देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

साउन २४,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक तनावपछि जिल्लामा धार्मिक सद्भाव कायम गर्न सार्वजनिक स्थानमा राखिएका धार्मिक तथा साम्प्रदायिक पहिचान झल्किने झण्डा हटाउने सहमति भएको छ।

साथै सार्वजनिक स्थलमा उच्च ध्वनिमा डिजे तथा माइक बजाउने कार्यमा पनि कडाइ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको सबै धर्मका गुरु तथा प्रतिनिधिको बैठकले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सार्वजनिक शान्ति कायम गर्न विभिन्न निर्णय गरेको हो। सहमतिअनुसार मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा तथा निजी घरबाहेक सडक, चोक, सार्वजनिक स्थल र अन्य सार्वजनिक क्षेत्रमा राखिएका धार्मिक, जातीय वा साम्प्रदायिक पहिचान जनाउने झण्डा तथा ध्वजापताका हटाइनेछ।

यसअघि प्रशासनले जारी गरेको सार्वजनिक अपिललाई कार्यान्वयन गर्ने विषयमा पनि बैठकमा सहमति जुटेको हो। बैठकले सार्वजनिक स्थानमा सर्वसाधारणलाई असर पर्ने गरी डिजे, लाउडस्पिकर वा माइक प्रयोग गर्न नपाइने निर्णय गरेको छ। धार्मिक कार्यक्रम, प्रवचन, प्रार्थना, भजन वा अन्य धार्मिक गतिविधिमा समेत सरकारले तोकेको ध्वनि मापदण्डभित्र रहेर मात्रै ध्वनि उपकरण प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरिनेछ। प्रशासनका अनुसार अनुमति नलिई सार्वजनिक स्थानमा ध्वनि उपकरण सञ्चालन गर्न पाइने छैन।

सहमतिअनुसार सहरी क्षेत्रमा दिउँसो ५५ डेसिबल र राति ५० डेसिबल तथा ग्रामीण क्षेत्रमा दिउँसो ४५ डेसिबल र राति ४० डेसिबलभन्दा बढी ध्वनि उत्सर्जन गर्न नपाइने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। बैठकले हाल देखिएको साम्प्रदायिक मनमुटाव अन्त्य गर्न सबै धार्मिक समुदायले आफ्ना सदस्यलाई संयम अपनाउन, अफवाह फैलाउन नदिन र सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएको छ। विवाद समाधानका लागि संवाद र सहकार्यलाई निरन्तरता दिने सहमति समेत भएको छ। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते डिजे बजाउने विषयबाट सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत हुँदा तीन जनाको मृत्यु भएको थियो।

घटनाका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो भने केही व्यक्ति घाइते भएका थिए। घटनामा घाइते भएका देवानगञ्ज–४ का ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। त्यसपछि देवानगञ्ज–३ का ई–रिक्सा चालक जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा र गोडामा गोली लागेर घाइते भएका रविन्द्रकुमार मेहताको काठमाडौंमा उपचारकै क्रममा मृत्यु भएको थियो।

घटनापछि सरकार र पीडित परिवारबीच प्रत्येक मृतक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, परिवारका एक सदस्यलाई रोजगारी दिने तथा मृतकलाई सहिद घोषणा गर्ने सहमति भइसकेको छ। कोशी प्रदेश सरकारले पनि मृतकका परिवारलाई थप २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। साथै घाइते र आगजनीबाट प्रभावित परिवारलाई ५० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरिएको छ।

प्रशासन र धार्मिक समुदायबीच भएको पछिल्लो सहमति देवानगञ्ज घटनापछि देखिएको साम्प्रदायिक तनाव न्यूनीकरण गर्दै जिल्लामा दीर्घकालीन सामाजिक सद्भाव कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित : साउन २४,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेश सरकारले मन्त्रालयकाे संख्या घटाउदै ,१२ मन्त्रालयबाट ९ मा झार्ने तयारी : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA

२ किशोरीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा २ युवक पक्राउ : JCNEPALMEDIA

घट्यो सुनचाँदीको मूल्य ,सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको : JCNEPALMEDIA