प्रचण्ड प्रस्तावसँगै कांग्रेसमा बदलियो माहौल भन्छ हेर र पर्ख : JCNEPAL MEDIA

बैशाख ०२,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसबाट खुलेर सहयोग गर्नेमा महामन्त्री गगनकुमार थापा अग्रपंक्तिमा देखिन्थे । उनले असार १७ मा भएको ७ बुँदे सहमतिअनुसार नै सरकारलाई अगाडि बढाउने पक्षमा आफूलाई दृढताका साथ उभ्याएका थिए । पार्टी कार्यक्रम होस् वा सार्वजनिक कार्यक्रम होस् वा संसद् बैठक नै किन नहोस्, महामन्त्री थापाले ओली सरकारको पक्षमा निकै दरिलोपूर्वक आफूलाई प्रस्तुत गरेका थिए ।

उनले ओली सरकारको निरन्तरतालाई राजनीतिक स्थायित्वको रूपमा पनि अर्थ्याइरहेका थिए । यद्यपि, सबैभन्दा बढी रक्षार्थ उभिने थापा यतिबेला फेरिएका छन् । उनले ओली सरकारलाई अब काँध थाप्न नसक्ने टिप्पणी गर्न थालेका छन् ।

“एमालेसँग मिलेर सरकारमा गयौँ, हामीले के ठानेका थियौँ भने दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि तुरुन्त काम प्रारम्भ गर्छौँ, खासगरी गभर्नेन्समा हामी व्यापक सुधार गर्छौँ”, मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, “तर, सरकारले चलाउन नपर्ने कुरा चलाएर सडकमा आउन बाध्य बनाएको छ, यो कुराले हामीलाई रामराम भन्ने हो, गर्ने के त भन्ने बनाएको छ ।” ओली सरकारकै विकल्प खोज्नुपर्ने अवस्था बाध्यकारी ढंगले आएको टिप्पणी महामन्त्री थापाको छ । “अहिले समस्या नेतामा देखिन्छ, अहिलेको देशले नेतृत्वसँग योग्यता र शुद्धता खोजिरहेको छ, शुद्ध र योग्य समीश्रण भएको नेतृत्व चाहिएको छ”, उनले भनेका छन् ।

महामन्त्री थापा कांग्रेस–एमाले संयन्त्रका बलिया खम्बा हुन् । विगतमा संयन्त्रमार्फत सरकारलाई सहयोग गर्ने गरी थापा लागिरहेका थिए । तर, पछिल्लो एक सातालाई केलाउँदा उनका अभिव्यक्ति निकै बदलिए । थापासँगै अर्का कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि सरकारको विकल्प खोज्ने गरी आफूलाई उभ्याउन थालेका छन् । उनले सार्वजनिकरुपमै ओली सरकारको आलोचना पनि गरिरहेका छन् । विशेषगरी सडकका असन्तुष्टिलाई वेवास्ता गर्दै स्वयं आफैं शक्ति प्रदर्शनमा उत्रिएपछि शर्माले सरकारप्रति रुखो आलोचना गर्न थालेका छन् । “प्रधानमन्त्रीले सडक प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यान केन्द्रित गर्न जरुरी छ, प्रधानमन्त्रीज्यू, सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार्नतर्फ लाग्नुस्”, शनिवार नेपालगन्ज पुगेर ओलीलाई खबरदारी गर्दै महामन्त्री शर्माले भनेका थिए, “तपाईंले समीक्षा गर्नुस्, तपाईंको बाटो सडक होइन ।”

दुई महामन्त्री सरकारको विरुद्धमा खुलिरहँदा कांग्रेस इतरपक्षीका नेता डा. शेखर कोइराला भने सुरुदेखि नै सरकारको विपक्षमा आफूलाई उभ्याउँदै आएका छन् । लोकतान्त्रिक अभ्यासमा दुई ठूला शक्ति मिल्नुलाई असोभनीय भएको टिप्पणी गरेका कोइरालाले सरकारका पछिल्ला प्रत्येक निर्णयमा औंला ठड्याउने गरेका छन् । कोइरालाले कांग्रेसलाई बिम्बात्मक शैलीमा सरकार बाहिरको पार्टीसमेत भन्ने गरेका छन् । “यो कांग्रेस सम्मिलित सरकार हो, तर, हामी सत्तामा छौँ, सरकारमा छैनौं”, उनले भनेका छन् । विशेषगरी प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारको विकल्प दिन कांग्रेसलाई प्रस्ताव गरेसँगै थापा र शर्मासहितका नेताहरूले खुलेर बोल्न थालेको देखिन्छ ।

नेताहरुका अभिव्यक्तिलाई हेर्दा, कांग्रेसभित्र विकल्प खोज्नेगरी माहौल तयार भएको हो कि भन्ने पनि प्रश्न उठेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निकै लचक शैलीमा कांग्रेसलाई सत्ताको नेतृत्व लिन अफर गरेका छन् । उनले माओवादी बाहिरै रहेर सहयोग गर्न तयार रहेको समेत बताएका छन् । “मचाहिँ प्रधानमन्त्रीको रेसमा ०८४ सम्म छैन, यो एकदम प्रस्ट हो”, प्रचण्डले एक टेलिभिजनमार्फत कांग्रेस नेतृृत्वलाई भनेका छन्, “देशको संकटको स्थिति जस्तो देखा परेको छ, यसको निकास दिन सबैभन्दा ठूलो दलको नाताले पनि, शान्ति सम्झौताको हस्ताक्षर दलको नाताले पनि, नेपाली कांग्रेसले निकास दिन आँट गर्नुपर्छ, हामी सरकारमा रहेर वा सरकार बाहिर रहेर पनि सहयोग गर्न सक्छौँ ।” प्रचण्डको प्रस्तावपछि सत्ता नेतृत्वकर्ता एमाले निकै तरंगित देखिन्छ । एमालेले सचिवालय बैठक नै बसेर प्रचण्ड प्रस्तावमाथि छलफल चलाएको छ । उसले प्रचण्ड प्रस्तावलाई ‘सत्ताबाट पाखा पर्दाको कुण्ठा र पीडा’को रूपमा चित्रित गरेको छ ।

प्रचण्ड प्रस्ताव अमान्य भन्दै खारेज गर्ने निर्णय पनि गरेको छ । “प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ, यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडा बोध प्रकट भएको भन्ने हाम्रो निष्कर्ष हो”, सोमबार सचिवालय बैठकको निर्णय सुनाउँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भनेका थिए, “अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ, न औचित्य छ, राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरा मात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन ।” एमालेले प्रचण्ड प्रस्तावलाई अमान्य भन्दै खारेज गरेपनि कांग्रेसभित्रको बदलावले भने प्रश्न उठाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने नेता एनपी साउदले पनि समस्याको निकास दिन कांग्रेस अघि सर्नुपर्ने बेला आएको बताएका छन् ।

प्रकाशित : बैशाख ०२,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नेपाल प्रहरीका चार डीआईजीको बढुवा : JCNEPAL MEDIA

उर्जामन्त्रीले पद छाड्न भनेपछि प्राधिकरण निर्देशककाे भावुक अपील : "देशलाई धोका दिन चाहन्न" JCNEPAL MEDIA

चुनावी सरकारका गृहमन्त्रीलाई ‘गुमराह’मा राखेर एसपी सरुवा, महत्वपूर्ण जिल्लामा ओलीकाे छायाँ : JCNEPAL MEDIA

प्रधानमन्त्री कार्कीद्वारा संसद बिघटनको लागि सिफारिस : JCNEPAL MEDIA

कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी भए पनि संसद् विघटनको विषयले टुंगो लागेन : JCNEPAL MEDIA

सेनाको सुरक्षा घेरामा राष्ट्रपति, प्रधानमन्त्री, अन्तरिम सरकारमा बालेन्द्र-बाबुरामको चर्चा : JCNEPAL MEDIA