सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले पाएन बहुमत, सरकार गठबन्धनको भरमा

जेष्ठ २३,२०८१/ जेसी नेपाल मिडिया

काठमाडौं :सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले पाएन बहुमत, सरकार गठबन्धनको भरमा हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) लोकसभा निर्वाचनमा बहुमत ल्याउन असफल भएको छ ।

पछिल्ला दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यस पटक भने सरकार बनाउन गठबन्धनमा आबद्ध दलहरूको भर पर्नुपर्ने स्थिति छ । अब मोदीको राजनीति बिहारका नितिश कुमार र आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुजस्ता नेताको मन र मतमा निर्भर रहनेछ ।  अप्रिल १९ बाट प्रारम्भ भएको लोकसभा चुनावमा होमिँदै गर्दा मोदीले ‘अबकी बार चार सय पार’ को नारा दिएका थिए । उनले भाजपा एक्लैले ३ सय ७० र भाजपाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले चार सय सिट पार गर्ने दाबी गर्दै आएका थिए ।

तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको निधनपछि सन् १९८४ मा भएको लोकसभा निर्वाचनमा राजीव गान्धीको नेतृत्वमा कंग्रेसले ४ सय १४ सिट ल्याएको थियो । लगातार तेस्रो पटक प्रधानमन्त्री बनेर जवाहरलाल नेहरूको रेकर्ड तोड्ने मोदीको दाबी थियो । त्यस्तै चार सय सिट कटाएर गान्धीको रेकर्डलाई बराबरी गर्ने महत्त्वाकांक्षा मोदीको थियो ।

भारतीय निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार भाजपाले २ सय ४० सिट जितेको छ । ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन सामान्य बहुमत २ सय ७२ चाहिन्छ । भाजपा बहुमतबाट ३२ सिटले पछाडि छ । यद्यपि भाजपा नेतृत्वको एनडीए गठबन्धनले २ सय ९३ सिट जितेको छ । त्यसमा आन्ध्रप्रदेशको चन्द्रबाबु नायडु नेतृत्वको तेलेगु देशम पार्टीले १६ र बिहारको नितिश कुमारको जनता दल युनाइटेडले १२ सिट जितेका छन् । मोदीलाई प्रधानमन्त्री बन्न नायडु र नितिशको भर छ ।

२००५ देखि नै बिहारका मुख्यमन्त्री रहेका नितिशले अहिलेसम्म ९ पटक सहयोगी परिवर्तन गरेका छन् । यसपालि नितिश वा नायडुलाई सरकारको नेतृत्व दिएर मोदीको भाजपालाई सत्ताबाहिर राख्न कंग्रेसले कसरत सुरु गरिसकेको छ । राजनीतिक विश्लेषक राजकुमार सिंह नितिश कुमार र चन्द्रबाबु नायडुजस्ता मित्रको बलमा भाजपालाई सरकार चलाउन चुनौतीपूर्ण हुने बताउँछन् । ‘दुवै जनाको भाजपासँग मिलन मनदेखिको छैन । परिस्थितिले मात्रै उनीहरू भाजपानिकट पुगेका हुन्,’ उनी भन्छन्, ‘विगत फर्केर हेर्ने हो भने नितिश र नायडु दुवै जनाको भाजपासँगको सम्बन्ध राम्रो देखिँदैन ।

तर, मोदीले दुवै जनालाई साथमै राख्न सफल भएमा मात्रै उनको प्रधानमन्त्री पदको ह्याट्रिक निश्चित हुनेछ ।’ उनका अनुसार नितिश कुमार विपक्षी गठबन्धनमै रहेको भए तथा ममता बनर्जीदेखि सबै दलबीच कसिलो एकता बनेको भए भाजपाको नतिजा योभन्दा पनि खराब आउने स्थिति हुन्थ्यो । १ जुनमा मतदान सकिएलगत्तै सार्वजनिक भएका आधा दर्जन ‘एक्जिट’ पोलले भाजपा र एनडीएलाई अघिल्लो चुनावमा जस्तै जितको सम्भावना देखाएका थिए ।

