टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

अशाेज २३,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : टिकटकमा सस्तो मूल्यमा साडी र सर्ट उपलब्ध गराउने विज्ञापन देखेर अनलाइन सामान अर्डर गरेका धनुषाका एक व्यक्तिको बैंक खाताबाट करिब दुई लाख रुपैयाँ चोरी भएको आरोपमा दुई जनाविरुद्ध जिल्ला अदालत धनुषामा ठगी मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाले महोत्तरीका २४ वर्षीय लभ चौधरी र रौतहटका २४ वर्षीय पारस चौधरीविरुद्ध ठगी कसुरमा अभियोगपत्र दायर गरेको हो । उनीहरूविरुद्ध धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा निवासी ५० वर्षीय लक्ष्मीनारायण मण्डलको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । अभियोगपत्रअनुसार मण्डलले टिकटकमा ‘नैना कलेक्सन’ नामक खाताबाट नेपालभर डेलिभरी हुने गरी १ हजार २०० रुपैयाँमा साडी र सर्ट उपलब्ध गराउने विज्ञापन देखेका थिए ।

विज्ञापनमा दिइएको ह्वाट्सएप नम्बरमा सम्पर्क गरेपछि आफूलाई प्रोप्राइटर बताउने व्यक्तिले सामान खरिदका लागि आधा रकम अग्रिम र बाँकी रकम सामान प्राप्त भएपछि भुक्तानी गर्नुपर्ने बताएका थिए । सोहीअनुसार मण्डलले सुरुमा ६०० रुपैयाँ पठाए । तर, रकम प्राप्त नभएको भन्दै पुनः ह्वाट्सएपमार्फत क्यूआर कोड पठाएर स्क्यान गर्न लगाइएको अभियोगपत्रमा उल्लेख छ ।

* चार मिनेटमै दुई पटक रकम कटौती

क्यूआर कोड स्क्यान गरेपछि मण्डलको सिद्धार्थ बैंक जनकपुरधाम शाखामा रहेको खाताबाट चार मिनेटको अन्तरमा दुई पटक ठूलो रकम कटौती भएको थियो । प्राविधिक विवरणअनुसार बिहान ११ः४८ बजे ९९ हजार ८६२ रुपैयाँ र ११ः५२ बजे ९९ हजार ८७२ रुपैयाँ १ पैसा खाताबाट निकालिएको थियो । यसरी क्यूआर कोडमार्फत १ लाख ९९ हजार ७३४ रुपैयाँ १ पैसा र सुरुमा पठाइएको ६०० रुपैयाँसहित कुल २ लाख ३३४ रुपैयाँ खाताबाट गुमेको अभियोगपत्रमा उल्लेख छ । रकम काटिएको सन्देश मोबाइलमा आएपछि मण्डलले सम्पर्क गर्दा पैसा फिर्ता गरिदिने आश्वासन दिइएको थियो । तर, अर्को दिन सम्पर्क गर्न खोज्दा सम्बन्धित फोन नम्बर र ह्वाट्सएप बन्द भइसकेका थिए ।

* बैंक खाताबाट इसेवासम्म रकम स्थानान्तरण

प्रहरी अनुसन्धान तथा बैंक कारोबार विवरणअनुसार मण्डलको खाताबाट अनधिकृत रूपमा निकालिएको रकम प्रतिवादी लभ चौधरीको नाममा रहेको प्रभु बैंकको खातामा स्थानान्तरण भएको पाइएको छ । त्यसपछि उक्त खाताबाट पारस चौधरीको इसेवा खातामा पटक–पटक गरी १ लाख ९२ हजार १७२ रुपैयाँ पठाइएको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा उल्लेख छ । बाँकी रकमसमेत अन्य खातामा स्थानान्तरण गरिएको बैंक तथा भुक्तानी सेवा प्रदायकका कारोबार विवरणमा देखिएको जनाइएको छ । पीडितले २०८२ असोज २२ गते निवेदन दिएपछि कारोबारसम्बन्धी विवरण सङ्कलन गरिएको थियो । त्यसपछि २०८३ वैशाख ८ गते औपचारिक जाहेरी दर्ता भएको थियो । अनुसन्धानका क्रममा सिद्धार्थ बैंक, प्रभु बैंक, इसेवा, नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र गरिमा विकास बैंकलगायतका संस्थाबाट खातासम्बन्धी विवरण, कारोबार विवरण तथा प्राविधिक प्रमाण सङ्कलन गरिएको थियो ।

* सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबानाको माग

जिल्ला सरकारी वकिल कार्यालय धनुषाले प्रतिवादीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अन्तर्गत ठगी कसुर गरेको आरोप लगाएको छ । उक्त कसुरमा दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था रहेको अभियोगपत्रमा उल्लेख छ । यसैगरी, संहिताको दफा २५४ बमोजिम ठगी भएको रकम पीडितलाई फिर्ता भराउनसमेत माग गरिएको छ । दुवै प्रतिवादी फरार रहेको जनाउँदै उनीहरूका नाममा कानुनबमोजिम म्याद जारी गरी मुद्दाको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयले अदालतसमक्ष माग गरेको छ ।

प्रकाशित : अशाेज २३, २०८३               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA

धनुषामा प्रहरीले गोली चलाएर लागुऔषधसहित एक युवकलाई गरे पक्राउ : JCNEPAL MEDIA