु : प्रधानमन्त्री दाहाल