निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

कार्तिक १२,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : अमेरिकी मध्यावधि निर्वाचन आउन ठीक एक साता बाँकी रहँदा अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याटिक सांसदहरूले जेफ्री एपस्टिनसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्धबारे छानबिन गरी एक प्रतिवेदन सार्वजनिक गरेका छन्।

उक्त प्रतिवेदनमा पूर्व मिस स्विट्जरल्यान्ड तथा पूर्व मोडल बीट्रिस कुलले सन् १९९३ मा न्युयोर्कस्थित प्लाजा होटलमा ट्रम्पले आफूमाथि जबर्जस्ती बलात्कार गरेको गम्भीर आरोप लगाएकी छन्। हाउस जुडिसियरी कमिटीले तयार पारेको यस प्रतिवेदनमा बीट्रिस कुलका साथै अन्य चार महिलाहरूले ट्रम्पमाथि लगाएका यौन हिंसा र दुर्व्यवहारका पुराना तथा नयाँ आरोपहरूलाई समेत समावेश गरिएको छ।

मध्यावधि निर्वाचनको सङ्घारमा सार्वजनिक भएको यो प्रतिवेदनले अमेरिकी राजनीतिमा नयाँ तरङ्ग र राजनीतिक विवाद सिर्जना गरिदिएको छ। सुन्दरी प्रतियोगिताकी पूर्व प्रतिस्पर्धी २४ वर्षीया बीट्रिस कुल स्विट्जरल्यान्डको जुरिखबाट न्युयोर्कमा आयोजित ‘अमेरिकन ड्रीम पेजेन्ट’ मा सहभागी हुन आएकी थिइन्। उक्त प्रतियोगिता ट्रम्पको साझेदारीमा आयोजना गरिएको थियो र म्यानहटनस्थित प्लाजा होटल पनि त्यतिबेला ट्रम्पकै स्वामित्वमा थियो।

संसदीय समितिसमक्ष कुलले दिएको बयान अनुसार, प्रतियोगिताका क्रममा आयोजित दिवाभोजमा उनको ट्रम्पसँग १५ मिनेट कुराकानी भएको थियो। ट्रम्पले उनलाई अमेरिकी भिसा मिलाइदिने र न्युयोर्क युनिभर्सिटीमा भर्ना गराउन मद्दत गर्ने आश्वासन दिएका थिए। ट्रम्प हिँडेपछि एपस्टिनले उनीकहाँ आएर आफू ट्रम्पको उत्तम मित्र भएको परिचय दिँदै पाम बीचस्थित मार-अ-लागोमा हुने पार्टीहरूमा आमन्त्रण गरेका थिए। सोही दिन पछि ट्रम्पका एक प्रतिनिधिले कुललाई ट्रम्पको सुइटमा बोलाए। आफ्नो करियर र शिक्षाका लागि यो राम्रो अवसर हुने ठानेर उनी माथि गइन्।

तर, कोठामा प्रवेश गर्नासाथ ट्रम्पले उनलाई पछाडिबाट समातेर जबर्जस्ती बलात्कार गरे। यस क्रममा उनको पोशाक फाटिएको थियो भने शरीरका विभिन्न भागमा चोट लागेर रक्तस्राव भएको थियो। बलात्कारपछि ट्रम्पले ओछ्यानमा बसेर पुनः भिसा र पढाइमा मद्दत गर्ने आश्वासन दोहोर्‍याउँदै ‘द शो मस्ट गो अन’ भनेका थिए। राहदानी खोसिएका कारण उनले प्रतियोगिता पूरा गरेर मात्र स्विट्जरल्यान्ड फर्किन पाएकी थिइन्। त्यसपछि उनले हवाईमा आयोजना गरिएको ट्रम्पको अर्को कार्यक्रम र पछि फोनमा गरिएको भिसाको प्रस्तावलाई अस्वीकार गरिदिइन्।

यसअघि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनभन्दा एक साताअघि कुलले ‘द डेली मेल’ सँग कुरा गर्दै ट्रम्पले आफूलाई जबर्जस्ती चुम्बन गरेको र कपडा फुकाल्ने प्रयास गरेको आरोप लगाएकी थिइन्। तर, अहिले संसदीय समितिसमक्ष उनले उक्त घटना जबर्जस्ती बलात्कार नै भएको स्पष्ट पारेकी छन्। डेमोक्र्याटहरूले जारी गरेको प्रतिवेदनमा अन्य चार जना महिलाहरूले ट्रम्प र एपस्टिनमाथि लगाएका यौन दुर्व्यवहारका मामलाहरूलाई पनि सङ्ग्रहित गरिएको छ ।

पूर्व स्पोर्ट्स इलस्ट्रेटेड मोडल स्टेसी विलियम्सले सन् १९९३ मा ट्रम्प टावरमा आयोजित एक कार्यक्रममा एपस्टिनकै अगाडि ट्रम्पले आफूलाई अनुचित ढङ्गले छोएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। त्यस्तै विजनेसवुमन जिल हार्थाले सन् १९९० को दशकको मध्यतिर मार-अ-लागोमा आयोजित एक पार्टीमा ट्रम्पले आफूमाथि यौन हमला र बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन्, जसबारे उनले सन् १९९७ मा मुद्दा हालेर पछि फिर्ता लिएकी थिइन्।

अर्की एक युवतीले पनि सन् १९९४ मा आफू १३ वर्षको छँदा ट्रम्प र एपस्टिनले मिलेर बलात्कार गरेको दाबी गर्दै उनले एफबीआई समक्ष विस्तृत बयान दिएकी थिइन् भने अर्की एक युवतीले अल्पवयस्क छँदा १४ वर्षको उमेरमा एपस्टिनले ट्रम्पसँग भेट गराएको र ट्रम्पले यौन शोषण गरेको भन्दै उनले पनि एफबीआईलाई जानकारी गराएकी थिइन्। त्यसैगरी सन् २०१९ मा पूर्व पत्रकार ई जीन क्यारोलले पनि सन् १९९० को दशकमा ट्रम्पले न्युयोर्कको डिपार्टमेन्टल स्टोरमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । जसमा सन् २०२३ मा सिभिल जुरीले ट्रम्पलाई यौन दुर्व्यवहारका लागि दोषी ठहर गर्दै क्षतिपूर्ति तिराएको थियो। यसैबीच, ह्वाइट हाउस र राष्ट्रपति ट्रम्पको प्रचार टोलीले प्रतिवेदनमााइएका सम्पूर्ण आरोपहरूलाई पूर्ण रूपमा निराधार र झुटा भन्दै खण्डन गरेका छन्। ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले जारी गरेको विज्ञप्तिमा यी आरोपहरूमध्ये कुनै पनि सत्य नभएको बताएकी छिन् ।

राष्ट्रपति ट्रम्पको ऐतिहासिक उपलब्धिहरूका कारण रिपब्लिकन पार्टीको पक्षमा जनलहर बढ्दै गएपछि डेमोक्र्याटहरू अत्तालिएको बताएकी छिन् । विज्ञप्तिमा भनिएको छ–‘राष्ट्रपति ट्रम्पले जेफ्री एपस्टिनलाई उनको गलत हर्कतकै कारण उतिबेलै मार(अ(लागो क्लबबाट निकालिसक्नुभएको थियो र एपस्टिनसँग जोडिएका कुनै पनि मामिलामा राष्ट्रपतिलाई पूर्ण रूपमा सफाइ दिइसकिएको छ ।’ यसअघि ट्रम्पकी प्रेस सचिव क्यारोलिन लिभिटले पनि बीट्रिस कुलको आरोपलाई फजुल भन्दै यस्ता झुटा दाबीहरूले वास्तविक पीडित महिलाहरूको अपमान गर्ने टिप्पणी गरेकी थिइन्। - एजेन्सीको सहयोगमा

प्रकाशित : कार्तिक १२,२०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA

मोदी सत्तामाथि प्रश्न : तीन अनुहार, तीन शैली JCNEPALMEDIA

धनुषामा झिझिया हेर्न गएकी १७ वर्षीया राखीको लास पोखरीमा भेटियो, हत्याकाे आशंका : JCNEPAL MEDIA