कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान : विजय चाैधरी JCNEPALMEDIA

पुस १९,२०८२/ जेसी नेपाल मिडिया

अमेरिका क्यालिफोर्निया : विजय कुमार चौधरी निवर्तमान पर्यटन सद्भावना दुत क्यालिफोर्निया, अमेरिका एवं पुर्व ने.कां क्षेत्रीय प्रतिनिधी, क्षेत्र नं.३,धनुषाले भने ;

नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन वर्तमान समयको माग र निर्विकल्प समाधान पनि हो । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने निष्कर्ष निकालेका छन्। १५औं नियमित महाधिवेशनका लागि तोकिएको पुस २६ देखि २८ गतेसम्मको समयसीमाभित्र महाधिवेशन हुन नसक्ने अवस्था स्पष्ट भएसँगै उनीहरू विशेष महाधिवेशनतर्फ अघि बढेका हुन्।

* नियमित महाधिवेशनको कार्यतालिका निष्प्रभावी भए संगै स्वतः विशेष महाधिवेशन हुने वैधानिक व्यवस्था -

बिहीबार दुई महामन्त्रीले संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका समयमै परिमार्जन गरी अघि बढाउन नसक्दा सम्पूर्ण प्रक्रिया प्रभावित भएको जनाएका छन्। पुस २६ गतेदेखि लागू हुनुपर्ने कार्यतालिका कार्यान्वयन नहुँदा पार्टीभित्र अन्योल र अनिश्चितता बढेकाले विशेष महाधिवेशनबारे स्पष्ट धारणा सार्वजनिक गर्न बाध्य भएको वक्तव्यमा उल्लेख छ।

*२७–२९ पुसमा विशेष महाधिवेशन गर्ने तयारी

विशेष महाधिवेशनको माग गर्ने पक्षधर नेताहरूले पुस २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने गरी तयारी तीव्र बनाएका छन्। महाधिवेशन स्थल भृकुटीमण्डप तय गरिएको छ। केन्द्रीय सदस्य मधु आचार्यका अनुसार विशेष महाधिवेशन सफल बनाउन आवश्यक तयारी समिति गठनको प्रक्रिया अघि बढाइएको छ। महामन्त्री थापाले महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको लेखन कार्यसमेत सुरु गरिसकेका छन्। यसबारे शुक्रबार पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी गराइने तयारी रहेको पक्षधर नेताहरूले बताएका छन्।

* विधानको आधारमा विशेष महाधिवेशन

कांग्रेसको विधानअनुसार केन्द्रीय समितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार विशेष महाधिवेशनको माग केन्द्रीय कार्यालयमा दर्ता भइसकेको भए पनि केन्द्रीय समितिबाट आह्वान हुने अवस्था नदेखिएपछि महामन्त्रीद्वय अघि बढ्न लागेका हुन्।

* सभापतिलाई पत्र, आह्वान नगरे आफैं बोलाउने तयारी

महामन्त्रीद्वयले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा लाई पत्र लेखी विशेष महाधिवेशन आह्वान गर्न तथा अध्यक्षता गर्न अनुरोध गर्ने तयारी गरेका छन्। मागकर्ता पक्षका एक नेताका अनुसार सभापतिले आह्वान नगरेमा महामन्त्रीहरूले आफैं विशेष महाधिवेशन बोलाउनेछन्।

* कानुनी आधार स्पष्ट कानुनविद्हरूले विधानले विशेष महाधिवेशन बोलाउने अधिकार

महामन्त्रीलाई दिएको स्पष्ट पारेका छन्। विधानअनुसार केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहने भएकाले केन्द्रीय कार्यालयमार्फत दर्ता भएको मागको सम्बोधन गर्ने अधिकार पनि महामन्त्रीसँगै रहने कानुनी व्याख्या गरिएको छ। वरिष्ठ अधिवक्ता यदुनाथ खनालले विधानको दफा ३(१२) र दफा २७(१) अनुसार महामन्त्रीले विशेष महाधिवेशन आह्वान गर्न सक्ने स्पष्ट अधिकार रहेको बताएका छन्।

* हस्ताक्षर संख्यामा वृद्धि, असन्तुष्टि बढ्दो

विशेष महाधिवेशनको मागमा हालसम्म २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटिसकेको छ। पक्षधर नेताहरूका अनुसार यो संख्या अझै बढ्नेछ। कांग्रेस–एमाले चुनावी गठबन्धनप्रति असन्तुष्टि, नियमित महाधिवेशन समयमै नहुने अवस्था र टिकट वितरणप्रतिको चासोका कारण धेरै प्रतिनिधि विशेष महाधिवेशनतर्फ आकर्षित भएको उनीहरूको दाबी छ।

* मतभेद कायमै

यद्यपि, कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा मतभेद पनि देखिएको छ। संस्थापन तथा संस्थापनइतर दुवै धारका नेता डा. शेखर कोइराला ले विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिम निम्त्याउन सक्ने भन्दै विरोध जनाउँदै आएका छन्। तर मागकर्ता पक्षले विधानमै व्यवस्था गरिएको विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने तर्क स्वीकार्य नहुने बताउँदै प्रतिवाद गरिरहेका छन्।

* विशेष महाधिवेशन नै विकल्प

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन नै प्राथमिक विकल्प भएको तर निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था बनेपछि विशेष महाधिवेशन नै व्यावहारिक विकल्पका रूपमा अघि आएको स्पष्ट पारेका छन्। उनीहरूले पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी माग सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको उल्लेख गर्दै प्रक्रिया सम्भव भएसम्म सर्वसम्मत रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्। यसमा बहुसंख्यक लोकतन्त्रवादी शक्त्तिहरू र नयां पुस्ताको समर्थन र सहभागिता रहने कुरा स्पष्ट छ।

प्रकाशित : पुस १९,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बंगलादेशमा विद्यार्थी आन्दोलनलाई जनताले विश्वास गरेन ,पुरानै दललाई बहुमत : JCNEPALMEDIA

नेपाली जन-सम्पर्क समिति अमेरिकाको कार्यवाहक सभापति धनन्जय नरसिंह के.सी.लाई ANTA सल्लाहकार दिए शुभकामना : विजय चाैधरी

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

कांग्रेस संस्थापन पक्षको निष्कर्ष ; विशेष महाधिवेशनको औचित्य समाप्त, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं नआउनु पर्ने JCNEPALMEDIA

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि दिउँसो १ बजे बस्दै : JCNEPAL MEDIA

कार्यवाहक सभापति मात्र नामकै, गगण थापाको भनाइ ; सबै शक्ति देउवकै हातमा JCNEPAL MEDIA