मधेसमा सभामुखको निर्वाचन माघ २ गते हुने

धनुषा । मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ । नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिनुभयो ।उहाँले पुस २९ गते सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेशसभा सचिव रञ्जितकुमार यादवलाई निर्देशन दिनुभयो ।बैठकले प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदन गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।मनोनित सदस्यहरूमा सांसदहरू रेखा ठाकुर, बच्चा राउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनार, फकिरा महतो र रत्नेश्वर गोइत रहनुभएको छ ।सभालाई प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, पूर्वसभामुख सरोजकुमार यादव र अधिवेशन प्रारम्भ भएको अवसरमा विभिन्न दलका १४ जना प्रदेशसभा सदस्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।त्यस अवसरमा मुख्यमन्त्री लालबाबु राउतले संविधानको कार्यान्वयन र सङ्घीयताको संस्थागत विकासका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले सङ्घीयतालाई बोझको रूपमा चित्रित गर्दै यसलाई बोक्न सकिन्न भन्नेहरूका विरुद्ध मधेस प्रदेशका सबै दलले एकताबद्ध भएर जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।पूर्वसभामुख यादवले अघिल्लो प्रदेशसभाको अन्तिम अधिवेशन हतारमा अन्त्य गरेकाले आफूले धन्यवादसम्म भन्न नपाएको गुनासो गर्दै आगामी दिनमा दलहरुको सहमतिमा मात्रै अधिवेशनको आह्वान र अन्त्य हुनुपर्ने बताउनुभयो ।उहाँले अघिल्लो सरकारले जनताको पक्षमा गर्न नसकेका काम आगामी सरकारले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।सभामा मन्तव्य राख्नुहुने अधिकांश सांसदहरुले सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षा गर्दै मधेश प्रदेशका आवश्यकता पूर्ति र विद्यमान समस्याको समाधान गर्न पार्टीभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने धारणा राख्नुभएको थियो ।सभामा प्रदेशसभा सदस्य राजकुमार लेखी, कृष्णप्रसाद यादव, राजकुमार गुप्ता, वसन्तप्रसाद कुशवाह, जितेन्द्रप्रसाद सोनार, युवराज भट्टराई, बेची लुङ्गेली, कञ्चन बिच्छा, बिमला अन्सारी तरन्नुम, उर्मिलादेवी सिंह, अनिरुद्धकुमार सिंह, केशव राय, प्रमोदकुमार जयसवाल, र सुनिताकुमारी साहले सम्बोधन गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक आगामी माघ २ गते बस्ने छ ।साभार : रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

महाधिवेशनमा टुटिरहेकाे काँग्रेस , देउवा पछिहटेनन् ,गगन र विश्वले अडान छाडेनन् : JCNEPAL MEDIA

मधेसमा उपसभामुखले बैठककाे लागि गरे आह्वान

हैदरबादमा बसमा आगलागी हुदा २५ जनाकाे मृत्यु : JCNEPAL MEDIA

नेपाल प्रहरीका चार डीआईजीको बढुवा : JCNEPAL MEDIA

उर्जामन्त्रीले पद छाड्न भनेपछि प्राधिकरण निर्देशककाे भावुक अपील : "देशलाई धोका दिन चाहन्न" JCNEPAL MEDIA

चुनावी सरकारका गृहमन्त्रीलाई ‘गुमराह’मा राखेर एसपी सरुवा, महत्वपूर्ण जिल्लामा ओलीकाे छायाँ : JCNEPAL MEDIA