दाङमा बाल साहित्य सम्मेलन सम्पन्न JCNEPAL_MEDIA

मंशिर ९,२०८१/ जेसी नेपाल मिडिया

दाङ : बाल साहित्य कस्तो छ ? कस्तो हुनुपर्छ ? कस्तो लेखिनुपर्छ ? बालबालिकालाई साहित्य सिर्जनामा कसरी सामेल गराउने ? यिनै प्रश्नहरूको जवाफ खोज्दै घोराहीमा दुई दिनदेखि जारी २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन शनिबार सकिएको छ ।

बालबालिकाबारे लेखिएका साहित्य कत्तिको उपयोगी छन् ? बाल मनोविज्ञानबाट लेख्ने काम भएको छ कि छैन ? विद्यालयमा पुस्तकालयको अवस्था र पठन संस्कृति कस्तो छ ? बालबालिकालाई सिर्जनशील काममा जोड्न के कस्ता प्रयास भएका छन् भन्ने बारे बहस गर्दै पाँचबुँदे घोषणापत्र पनि पारित गरिएको छ । स्थानीय सरकारले साहित्य प्रवर्द्धनमा भूमिका खेल्नुपर्ने, विद्यालयले पुस्तकालयको प्रवर्द्धन गर्दै पठन संस्कृति विकास गर्नुपर्ने र स्थानीय भाषा, साहित्यको विकासमा सरोकारवाला जिम्मेवार हुनुपर्ने प्रस्ताव सम्मेलनबाट पारित भएको छ ।

साथै बालबालिकाको क्षमता विकासमा विद्यालय र अभिभावकले वातावरण निर्माण गर्नुपर्ने र स्थानीय तहलाई बालमैत्री घोषणा गरी बालबालिकाका लागि नतिजामूलक कार्यक्रम तय गर्नुपर्ने विषय घोषणापत्रमा समेटिएको छ । घोराहीस्थित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलमा सम्पन्न सम्मेलनमा राष्ट्रिय स्तरका ५० बढी साहित्यकारहरू सहभागी भई बालबालिका सम्बन्धित विविध विषयमा विचार विमर्श गरिएको आयोजक नेपाल बाल साहित्य समाजले जानकारी दिएको छ ।

सम्मेलनमा कृष्णराज सर्वहारीले ‘थारू भाषामा बाल साहित्यको अवस्था’ र सूर्य बीसीले ‘दाङको बाल साहित्यको रूपरेखा’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बाल साहित्य र पठन संस्कृति, बाल साहित्यको प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका, सामाजिक सञ्जालले बालबालिकामा पारेको प्रभाव, पुस्तकको भौतिक गुणस्तर र विद्यालयमा पुस्तकालयको भूमिकाबारे विज्ञहरूसँग बहस गरेको स्थानीय कार्यक्रम संयोजक तथा राप्ती साहित्य परिषद्का अध्यक्ष टीकाराम उदासीले बताए । यसका साथै विद्यालय नेतृत्वसँग विद्यालय व्यवस्थापनबारे अन्तरक्रिया गरिएको उनले जानकारी दिए ।

यसैगरी शिक्षक, अभिभावकसँग बालबालिकाको उचित हेरचाहबारे छलफल गर्नुका साथै बालबालिकालाई साहित्य लेखन, अभिनय, चित्रकला, नृत्यकला, कथावाचनलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । यसैगरी पुस्तक प्रदर्शनी, पुरस्कार वितरण, सम्मान र कला प्रस्तुति गरिएको बाल साहित्य समाजका केन्द्रीय अध्यक्ष प्रमोद प्रधानले बताए । कार्यक्रममा भाषाविद् प्राध्यापक चूडामणि बन्धुलाई सम्मान गरिएको थियो । सम्मेलनमा ४ सय ५० बालबालिकालाई सहभागी गराई साहित्य लेखनबारे सीप विकास गराएको स्थानीय आयोजक समितिका सदस्य सचिव सूर्य बीसीले बताए । कार्यक्रममा कथा, कविता र हस्तलेखन प्रतियोगितासमेत गरिएको थियो ।

प्रकाशित : मंशिर ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतको महाराष्ट्रमा मोदीको पार्टीले २३३ सिटमा जीते JCNEPAL_MEDIA

काठमाडौँमा तीन जना मृत्त भेटिए - JCNEPAL_MEDIA

प्रहरी निरीक्षक बिनुकुमारी शाही फरार -JCNEPAL_MEDIA

प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली सहित एनसीआर -JCNEPAL_MEDIA

बैंकको नगद लाभांश प्रस्ताव पारित : सानिमा JCNEPAL_MEDIA

बागमती प्रदेशका मुख्यमन्त्री द्वारा ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण