जनकपुर र भैरहवा एयर रूट दिन भारत सहमत, नेपालको अडान महेन्द्रनगरसम्म : JCNEPALMEDIA

मंसिर २, २०८३ / जेसी नेपाल संवाददाता

काठमाडौँ जनकपुर र भैरहवाबाट हवाई प्रवेश विन्दु (एयर रूट) दिन भारत तयार भए पनि नेपालले भने महेन्द्रनगरको एयर रूटका लागि जोड दिएको छ। यसमा भारत सहमति नजिक पुगेको सरकारी अधिकारीले बताएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा प्रतिष्ठाको विषय बनाएर नेपाली अधिकारीहरूले एयर रूटको विषयलाई प्राथमिकतामा राखेका छन्। त्यसका लागि भारतीय पक्षलाई मनाउन निरन्तर प्रयास भइरहेको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते भारतको राजकीय भ्रमणमा जाँदै छन्। नेपालले करिब १२ वर्षदेखि पश्चिमतर्फबाट काठमाडौंमा आउने अन्तर्राष्ट्रिय उडान महेन्द्रनगरको एयर रूटबाट प्रवेश पाउनुपर्ने माग गर्दै आएको छ। तर, भारतले भने सधैं यस विषय टार्दै आएको छ। यस पटक भने प्रधानमन्त्रीको भारत भ्रमणको मुख्य एजेन्डा नै एयर रूटलाई बनाइएको छ। यो विषयमा भारतीय पक्षसँग नेपाली अधिकारीहरू निरन्तर संवादमा छन्।

गत साता संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव एवं प्रशासन तथा योजना महाशाखाका प्रमुख जयनारायण आचार्य, परराष्ट्र मन्त्रलायका सहसचिव एवं दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी र नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल एयर रूटकै विषयमा छलफल गर्न नयाँ दिल्ली पुगेका थिए। मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेल (गनेस) पनि भारत पुगेका छन्। नेपालखबरले पश्चिमतर्फको एयर रूट प्राप्तिका विषयमा भइरहेको पहल र उपलब्धिबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, परराष्ट्र मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका अधिकारीसँग कुराकानी गरेको थियो।

उनीहरू हवाई रूट उपलब्ध गराउने विषयमा भारत निकै सकरात्मक देखिएको बताउँछन्। ‘एयर रूटको विषयमा निकै राम्रो प्रगति भइरहेको छ। एयर रूट नदिने मनस्थितिमा रहेको भारत अहिले दिने पक्षमा आएको छ,’ एयर रुटका विषयमा भएका छलफलबारे जानकार एक अधिकारी भन्छन्, ‘अल्टिट्युडको विषयमा छलफल भइरहेको छ। फ्लेक्जिबिलिटी बढेको छ। आशा गर्न सकिने ठाउँ बनेको छ।’ नयाँ दिल्ली पुगेका मन्त्री पौडेलले एयर रूटकै विषयमा द्विपक्षीय भेटवार्ता गरिरहेका छन्। ‘मन्त्रीज्यू निरन्तर भेटवार्तामा हुनुहुन्छ। एयर रुटका विषयमा धेरै कुरा मिलिसकेको छ। केही प्राविधिक विषयमा छलफल भइरहेको छ। यो पनि टुंगो लाग्छ भन्नेमा विश्वस्त छौं’, ती अधिकारीले नेपालखबरसँग भने। तर, भारतले भने पहिल्यैदेखि एयर रूटको विषय प्याकेजमा टुङ्ग्याउने प्रस्ताव गरिरहेको छ।

नेपालले महेन्द्रनगरको एयर रूट पाउँदा भारतले भने नेपालको पूर्वी सीमा नजिक पर्ने पश्चिम बंगाल राज्यको दार्जिलिङस्थित बागडोगरा विमानस्थल र विहार राज्यको रक्सौलस्थित विमानस्थलमा उडान गर्न नेपाली आकाश दिनुपर्ने गरी प्याकेजको कुरा गर्दै आएको छ। नेपालले भने एयर रूटको विषयमा प्याकेजमा छलफल गर्न तयार नभएको सन्देश भारतलाई दिएको छ। ‘हामीले एयर रुटको विषयमा प्याकेजमा छलफल गर्न सक्दैनौं भनेर स्पष्ट रुपमा भनेका छौं। प्याकेजमा सम्भव नै छैन’, ती अधिकारीले भने। बागडोगरा विमानस्थल प्रयोगको विषयमा भने प्राविधिक सम्भाव्यता हेर्न सकिने ती अधिकारीले बताए। ‘बागडोगराबाट व्यावसायिक उडान गर्न दिन सकिन्छ भनेर प्राविधिकहरूले पनि भनेका छन्। त्यसमा हामीलाई समस्या छैन।

एउटै कुरा सैन्य उडान त्यहाँबाट हुनुभएन भन्ने कुरा हो’ उनले भने। नेपालको आकाश प्रयोग गरेबापत आर्थिक लाभ लिन सकिने भएकाले पनि यसलाई अवसरका रूपमा हेरिएको उनीहरू बताउँछन्। बागडोगराबाट हुने उडान चिनियाँ सीमा नजिक पर्ने भएकाले कूटनीतिक रुपमा चीनले चासो राख्न सक्ने विषयमा पनि सरकारी अधिकारीहरूले छलफल गरेका थिए। तर, व्यावसायिक उडान मात्रै हुने र चिनियाँ आकाश प्रयोग नहुने हुँदा ठूलो ‘अब्जेक्सन’ नआउला भन्ने आकलन नेपाली अधिकारीको रहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अधिकारीहरू बताउँछन्। नेपालको आकाशहुँदै व्यावसायिक उडान सञ्चालन गर्दा आन्तरिक हवाई उडान तथा चन्द्रगढी विमानस्थलको सञ्चालनमा कुनै अवरोध नहुने गरी व्यवस्था गर्नुपर्नेमा पनि नेपालको चासो रहेको छ। यस विषयमा प्राविधिक रूपमा समस्या नहुने देखिएको उनीहरूको भनाइ छ।

‘आन्तरिक हवाई उडानमा चन्द्रगढी विमानस्थललाई डिस्टर्ब नहुने गरी कमर्सियल फ्लाइट गर्न त्यो घाटा हुँदैन, भन्ने छ,’ एक अधिकारीले भने। भारतीय पक्ष जनकपुर र भैरहवाबाट हवाई प्रवेशविन्दु दिन अहिले नै सहमत भए पनि नेपालले भने महेन्द्रनगर नै पाउनुपर्ने दाबी नछाडेको अधिकारीहरू बताउँछन्। ‘जनकपुर र भैरहवाको रुट दिन उनीहरू तयार भइसकेका छन्। तर, हामीले महेन्द्रनगर नै चाहिन्छ भन्ने अडान राखेका छौं,’ भारतसँग लबिङमा सहभागी एक अधिकारीले भने, ‘महेन्द्रनगरबाट एयर रुट पाउँदा पश्चिम नेपालको सीमानादेखिको नेपाली आकाश प्रयोग गर्न पाइने भएकाले महेन्द्रनगरलाई जोड दिएका हौं।’ नेपाल र भारतबीच हवाई रुटका विषयमा यसअघि पनि पटक-पटक छलफल हुँदै आएको छ। यसअघिका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा पनि यी विषयमा छलफल हुने गरेका थिए।

‘हामीलाई चाहिएको महेन्द्रनगर हिट रुट हो। जो पश्चिमबाट आउने फ्लाइट र हाम्रो ओभरअल नेपालको स्काई हामीले प्रयोग पनि गर्न पायौं भने ट्रान्स एअर रुटले प्रयोग हुन्छ, जसले गर्दा एभिएसनबाट पनि कमाउन सक्छौ’, ती अधिकारीले भने। अहिले पश्चितर्फबाट आउने अन्तर्राष्ट्रिय उडान सीमरा हुँदै नेपाल प्रवेश गर्छन्। भारतले थप हवाई प्रवेश मार्ग उपलब्ध नगराउँदा नेपालको अन्तर्राष्ट्रिय हवाई उडान अहिले एउटै प्रवेश विन्दुमा निर्भर छ। नेपाल भित्रिने सबै जहाज र नेपालबाट बाहिरिने केही जहाजले सिमराको रुट प्रयोग गर्ने हुँदा हवाई ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण हुने गरेको छ। पश्चिमी मुलुक र मध्यपूर्वबाट आउने जहाज महेन्द्रनगरबाट सिधा प्रवेश गर्न नपाउँदा घुमेर सिमरा हुँदै नेपाल प्रवेश गर्नुपर्ने बाध्यता छ। यसले उडान समय २५ मिनेटभन्दा बढी लम्ब्याउने र इन्धन खर्चसमेत बढाउने गरेको छ।

अन्तर्राष्ट्रिय उडानका जहाज महेन्द्रनगरबाट नेपाल प्रवेश गर्न पाउँदा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान सहज रुपमा व्यवस्थापन गर्न सकिने नागरिक उडड्यन प्राधिकरणका अधिकारीहरू बताउँछन्। गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाज पनि सिमरा हुँदै घुमेर जानुपर्ने हुँदा उडान समय थप २० देखि २५ मिनेट लम्बिन्छ। त्यसले गर्दा पनि विदेशी वायुसेवा कम्पनीहरू गौतमबुद्ध र पोखरा विमानस्थलमा उडान विस्तारको लागि अनिच्छुक रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन्।

प्रकाशित: मंसिर २, २०८३                         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनौजी प्रिमियर लिगको उपाधि जिते महुलियाटीम :JCNEPALMEDIA

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, सत्ता जोगाउने ठूलाे चुनौती : JCNEPALMEDIA

बालेनको भारत भ्रमणमा पञ्चेश्वरबाँधबारे छलफल हुने भारतीय मन्त्रीको दाबी : JCNEPALMEDIA

छठ पर्वका ब्रतालुलाई साडी वितरण, १५० भन्दा बढी महिलालाई सम्मान : JCNEPALMEDIA

जनकपुरका विभिन्न चाैकमा जडान भएको ट्राफिक लाइट विग्रिएकाे अबस्था,मधेसका डिआइजी बाट सुचारु हुने प्रतिबधा : JCNEPALMEDIA

शंकास्पद बिलबिजकसहित १३ हजार ९० किलो जिंकएश लोड गरिएको ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा : JCNEPALMEDIA