महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मंशिर १२,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा चलिरहेको बहस झनै तीव्र बन्दै गएपछि पार्टी अध्यक्ष शेरबहादुर देउवा आफैँ सक्रिय भएर छलफलमा उत्रिए पनि सहमतिको कुनै संकेत देखिएको छैन।

देउवाले हिजोदेखि नै कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित आफू निकट नेताहरूसँग लगातार संवाद गरिरहेका छन्। तर सो संवादबाट पनि कुनै मोड नफेरिएपछि आज उनले कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई समेत छलफलमा समेटे। तर, देउवाले विशेष महाधिवेशनमा जान नमान्ने र महामन्त्रीद्वयले आफ्नो अडान नछाड्ने स्थिति कायम रहेकाले सहमति टाढा भइरहेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पुष्टि गरेका छन्।

महतले भने, “अहिलेसम्म कुनै ठोस सहमति भएको छैन। सभापतिज्यू आफ्नै ढंगले छलफल गरिरहनुभएको छ।” महत स्वयं चुनावअघि महाधिवेशन गर्न नसकिने पक्षमा उभिएका छन्। उनका अनुसार देउवाले विशेष महाधिवेशनको माग अस्वीकार गरिसकेका छन्। उनले भने, “कार्यसमितिको कार्यकाल सकिएको छ, अब विशेष महाधिवेशन सम्भव छैन। अब नियमित महाधिवेशन नै हुन्छ।” तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने ‘कार्यतालिका होइन, महाधिवेशन नै’ चाहिने अडानबाट नहटेपछि सहमति बन्न सकिरहेको छैन। उनीहरूले देउवाले कार्यतालिका देखाएर विशेष महाधिवेशन टार्न खोजिरहेको आरोप पनि लगाएका छन्।

यता, नियमित महाधिवेशन अब टर्ने सम्भावना टरेसँगै विशेष महाधिवेशन नै एक मात्र विकल्प रहेको दाबी गर्दै महामन्त्रीद्वय दबाबका साथ अघि बढिरहेका छन्। विवाद चर्किदै जाँदा देउवाकै नजिकका नेताहरूबीच पनि विभाजन देखिएको छ। आज देउवा पक्षका ७० भन्दा बढी केन्द्रीय सदस्य बानेश्वरमा भेला हुँदा विशेष महाधिवेशन माग्दै आएका २८ केन्द्रीय सदस्य कुपण्डोलमा छुट्टै छलफलमा जुटे। एक पक्षले चुनावअघि महाधिवेशन गर्न नसकिने निष्कर्ष निकाल्दै स्थगनतर्फ उभिएको छ भने अर्को पक्षले तत्काल नियमित महाधिवेशनको मिति टुंग्याउन दबाब दिने निर्णय गरेको छ।

यसरी देउवा र महामन्त्रीद्वयबीचको अडान–प्रतिअडानले कांग्रेसभित्रको महाधिवेशन विवाद अब निर्णायक तर तनावपूर्ण मोडतर्फ उन्मुख देखिएको छ।

प्रकाशित : मंशिर १२,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

कांग्रेस संस्थापन पक्षको निष्कर्ष ; विशेष महाधिवेशनको औचित्य समाप्त, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं नआउनु पर्ने JCNEPALMEDIA

कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान : विजय चाैधरी JCNEPALMEDIA

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA

नेपाली कांग्रेसका देउवा, गगनसहित २४ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमा : JCNEPAL MEDIA