२०१४ मा भाजपा एक्लैले २ सय ८२ र २०१९ मा ३ सय ३ सिट जितेको थियो । एनडीएले क्रमशः ३ सय ३६ र ३ सय ५२ सिट ल्याएको थियो । एक्जिट पोलहरूले यस पटक एनडीएले ३ सय ५० देखि ४ सयसम्म सिट ल्याएर मोदीले ‘ह्याट्रिक’ गर्ने बताएको थियो । तर यस्ता आकलनलाई फेल गर्ने नतिजा आएको छ । हिन्दु मतदातालाई ध्रुवीकृत गर्न भाजपा सरकारले चुनावको मुखमा अयोध्यामा राम मन्दिरको उद्घाटन गरेको थियो । गैरमुस्लिम शरणार्थीलाई नागरिकता दिने कानुन ल्याएको थियो ।

तर, ती सबैले खासै प्रभाव पार्न सकेन । अयोध्या समावेश रहेको फैजावाद लोकसभा क्षेत्रमा नै भाजपाले हारेको छ । सबैभन्दा बढी लोकसभा क्षेत्र रहेको उत्तर प्रदेशमा यसअघिका दुई चुनावमा भाजपाले अधिकतम सिट जितेको थियो । २०१९ मा ८० सिटमा भाजपाले ६४ जितेको थियो ।

यस पटक भने ३३ सिटमा खुम्चिनुपरेको छ । अखिलेश यादवको समाजवादी पार्टीले ३७ सिट जितेको छ । त्यस्तै कंग्रेसले ६ सिट जितेको छ । एक्जिट पोलहरूले भाजपालाई करिब ७० सिट दिएका थिए । यसअघि हिन्दीभाषी राज्यहरूमा बलियो रहँदै आएको भाजपालाई त्यही क्षेत्रमा ठूलो नोक्सान पुगेको छ । सबैभन्दा बढी धक्का उत्तर प्रदेशले नै दिएको छ । त्यस्तै बिहारमा पनि भाजपाले अघिल्लो पटकभन्दा ५ सिट गुमाएको छ । बिहारमा अघिल्लो चुनावमा एक सिट जितेको कंग्रेसले ३ सिट जितेको छ ।

राष्ट्रिय जनता दलले ४ सिट जितेको छ । भाजपाले दिएको चार सय पारको नारा नै उसैका लागि प्रत्युत्पादक बनेको देखिन्छ । विशेष गरी उत्तर प्रदेशमा समाजवादी पार्टीले रणनीतिक रूपमा त्यसलाई प्रयोग गर्‍यो । चार सयभन्दा बढी सिट पाएमा संविधान संशोधन गरेर दलित र पिछडिएका जातिले हाल पाउँदै गएको आरक्षण सुविधा खोसिने भन्दै समाजवादी र कंग्रेसले त्यसलाई भाजपाविरुद्ध रणनीतिक रूपमा प्रचार गरे । जसले गर्दा उत्तर प्रदेशको ठूलो संख्यामा रहेको दलित र पिछडिएका जातिको प्रमुख हिस्सा इन्डिया गठबन्धनतर्फ आकर्षित भयो ।

विगतमा मायावतीको बहुजन समाजवादी पार्टीलाई साथ दिएको दलित समुदायले पनि यस पटक समाजवादीको पक्षमा मत दिएको देखिन्छ । अघिल्लो पटक भाजपाले ‘क्लिन स्वीप’ गरेको गुजरातको २६ सिटमा यस पटक १ सिट गुमाएको छ । त्यस्तै, हरियाणाको १० मा ५ सिट मात्रै हात पारेको छ । अघिल्लो पटक राजस्थानको २५ मा २४ सिट भाजपाले जितेकामा यस पटक १४ मात्रै प्राप्त गरेको छ । कंग्रेसले ८ सिट ल्याएको छ । हिन्दीभाषी राज्यहरूमा भाजपाले ५५ सिट गुमाएको छ । भाजपाका चर्चित नेताहरू तथा केन्द्रीय मन्त्री स्मृति इरानी, अजय मिश्र टेनी, महेन्द्रनाथ पाण्डे, कौशल किशोरले चुनाव हारेका छन् । अघिल्लो पटक अमेठीमा स्मृतिले राहुल गान्धीलाई हराएर लोकसभा पुगेकी थिइन् ।

