पावर र पहुँचकाे अखाडा धनुषा जिल्ला प्रहरी कार्यालय ,पक्राउ पुर्जी जारी भएका व्यक्ति नियन्त्रणबाटै छुटे : JCNEPALMEDIA

मंशिर ०६,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : सिरहामा ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा पक्राउ पुर्जी जारी भएका एक व्यक्तिलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएर पनि छाडिदिएको आरोप लागेको छ ।

सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयमा गत साउनमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएका धनुषाको मिथिला बिहारी नगरपालिका–१ का ५४ वर्षीय कुशेश्वर साहलाई प्रहरीले पक्राउ गरेर पनि छाडिदिएको पीडित पक्षको आरोप छ । शुक्रबार बिहान करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–४ स्थित बंशी चोकको काली होटलनजिकै उनलाई लहानबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेका थिए ।

पक्राउपछि हत्कडी लगाएर राखिएका साहलाई पछि मुजेलिया प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो । तर, जिल्ला प्रहरी कार्यालयसम्म नपुर्‍याई बाटोबाटै छाडिदिएको पीडित पक्षको दाबी छ । साहविरुद्ध सिरहाको मुसहरनियाँस्थित कौशल एग्रो राइस मिलमा धान बिक्री गरेका किसानहरूले ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । उक्त मिलका सञ्चालक साहले किसानहरूबाट उधारोमा धान खरिद गरे पनि लामो समयसम्म भुक्तानी नगरेको उनीहरूको आरोप छ । २०८१ सालमा सिरहाको कल्याणपुरका रामनाथ साहले २१ लाख रुपैयाँ, प्रवेश साहले ४ लाख रुपैयाँ तथा बरियारपट्टीका दिनेश साह र अशोक महतोले जनही १० लाख रुपैयाँ बराबरको धान मिललाई बिक्री गरेका थिए ।

तर, पटकपटक ताकेता गर्दा पनि रकम नपाएपछि उनीहरू प्रहरीको शरणमा पुगेका थिए । पीडितहरू २०८१ पुसमै प्रमाणसहित जाहेरी दिन इलाका प्रहरी कार्यालय लहान पुगेका थिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न नमानेको उनीहरूको भनाइ छ । त्यसपछि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, मधेश प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसम्म धाउँदा करिब डेढ वर्षपछि मात्रै मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि सिरहा प्रहरीले साहलाई पक्राउ गर्ने प्रयास गर्दै आएको थियो । उनी जनकपुरधाममा बस्दै आएका कारण पक्राउ गर्न धनुषा प्रहरीको सहयोग मागिएको थियो । तर, पटकपटक प्रयास गर्दा पनि पक्राउ गर्न नसकिएको पीडित पक्षको भनाइ छ ।

शुक्रबार भने लहानबाट सादा पोसाकमा खटिएका दुई प्रहरी पीडितहरूलाई समेत लिएर जनकपुरधाम पुगेका थिए । पिडारी चोक र मधेश भवनको बीचमा पर्ने काली होटलनजिकै साहको घर छ । लहानबाट आएको टोलीले साहलाई पक्राउ गर्न मुजेलिया प्रहरीसँग सहयोग मागेको थियो । तर, प्रहरी तत्काल घटनास्थलमा पुगेन । वडा प्रहरी चौकी मुजेलियाका इन्चार्ज फणीन्द्र अधिकारीले आफू बिदामा रहेको भन्दै कार्यालयमै सम्पर्क गर्न नेपाल प्रेससँगको कुराकानीमा बताए । यता, चौकीका अर्का सहइन्चार्ज अनिरुद्धप्रसाद गुप्तालाई सम्पर्क गर्दा उनले अर्का प्रहरी नायब निरीक्षक (सई) सँग कुरा गर्न भन्दै फोन काटे । उनले अर्का सई वीरेन्द्र साहसँग कुरा गर्न भने पनि उनको सम्पर्क नम्बर भने उपलब्ध गराएनन् ।

लहानबाट आएको प्रहरी टोलीले साहलाई घरअगाडि नै हत्कडी लगाएर नियन्त्रणमा लिएको थियो । तर, मुजेलिया प्रहरी कार्यालय घटनास्थलबाट करिब एक किलोमिटर मात्रै टाढा भए पनि प्रहरी पुग्न ४० देखि ४५ मिनेट लागेको पीडित रामनाथ साहका छोरा रवीन्द्र साहले बताए । ‘कुशेश्वरलाई प्रहरीले गाडीमा बसाएपछि हामी ढुक्क भयौँ । स्वास्थ्य परीक्षण गरेर जिल्ला प्रहरी कार्यालय ल्याउँछन् भन्ने ठानेर हामी त्यहाँ गयौँ,’ रवीन्द्रले भने, ‘तर, धेरै बेरसम्म नआएपछि मुजेलिया प्रहरीमा पुग्यौँ । त्यहाँ माथिबाट फोन आएपछि छाडिदियौँ भन्ने जवाफ दिइयो ।

उनका अनुसार मुजेलिया प्रहरीले साहलाई आफ्नो गाडीमा राखेर लगेपछि लहानबाट आएका प्रहरीलाई घटनास्थलमै छाडेको थियो । त्यसपछि लहानबाट आएका प्रहरी र पीडितहरू जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका थिए । तर, साहलाई त्यहाँ नल्याइएपछि उनीहरू पुनः मुजेलिया प्रहरी कार्यालय पुगेका थिए । त्यहाँ साहलाई नभेटेपछि सोधपुछ गर्दा ‘माथिबाट फोन आएपछि छाडिदिएको’ जवाफ प्रहरीले दिएको रवीन्द्रको दाबी छ । प्रहरीले साहलाई कार्यालयसम्म नल्याई बाटोबाटै घर पुर्‍याइदिएको पीडित पक्षको आरोप छ । रवीन्द्रका अनुसार उनीहरू साहको घर पुग्दा स्थानीयले केही समयअघि मात्रै प्रहरीले उनलाई घर पुर्‍याइदिएको बताएका थिए । उक्त घटनाको दृश्य घरनजिकैको सीसीटीभीमा समेत कैद भएको उनको दाबी छ ।

पीडितहरूले साहलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको दृश्यको भिडियो र तस्बिरसमेत खिचेका छन् । यता, जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी एवं प्रवक्ता ओमप्रकाश खनालले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए । नेपाल प्रेससँग प्रतिक्रिया दिँदै उनले घटनाबारे बुझ्न बाँकी रहेको र त्यसपछि मात्रै थप प्रतिक्रिया दिन सक्ने बताए ।

प्रकाशित : मंशिर ०६,२०८३                    ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आज वर्षा र हिमपातको सम्भावना : JCNEPALMEDIA

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि ,नेपालले उठाउँदै छ जलवायु परिवर्तनको मुद्दा :JCNEPALMEDIA

आजको मौसम पुर्वअनुमान यी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

पर्सामा तस्करी गरि ल्याइएको ४ हजार ५ सय ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरीद्धारा नष्ट : JCNEPALMEDIA

काठमाण्डौका पाँच ठाउँबाट ग्यास बिक्री हुँदै, नागरिकता या राष्ट्रिय परिचयपत्र चाहिने : JCNEPALMEDIA

'ब्रा' फुकालेर टपलेस भएकी सुन्दरी सडकमा बजारिएर अस्पताल पुगिन् : JCNEPALMEDIA