शिक्षक महासंघले बोलायो बैठक, आज दिउँसो सवा ३ बजे रत्नराज्य मावि बानेश्वरमा : JCNEPAL MEDIA

बैशाख ०६,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँगको वार्तापछि नेपाल शिक्षक महासंघले बैठक बोलाएको छ। महासंघका अध्यक्ष आज दिउँसो सवा ३ बजे रत्नराज्य मावि बानेश्वरमा बैठक बोलाएको लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

जारी आन्दोलनमा चासो देखाउँदै प्रधानमन्त्री ओली र सभामुख घिमिरेले शुक्रबार महासंघका प्रतिनिधिहरूलाई वार्ताका लागि बालुवाटार बोलाएर छलफल गरेका थिए। छलफलमा महासंघका अध्यक्ष सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए। आजको बैठकमा समसामयिक विषयमा महासंघको छलफल हुने उनको भनाई छ।

बैठकमा राष्ट्रिय समितिका सदस्यहरु, आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरू उपस्थित हुनेछन्। ‘हिजोको भेटमा हामीले दृढता र शिष्टतापूर्वक हाम्रा कुरा सम्प्रेषण गरेका छौं। समग्र परिस्थितिको मूल्याङकन गर्दा हामीले अझै आन्दोलनको मोर्चा डटीरहनु पर्ने अवस्था छ।’ सुवेदीले सामाजिक सञ्जालमा भनेका छन्,‘हामी एक दुई सानातिना मागहरुको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौं । विगतका सहमती सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो।

आजको विरोध सभामा हिजो भएको भेटबारे सबै कुरा साथीहरू बीच राखिने नै छ। परिस्थितिको समग्र मूल्यांकनका लागि तहगत छलफलहरु गरिनेछ।’ विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने मागसहित महासंघको आह्वानमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन भइरहेको छ। प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागहरूबारे गृहकार्य गर्न भन्दै चैत २५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई निर्देशन दिएका थिए । यसकै लागि सरकारले संघीय संसद्को अधिवेशन वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बोलाउने निर्णय गरेको छ । यसको उद्देश्य विद्यालय शिक्षा विधेयक पारित गर्नु हो । मन्त्रिपरिषद्को वैशाख २ गतेको बैठकले यो निर्णय गरेको हो ।

सरकारका तर्फबाट विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने प्रयास भइरहेको जनाइएको छ । शिक्षक आन्दोलनका कारण नयाँ भर्ना अभियान प्रभावित भएको छ । आन्दोलनरत शिक्षकहरूले आफ्ना माग पूरा नभए एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा बहिष्कार गर्ने चेतावनी दिइरहेका छन् । मन्त्रिपरिषद्ले वैशाख २ गतेको बैठकमा महासंघले उठाएका मागहरूको यथोचित सम्बोधनका लागि संवाद जारी रहेको, र अझै संवाद गर्न सरकार संवेदनशील तथा गम्भीर रहेको जनाउँदै, विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई मध्यनजर गर्दै आन्दोलन फिर्ता गरी शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गरेको छ । शिक्षकहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा शैक्षिक मूल्य, मान्यता तथा पेसाकर्मीहरूको हक, हित र संरक्षण सुनिश्चित हुनुपर्ने माग राखेका छन् । साथै, नेपालको संविधानअनुसार निःशुल्क र समावेशी शिक्षाको ग्यारेन्टी, सरकारसँग गरिएका विगतका सहमति कार्यान्वयनको सुनिश्चितता, र गुणस्तरीय शिक्षाका लागि पर्याप्त लगानी सुनिश्चित हुनुपर्ने मागसमेत अघि सारिएको छ ।

महासंघले स्थानीय तहमा शिक्षकको पेसागत हक, अधिकार र संरक्षण, संविधानले प्रत्याभूत गरेका ट्रेड युनियन अधिकारहरूको कार्यान्वयन, निजी तथा सामुदायिक विद्यालयका निजी शिक्षकलाई सार्वजनिक विद्यालय सरह सेवासुविधा र शिक्षा ऐन लागू हुनुअघि नियुक्त शिक्षकको पेन्सन साबिकको व्यवस्थाअनुसार कायम हुनुपर्ने माग राखेको छ । विद्यालय शिक्षा तीनै तहको सरकारको साझा जिम्मेवारीभित्र राखिनुपर्ने, विद्यालयमा कार्यरत सबै प्रकारका (राहत अनुदान शिक्षक, बाविके शिक्षक, विद्यालय कर्मचारी, साविक उमावि, प्राविधिक धारका शिक्षक, करार शिक्षक, संघीय तथा प्रदेश अनुदान शिक्षक आदि) पेसाकर्मीहरूको पूर्ण संरक्षण गरिनुपर्ने महासंघको धारणा छ । महासंघले शिक्षा ऐनमा नेपालका प्रचलित श्रम कानुनले दिएका ट्रेड युनियन अधिकार उपयोग गर्न पाउने व्यवस्था राख्नुपर्ने मागसमेत अघि सारेको छ । आन्दोलनरत शिक्षकहरूले शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्कने अडान लिएका छन् ।

प्रकाशित : बैशाख ६,२०८१          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने मन्त्रिपरिषद्को निर्णय : JCNEPAL MEDIA

वालेन र उपप्रमुख सुनिता डंगोलबाट वडा नं. ३२ को प्रशासनिक भवन शिलान्यास : JCNEPALMEDIA

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

जनकपुरमा एनएमए शाखाको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित : JCNEPALMEDIA

नोबेल अस्पतालनजिकका ७ वटा औषधि पसलमा तालाबन्दी : विराटनगर JCNEPALMEDIA

नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने : JCNEPALMEDIA