यस पटक कंग्रेस उम्मेदवार किशोरी लालबाट हारेकी छन् । पश्चिम बंगालमा ममता बनर्जीको प्रभाव बढेको छ । त्यहाँ तृणमुल कंग्रेसले २९ सिटमा जित हात पारेको छ । तृणमूलले अघिल्लो पटकभन्दा ७ सिट बढी जितेको हो । त्यस्तै अघिल्लो पटक १८ सिट जितेको भाजपा ६ सिट गुमाउँदै पश्चिम बंगालमा १२ सिटमा चित्त बुझाउनु परेको छ । महाराष्ट्रमा पनि अघिल्लो पटकभन्दा भाजपालाई नोक्सान पुगेको छ । त्यहाँको ४८ सिटमा अघिल्लो पटक २३ सिटमा भाजपाले जितेको थियो । यस पटक ९ सिटमा खुम्चिएको छ । महाराष्ट्रमा इन्डिया गठबन्धनले ३० सिटमा जित हात पारेको छ । प्रदेशमा सबैभन्दा बढी कांग्रेसले १३, शिव सेना उद्धव ठाकरेले ९ र एनसीपी शरद पवारले ८ सिटमा जित हात पारेका छन् । मध्यप्रदेश, हिमाचल र उत्तराखण्ड भने भाजपाले सबै सिट जितेको छ ।

त्यस्तै, ओडिसा र आन्ध्रप्रदेशमा राम्रो सफलता पाएको छ । चुनावको नतिजापछि प्रधानमन्त्री मोदीले दिल्लीस्थित भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले एनडीए गठबन्धनप्रति लगातार तेस्रो पटक विश्वास दिएकामा मतदातालाई धन्यवाद व्यक्त गरेका छन् । उनले जनताको आकांक्षा पूरा गर्न नयाँ ऊर्जा र उमंगका साथ काम गर्ने बताएका छन् । भाजपा अध्यक्ष जेपी नड्डाले तेस्रो पटक एनडीएको सरकार बन्न थालेकामा कार्यकर्तालाई बधाई दिएका छन् । सरकार बनाउने गरी सिट नल्याए पनि विपक्षी गठबन्धन उत्साहित भएको छ । कंग्रेस नेता राहुल गान्धी, समाजवादी पार्टीका अखिलेश यादव र टीएमसीका ममता बनर्जीको प्रभाव चुनावमा देखिएको छ । २०१४ मा ४४ र २०१९ मा ५२ सिटमा खुम्चिएको कंग्रेसलाई राहुलले ९९ सिट दिलाएका छन् । उनी आफैंले केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुई स्थानबाट चुनाव जितेका छन् । लगातार गरेको देश दौडाहा र पैदल यात्राहरूले केही हदसम्म परिणाम उनको पक्षमा आएको छ ।

विपक्षी गठबन्धनले चुनाव सकिएलगत्तै २ सय ९५ सिट इन्डिया गठबन्धनले ल्याउने दाबी गरेका थिए । तर तृणमुल कंग्रेससहितको विपक्षी खेमाले २ सय ३२ सिट ल्याएको छ । तृणमूलले पश्चिम बंगालमा एक्लै चुनाव लडे पनि इन्डिया गठबन्धनमै रहेको भन्दै आएको छ । चुनावको नतिजा आउँदै गर्दा पत्रकार सम्मेलन गरेर राहुलले देशले मोदी र अमित शाहलाई नचाहेको सन्देश प्राप्त भएको टिप्पणी गरे । जनताले संविधान बचाउन लड्ने आफूले विश्वास गरेको र त्यहीअनुसार संविधान र लोकतन्त्र बचाउन जनताले भूमिका खेलेको उनले भनेका छन् । उनले इन्डिया गठबन्धनको बैठकबाट आगामी निर्णय लिइने बताए ।

प्रकाशित : जेष्ठ २३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA