महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मंशिर १२,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा चलिरहेको बहस झनै तीव्र बन्दै गएपछि पार्टी अध्यक्ष शेरबहादुर देउवा आफैँ सक्रिय भएर छलफलमा उत्रिए पनि सहमतिको कुनै संकेत देखिएको छैन।

देउवाले हिजोदेखि नै कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित आफू निकट नेताहरूसँग लगातार संवाद गरिरहेका छन्। तर सो संवादबाट पनि कुनै मोड नफेरिएपछि आज उनले कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई समेत छलफलमा समेटे। तर, देउवाले विशेष महाधिवेशनमा जान नमान्ने र महामन्त्रीद्वयले आफ्नो अडान नछाड्ने स्थिति कायम रहेकाले सहमति टाढा भइरहेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पुष्टि गरेका छन्।

महतले भने, “अहिलेसम्म कुनै ठोस सहमति भएको छैन। सभापतिज्यू आफ्नै ढंगले छलफल गरिरहनुभएको छ।” महत स्वयं चुनावअघि महाधिवेशन गर्न नसकिने पक्षमा उभिएका छन्। उनका अनुसार देउवाले विशेष महाधिवेशनको माग अस्वीकार गरिसकेका छन्। उनले भने, “कार्यसमितिको कार्यकाल सकिएको छ, अब विशेष महाधिवेशन सम्भव छैन। अब नियमित महाधिवेशन नै हुन्छ।” तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने ‘कार्यतालिका होइन, महाधिवेशन नै’ चाहिने अडानबाट नहटेपछि सहमति बन्न सकिरहेको छैन। उनीहरूले देउवाले कार्यतालिका देखाएर विशेष महाधिवेशन टार्न खोजिरहेको आरोप पनि लगाएका छन्।

यता, नियमित महाधिवेशन अब टर्ने सम्भावना टरेसँगै विशेष महाधिवेशन नै एक मात्र विकल्प रहेको दाबी गर्दै महामन्त्रीद्वय दबाबका साथ अघि बढिरहेका छन्। विवाद चर्किदै जाँदा देउवाकै नजिकका नेताहरूबीच पनि विभाजन देखिएको छ। आज देउवा पक्षका ७० भन्दा बढी केन्द्रीय सदस्य बानेश्वरमा भेला हुँदा विशेष महाधिवेशन माग्दै आएका २८ केन्द्रीय सदस्य कुपण्डोलमा छुट्टै छलफलमा जुटे। एक पक्षले चुनावअघि महाधिवेशन गर्न नसकिने निष्कर्ष निकाल्दै स्थगनतर्फ उभिएको छ भने अर्को पक्षले तत्काल नियमित महाधिवेशनको मिति टुंग्याउन दबाब दिने निर्णय गरेको छ।

यसरी देउवा र महामन्त्रीद्वयबीचको अडान–प्रतिअडानले कांग्रेसभित्रको महाधिवेशन विवाद अब निर्णायक तर तनावपूर्ण मोडतर्फ उन्मुख देखिएको छ।

प्रकाशित : मंशिर १२,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA

भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय भाजपा नेता प्रह्लाद जोशी नियुक्त : JCNEPALMEDIA

महोत्तरीमा वडा अध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता : JCNEPALMEDIA

भारतका शिक्षामन्त्रीले राजीनामा दिएपछि ककरोच पार्टीले फिर्ता लियो आन्दोलन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA