प्रचण्डकाे दाबी : हामीले केही नगरे पनि यो सरकार ढल्छ : JCNEPAL MEDIA

माघ २०,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो बैठकमा शुक्रबार पछिल्लो समय निकै चर्चामा रहेको "म त ढलेँ ढलेँ..."गीतको सन्दर्भ निकाले । बजारमा एउटा गीत "ढलेँ ढलेँ..." भन्ने खुब प्रचारमा छ : उनले भने । प्रायः राजनीतिक नेताहरूले त्यस्तै गाएको सुन्छु । प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले विगत पाँच महिनादेखि ‘सरकार ढल्दैछ’ भन्दै आएको सन्दर्भमा ओलीले उक्त कटाक्ष गरेका हुन् । आजै ढल्यो, भरे ढल्यो भनिँदै छ, ढल्यो, ढल्यो, ढल्यो, ढल्यो । यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवमा सुहाउला ।

राजनीतिक मञ्चमा त्यति सुहाउँदैन,ओलीको भनाइ थियो, ०८४ सम्म सरकार टसमस गर्नेवाला छैन । दिनरात यस्ता हल्ला गरेर तीन वर्ष बिताउनु जनता र देशका लागि के फाइदा ? माओवादी अध्यक्ष दाहालले केही दिनयता सरकार चाँडै नै ढल्ने बताउँदै आएका छन् । हामीले केही नगरे पनि यो सरकार ढल्छ, हामी हिँड्दा हिँड्दै ढल्छ, कसैले केही गर्नै पर्दैन,यही साता उनले तेह्रथुममा यस्तो भनेका थिए । सत्ताको साँचो लिएर बसेका कांग्रेस सभापति शेरबहादुर देउवा भने सत्ता–गठबन्धनको आयुका बारेमा मौन छन् । सहमतिअनुसार सरकारको नेतृत्व गर्न करिब डेढ वर्ष पर्खिने मुडमा उनी छन् । शुक्रबार संसद्को बैठकलाई सम्बोधन गर्दै देउवाले गठबन्धन बन्ने बेला भएको सात बुँदे सहमतिमा आफू दृढ रहेको पनि बताए । ‘विगतमा सरकार स्थिर हुन नसकेकाले यो सरकार गठन भएको हो । हामी दुवै दल र अन्य राजनीतिक दलहरू स्थिर सरकार दिन दृढ छौं ।

सात बुँदे सहमति कार्यान्वयनमा नेपाली कांग्रेस दृढ छ । अन्य राजनीतिक दलहरूको यसमा निरन्तर सहयोग हुनेछ : उनको भनाइ थियो । सत्ता गठबन्धन दलको बैठकमा सोमबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आसन समान थियो । कुर्ची फरक–फरक भए पनि दुवैका लागि टेबल एउटै राखिएको थियो । हेर्दा सामान्य लाग्ने यो आसनको राजनीतिक अर्थचाहिँ सत्ता गठबन्धनसँग जोडिएको थियो । सामान्यतया प्रधानमन्त्री निवास बालुवाटारको बैठक कक्षमा प्रधानमन्त्रीका लागि अलग्गै र अन्य नेताका लागि फरक–फरक कुर्सी–टेबलको व्यवस्था गरिएको हुन्छ । तर सोमबार ओली र देउवा समान आसनमा एउटै टेबल सेयर गरेर बसेका थिए । यसको राजनीतिक सन्देश थियो, सत्ता गठबन्धन ठिकठाक चलिरहेको छ ।

प्रधानमन्त्री ओली ०८४ सम्म आफ्नो सरकार टिक्ने, प्रमुख प्रतिपक्ष दलका नेता दाहाल छिट्टै सरकार ढल्ने बताइरहेकै बेला सरकार टिकाउने र भत्काउने साँचो लिएर बसेका कांग्रेस सभापति शेरबहादुर देउवा भने मौन छन् । उनले सरकार ढाल्नेबारे मौनता तोडेको दिन मात्र सरकार तलमाथि हुन्छ । असार अन्तिम साता प्रधानमन्त्री भएका ओलीले दुई वर्ष र देउवाले साढे एक वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । ओली प्रधानमन्त्री भएको ०८३ असारमा दुई वर्ष पुग्नेछ । त्यसपछि ०८४ मंसिरसम्म देउवाले सरकारको नेतृत्व गर्ने समझदारी छ । तर प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकारले दुई महिना पार गरेदेखि नै धेरै दिन नटिक्ने निरन्तर बताइरहेका छन् ।

उनले दुई महिना पूरा नगर्दै सरकारको आयुमाथि प्रश्न गर्न सुरु गरे पनि माघ अन्तिममा सरकारले सात महिना पूरा गर्दैछ । दाहालले ओली सरकारले सय दिन पूरा नगर्दै सुरु गरेको ‘सत्ता गठबन्धन धेरै दिन टिक्दैन’ भन्ने भनाइलाई निरन्तर दोहोर्‍याइरहेका छन् । सोमबार पूर्वी नेपालको तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकु पुगेर बगाले सहिद स्मृति पार्कको उद्घाटन गर्दै दाहालले सरकारको आयु लगभग सकिएको दाबी गरेका थिए । ‘हामीले केही नगरे पनि यो सरकार ढल्छ, हामी हिँड्दा हिँड्दै ढल्छ, कसैले केही गर्नै पर्दैन, उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले दाहालको भनाइको खण्डन गर्दै सरकार २०८४ सम्म टिक्ने बारम्बार दोहोर्‍याउँदै आएका छन् । ‘दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला छ । भोलि ढलेन भने पर्सिलाई सारिदिने । पर्सि भएन भने अर्को हप्तालाई सारिदिने, मंगलबार एमाले संसदीय दलको बैठकमा उनले भनेका थिए, यो महिना ढलेन भने अर्को महिनलाई सार्ने । दसैंमा ढलेन भने मंसिरमा सार्ने ।

कुन मंसिरमा ? ०८४ मंसिरमा सरकार ढल्छ । ०८४ को मंसिरभन्दा यता सरकारमाथि लगाउने आरोप मात्रै हो । सोमबार सूर्यबिनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाट्न गर्दै ओलीले १७ महिनापछि देउलाई सरकार हस्तान्तरण गर्ने पनि बताएका थिए । अब १७/१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालेले पूराका पूरा सहयोग गर्छ । सफल बनाउँछौं : उनले भने । अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसनबिना पूराका पूरा साथ पाएको छु । भोलि नेपाली कांग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ । ओलीले माघ ११ मा पाल्पाको तिनाउ गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ‘सरकार परिवर्तन हुन्छ भन्ने अर्थहीन’ कुरा भएको बताएका थिए । ‘सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्त्वहरूले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्छु, उनको भनाइ थियो । उता दाहालले ओली सरकार कमजोर गराउन दुई मोर्चाबन्दी गरेका छन् । संसद्मा रहेका माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादीसहित विपक्षी दललाई समेटेर संसद्मा मिल्ने सक्ने विषयमा सँगै जाने निर्णय गरिसकेका छन् ।

त्यस्तै सरकारलाई दबाब दिन माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी र संसद्बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टीको समाजवादी मोर्चाका गतिविधि तीव्र पारी सरकारविरुद्ध खनिएका छन् । यतिसम्म कि दाहालको पहलमा माघ ४ मा सात विपक्षी दलको बैठकमा उनले सरकारले राम्रो काम नगरेकाले राजीनामा दिनुपर्ने बताएका थिए । ‘नैतिकताका आधारमा कांग्रेस–एमाले गठबन्धन सरकारले राजीनामा दिनुपर्छ,’ उनको भनाइ थियो । विपक्षी दलले जारी गरेको विज्ञप्तिमा दुई दलीय निरंकुशता लाद्न खोजेको आरोप लगाइएको थियो । ‘कुनै पनि नाममा दुई दलीय तानाशाही लाद्ने परिकल्पना संविधानले गरेको छैन । तर, स्वेच्छाचारी र तानाशाही ढङ्गले सत्तामा टिकिराख्न र विपक्षी दलहरूलाई फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने पटक–पटकको कसरतले नेपाली जनताले विभिन्न संघर्षबाट प्राप्त गरेका ऐतिहासिक उपलब्धि खोसिनेसम्मको परिस्थिति देखा परिरहेको छ,’ विपक्षीको भनाइ थियो, ‘यो वा त्यो बहानामा निरङ्कुशता, स्वेच्छाचारिता र तानाशाही सिर्जना गर्ने सरकारका कदमको हामी विरोध गर्दछौं ।

दाहालले ओलीबाट आफूले ठूलो धोका पाएको आरोप लगाउँदै आएकाले अब विश्वास गर्न नसकिने पनि बताए । माघ १२ मा दाङको राप्ती गाउँपालिकाको आधारभूत अस्पतालको उद्घाट्न गर्दै सरकारमा जना हतार नभएको तर परिआए जिम्मेवारीबाट नभाग्ने पनि उनले बताएका थिए । ‘मलाई अहिले सरकार प्राप्तिको निम्ति कुनै हतारो छैन । उनीबाट असाध्यै नराम्रो धोका खाएँ मैले । धोकेबाजलाई विश्वास गर्न मन पनि छैन,’ उनले भने, ‘तर, अवस्था आयो भने जिम्मेवारीबाट भाग्ने कुरा गर्दिनँ ।’ माघे संक्रान्ति मनाउन सिन्धुपाल्चोकको सुकुटे पुगेका उनले सरकार आफैं ढल्ने दाबी गरेका थिए । ‘हामीले सरकार गिराउने, तुरुन्तै सरकारमा जाने साइत गरेका छैनौं । जनताको बीचमा संगठन सुदृढ गर्ने अभियानमा छौं,’ उनले भने, ‘यो सरकारबारे धेरै चिन्ता छैन, यो त ढलिनै हाल्छ । हामीले धेरै बल नै गर्नु पर्दैन । यसको आयु धेरै छैन । मैले आयु तोक्न सक्ने कुरा पनि होइन ।’ पुस तेस्रो साता सकिएको एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले सरकार ०८४ सम्मै टिक्ने दाबी गरेका थिए भने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा दाहालले सरकार आफ्नै कारणले ढल्ने प्रक्षेपण गरेका थिए । मंसिर ७ मा दरबारमार्गमा आयोजित पार्टीको जागरणसभामा ओलीले सहमतिअनुसार सरकार पूरा कार्यकाल टिक्ने दाबी गरेका थिए ।

