चिनबाट आएको बाढीमा१८ जना बेपत्ता, ९ जनाको उद्धार, उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी : रसुवा JCNEPAL MEDIA

असार २३,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : चीनबाट एकाबिहानै आएको बाढीमा परेर रसुवामा कम्तीमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुने प्रहरीमा असई लालबहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा छन् ।

बेपत्ता हुने प्रहरीहरू इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका थिए । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार, एक जना प्रहरीले आफू नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन् भने नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । अन्य बेपत्ताको खोजी कार्य जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । प्रहरीका अनुसार, सोमबार राति आएको बाढीले रसुवागढी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडीसमेत बगेको छ । आज बिहान ३ बजे चीनको एरियामा परेको अविरल वर्षाको कारण रसुवागढीमा भारी मात्रामा बाढी आएको थियो ।

बिहान ४ बजे नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाई पुल पूर्ण रूपमा क्षति र सवारी साधनमा आवतजावत बन्द भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । त्यस्तै साढे ४ बजे रसुवा गोसाईंकुण्ड–२ स्थित इभी चार्जिङ स्टेसनमा क्षति भएको र ७/८ वटा इभी गाडीहरू बगाएको प्रहरीले जनाएको छ । साथै भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ । यस्तै, ३/४ वटा मालवाहक कन्टेनर डिब्बा बगाएको बताइएको छ । यस्तै बिहान ५ः५५ बजे रसुवाको गोसाईंकुण्ड गापा–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेशी– रसुवागढी सडक खण्डमा भोटेकोसी नदीमा आएको बाढीले सडक पूर्णरुपमा कटान गरेको छ । साथै पहिरो झरी सडक अवरुद्ध भएको छ ।

भोटेकोसी नदीमा पानीको बहाव बढ्दै गइरहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरूलाई सचेत गराइएको प्रशासनले जनाएको छ । अहिले सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ठूलो संख्यामा परिचालन गरिएको छ । बीओपी टिमुरे रसुवाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा २० जनाको टोली खटिएको छ । यस्तै बिहान ५ बजे नै नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमान्डमा २१ जना पठाइएको छ । सो टोलीमा विपद् व्यवस्थापन तालिम प्राप्त सात जनासमेत छन् । सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, उद्धार सामाग्रीहरूसहित खटिएको सो टोली स्याफ्रुबेशीदेखि अगाडि सडक चर्केकाले जान नसक्ने अवस्थामा रहेकाले पैदल हिँडेर त्यसतर्फ गइरहेका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षक. कृष्णबहादुर धितालको कमान्डमा २० जनाको प्रहरी टोली, इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट प्रहरी नायव निरीक्षक धनबहादुर तामाङको कमान्डमा २ जना, प्रहरी चौकी रसुवागढीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक सुमन महन्त गिरीको कमान्डमा १२ जना, प्रहरी चौकी स्याफ्रुबेशी रसुवाबाट ८ जना, प्रहरी चौकी हाकु रसुवाबाट ७ जना, अस्थायी प्रहरी पोस्ट मैलुङ रसुवाबाट ९ जना, प्रहरी चौकी बेत्रावतीबाट १० जनाको प्रहरी टोली गरी गरी ९४ जनाको टोली उद्धारका लागि खटिएको छ ।

प्रकाशित : असार २३,२०८१         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA