सुनको मूल्य तोलाको २ लाख आसपास पुग्न सक्ने अनुमान - JC NEPAL MEDIA

माघ ६,२०७९ जेसी नेपाल संवाददाता

गत पुसको पहिलो साता सिंगापुरका केही विश्लेषकहरूले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस चार हजार डलरसम्म पुग्ने अनुमान गरे। अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौ सय ३० डलरमा कारोबार भइरहेको छ।

नेपालमा प्रतितोला एक लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। सिंगापुरमा मुख्यालय रहेको स्विस एसिया क्यापिटलका प्रबन्ध निर्देशक तथा चिफ इन्भेस्टमेन्ट अफिसर यर्ग काइनरले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस दुई हजार पाँच सयदेखि चार हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनबिसीले उल्लेख गरेको छ। सुनको तौल प्रतिऔंस बराबर ३१.१ ग्राम हुन्छ। सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔंस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ। त्यस्तै प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ।

अहिले डलरको बिनिमयदर एक सय ३० रूपैयाँ छ ।काइनरको प्रक्षेपण अनुसार प्रतिऔंस सुनको मूल्य साँच्चिकै चार हजार डलरसम्म पुगेमा नेपालमा प्रतिऔंस सुनको करिब पाँच लाख २० हजार रूपैयाँ पर्न आउँछ। यस आधारमा प्रतिग्राम सुनको नेपालमा १६ हजार सात सय २० रूपैयाँ पर्नेछ भने एक तोला सुन (११.६६४ ग्राम) को एक लाख ९५ हजार रूपैयाँ पर्नेछ। त्यस्तै हाल सुन आयात गर्दा प्रति दस ग्राम आठ हजार पाँच सय रूपैयाँ भन्सार कर लाग्ने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ।

नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन। नेपालमा रहेका सुनचाँदी व्यवसायी महासंघहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन्। काइनर सन् २०२३ मा १०/२० प्रतिशतको मात्रै वृद्धि नहुने दाबी गर्छन्। काइनरले दाबी गरेजस्तो सुनको मूल्य प्रतिऔंस ४ हजार डलर नै पुग्ने दाबी स्वीकार गर्न नसकिए पनि धेरैले सुनको मूल्यमा राम्रै वृद्धि देखिने विश्वास भने गरेका छन्।

भारतीय सञ्चारमाध्यम बिजनेस टुडेले विज्ञहरूका अनुसार भन्दै त्यहाँ प्रति दस ग्राम सुनको मूल्य ६२ हजार भारूसम्म पुग्ने समाचारमा उल्लेख गरेको छ। यही दरसम्म पुग्ने हो भने पनि नेपालमा प्रतितोला सुनको मूल्य कम्तीमा एक लाख १६ हजारको आसपासमा भने आउनेछ। मूलतः सन् २०२३ मा विश्वभर आर्थिक मन्दी आउनसक्ने सम्भावना बढेकाले तुलनात्मक रूपमा सुरक्षित र सर्वस्वीकार्य सम्पत्तिका रूपमा मानिने सुनको मूल्य बढ्ने अनुमान गरिएको हो। विश्वभरका केन्द्रीय बैंकहरूले नै सुनको खरिददारी बढाइरहेकाले पनि सन् २०२२ मै सूनको मूल्य उच्च दरमा वृद्धि भएको मानिएको छ।

सन् २०२२ मार्चमा प्रतिऔंस सुनको मूल्य दुई हजार ७५ डलरसम्म पुगेको थियो। भारतको आइसिआइसिआई डाक्रेक्टको रिपोर्टले सन् २०२३ मा पनि केन्द्रीय बैंकहरूबाट सुनको खरिददारी उच्च हुनसक्ने अनुमान गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले सन् १९६७ यताकै उच्च दरमा सुनमा लगानी बढाएका छन्। द वर्ल्ड काउन्सिलका अनुसार अघिल्लो वर्ष सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्ममा मात्रै विश्वभरका केन्द्रीय बैंकहरूले ६ सय ७३ टन सुन खरिद गरेका छन्। चीन र रसियाले सुनको खरिददारी उच्च दरमा बढाएको आशंका गरिएको छ।

प्रकाशित : माघ ६,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

सिंहदरबारमा अब छड्के सचिव, सचिव र सह–सचिव असन्तुष्ट : JCNEPALMEDIA

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर : JCNEPALMEDIA

२२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा ३९ जना विरुद्ध मुद्दा : JCNEPALMEDIA

२२ अर्बको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणमा ३९ जना विरुद्ध मुद्दा : JCNEPALMEDIA