म २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु र देउवालाई जिम्मा लगाउँछु । अब मैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउनुहुन्छ । यसमा कुनै भ्रम नराखे हुन्छ,’ उनले भनेका थिए । सामान्यतया सरकारले सय दिन पूरा गरेपछि विपक्षी दलले सरकारको आलोचना गर्ने प्रचलन भए पनि दाहालले ४० दिनमै ओली सरकारको चर्को आलोचना गरेका थिए । भदौ ११ मा प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले आफू सत्ताको खेलमा नलाग्ने भन्दै सरकारको चर्को आलोचना गरेका थिए । ‘प्रचण्ड अब सत्ताको खेलमा लाग्ने छैन, तपाईंहरूकहाँ सत्तामा हिस्सेदारी माग्न आउने छैन। माओवादी भनेको पार्टीभन्दा पनि आन्दोलन हो, सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन हो,’ उनले भनको थिए, ‘माओवादीको ध्यान अब सत्तामा छैन, तपाईंहरूको षड्यन्त्रको प्रतिरोधमा छ । आन्दोलनको पुनर्गठनमा छ ।

गठबन्धनमा खटपट भए पनि आफूलाई सरकारमा आइदिन आग्रह नगर्न उनको भनाइ थियो । ‘फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला,’ उनले संसदमा भनेका थिए । प्रमुख प्रतिपक्ष दलका नेता दाहालले सरकारले सय दिन पूरा गर्न निदिई विरोधमा उत्रिनु गैरसंसदीय मान्यता भएको एमालेको टिप्पणी छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्ताबाट बाहिरिने बित्तिकै दाहालमा छटपटी सुरु भएकाले सरकार नटिक्ने अभिव्यक्ति दोहोर्‍याएको बताए । सत्ताबाट बाहिरिंदाको छटपटीले प्रचण्डजीले सरकार टिक्दैन भनिरहनुभएको छ, उनले भने । सरकार फेरिने कुनै पनि आधार छैन । प्रचण्डजीलाई सरकार ढल्दैछ भन्दा कुनै बाह्य समर्थन प्राप्त हुन्छ कि भन्ने अपेक्षा होला । बाह्य कारणले सरकार ढल्ने होइन । सरकारबाट बाहिरिएपछि दाहालमा बेचैनी पैदा भएको ज्ञवालीको दाबी छ ।

उहाँलाई अस्तित्वको चिन्ता छ । सरकार लामो समय टिक्यो भने आफ्नो अवस्था के होला भन्ने डर छ, उनले भने । सरकारले राम्रो काम गर्न नसकेको र कमजोर धरातलमा उभिएको तर्क माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाको छ । सरकारका काम प्रभावकारी हु न सकेका छैनन् । सरकारले अध्यादेशको सहारा लिएर अघि बढ्न खोज्दैछ । छिमेकीसँग सन्तुलित सम्बन्ध हुन सकेको छैन, उनले भने, सरकारका काम–कारबाहीप्रति कांग्रेसभित्र असन्तुष्टि बढ्दो छ । सरकार कमजोर धरातलमा उभिएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रमुख प्रतिपक्षी दलले सरकार टिक्दैन भनेर समर्थकलाई आशा र हौसला दिइराख्ने नीति लिएको बताए ।

कांग्रेस र एमालेबीच राम्रो सहकार्य भइरहेको छ । सरकार ढल्ने कुनै आधार छैन : उनले भने । प्रचण्डले सरकार धेरै जाँदैन, धेरै नआत्तिनूस्, म शक्तिमा आइहाल्छु भन्ने आशयले कार्यकर्तालाई थुमथुम्याइरहेका हुन् । सरकार नफेरिँदासम्म दाहालले सरकारको आयु नापिरहने उनको भनाइ छ । सरकार केही हुँदैन । ०८४ सम्म जाने समझदारी छ : उनले भने । समस्या पनि केही छैन ।

प्रकाशित : माघ २०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष यादव ठगी मुद्दामा पक्राउ : JCNEPAL MEDIA

गँगासागरको डीलमा रामनारायण मिश्रको समाधीस्थल निर्माण कार्य रोक्का गर्न उच्च अदालतको अन्तरिम आदेश : JCNEPAL MEDIA

सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA

निर्मल निवासमा पूर्वराजासँग राप्रपा नेताहरूको `शुक्रबारे कचहरी´ : JCNEPAL MEDIA

राप्रपा प्रदर्शनमा घुसपैठ हुने डरले शिक्षकहरु बिहानै गरे आन्दोलन : JCNEPAL MEDIA

नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा सम्बन्धी बैठक सम्पन्न : भारतीय प्रम मोदी मधुवनी आउने JCNEPAL MEDIA