महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई भाग : JCNEPAL MEDIA

मंशिर १४,२०८२/ जेसी नेपाल संवाददाता

काठमाडौं :महाधिवेशनको एजेन्डामा कांग्रेस संस्थापन पक्षमै दुई कित्ता भएका छन । सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक लगायतका शीर्ष तहका नेताहरू पुसभित्र नियमित महाधिवेशनको पक्षमा देखिएका छन् ।

संस्थापन समूहमै रहेका पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला चुनावअघि महाधिवेशन गर्नै नहुने पक्षमा छन् । सभापति देउवा स्वयं नियमित महाधिवेशनको पक्षमा देखिएपछि डेढ महिनादेखिको अनिर्णयबाट निकास निस्कन लागेको नेताहरूले जानकारी गराएका छन् । सभापति देउवाले नियमित महाधिवेशनको कार्यतालिका सोमबारको बैठकमा ल्याउन कार्यवाहक सभापति खड्कालाई निर्देशन दिइसकेका छन् ।

पुस महान्तभित्र नियमित महाधिवेशन गर्ने गरी सोमबारको बैठकमा प्रस्ताव पेस गरेर केन्द्रीय समितिको बैठक टुंगिने नेताहरूले जानकारी गराएका छन् । सभापति देउवा स्वयं नियमित महाधिवेशनको लागि अग्रसर हुँदा समेत पूर्वपदाधिकारीद्वय निधि र सिटौला चुनावअघिको महाधिवेशन गर्नै नहुने अडान शीर्ष तहको बैठकमा राखेका थिए । महाधिवेशन चुनाव अघि वा पछि र विशेष वा नियमितमा विवादमा पार्टी अल्झिरहँदा सभापति देउवा नै अघि सरेका थिए । गत बिहीबारदेखि प्रत्येक दिन देउवा निवासमा शीर्ष तहका नेताहरूको छलफल भइरहेको छ ।

हिजो शनिबारको बैठकबाट ‘ब्रेक थ्रु’ हुन लागेको बैठकमा जानकारी गराइएको छ । यद्यपि, निधि र सिटौला भने सहमत भइसकेका छैनन् । सभापति देउवा, कार्यवाहक सभापति खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, संस्थापनइतरका नेता डा.शेखर कोइराला, नेताहरू निधि, सिटौला, लेखक लगायतको बैठक भएको थियो ।

प्रकाशित : मंशिर १४,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA

डा. गोविन्द केसीले तोडे अनशन : JCNEPALMEDIA