धनुषाको सखुवा बजार जुवा खेल्ने स्थलमा एसपी तिवारीको छापामारी,१० लाख बरामद

कार्तिक १८,२०८१ / जेसी नेपाल संवाददाता

धनुषाको सखुवा बजार जुवा खेल्ने स्थलमा धनुषा प्रहरीले छापामारी गरेपछि १० लाख नगदसहित ३९ जना जुवाडे पक्राउ परेका छन् ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा बजारस्थित धर्मशालामा जुवा खेलिरहेका ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीको निर्देशनमा शनिबार राति १ बजे प्रहरी निरीक्षकको टोलीले जुवाखालमा छापा मारेको थियो ।

प्रहरीले धनुषाको बिभिन्न स्थानका लगायत उदयपुर, रौतहट जिल्लाका जुवाडेहरुलाई पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा बजारको बाख्रा बाजार लाग्ने स्थानमा रहेको धर्मशालाको पहिलो तल्लामा जुवा खेलाइने गरिएको थियो ।त्यसका लागि धर्मशाला सञ्चालकहरुले समेत कमिसन लिने गरेको स्रोतले जनाएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक (इन्सपेक्टर) सोनी साहको संरक्षणमा केहि समयदेखि निरन्तर जुवा खेलाइने गरिएको थियो ।

स्रोतका अनुसार जुवा खेल्ने हरेक दिनको ८० हजार रुपैया इन्सपेक्टर साहले लिने गरेको हो । जुवा खेलाउने मुख्य अभियुक्त किसोरी साह विगतमा समेत जुवा खेलाउने अभियोगमा कयौं पटक पक्राउ परेर छुटेका हुन् । मिथिला बिहारी नगरपालिकाको तारापट्टी बस्ने किसोरी साह जुवा अड्डा सञ्चालन गर्ने कुख्यात रहेको प्रहरीले जनाएको छ ।

तारापट्टी थानाले किसोरी साहलाई जुवा खेलाउने सहमती नदिएपछि उनले ८० हजारमा इन्सपेक्टर सोनी साहलाई प्रभावमा लिएको स्रोतले जनाएको छ ।जुवा खालमा प्रहरीको अघोषित सुरक्षा रहेको थियो । पक्राउ पर्नेहरुमा जुवा खेलाउने किसोरी साह लगायत जुवा खेल्न रौतहटबाट नियमित आउने गरेका जबिरा शाह, उदयपुरका रामरतन कापड, धनुषाका वंशराज नदाफ, बिलटु राइन मिया लगायत ३९ जना रहेका छन् ।

एसपी तिवारीले जुवाखालबाट ९ लाख ७३ हजार ८ सय ७३ नगद बरामद भएको पुष्टि गरेका छन् । जुवा खेलाउन प्रयोग गरिने कौडा र तास समेत बरामद भएको छ । प्रहरीका अनुसार जुवाखालबाट २ गड्डी तास, फलवार प्रिन्ट भएको तास ३ थान, २४ पिस कौडा, सानो ठूलो ३६ थान मोबाइल बरामद भएको छ । विशेष सुराकको आधारमा एसपी तिवारी स्वयंले छापा मारेका हुन् । इन्सपेक्टर साहले छापामारी हुनु अगाडी सुइको समेत पाएका थिएनन् ।जुवामा पक्राउ परेकाहरुलाई मुद्दा चलाइने छ ।धनुषामा पहिलो पटक यतिको संख्यामा जुवाडेहरुलाई पक्राउ गरिएको हो । विगतमा किसोरी साह पक्राउ परेपनि जुवाडेहरुको संख्या दर्जन भन्दापनि कम रहने गरेको थियो ।

पटक-पटक पक्राउ पर्ने र लेनदेनमा छुट्ने गरेका किसोरी साहलाई जुवा खेलाउन संरक्षण दिएका इन्सपेक्टर सोनी साहले सखुवा महेन्द्रनगर इलाकामा महिला सहितको आर्केष्ट्र नचाउन समेत छुट दिएका छन् ।जिल्ला प्रहरी कार्यालयले जिल्लामा महिला सहितको आर्केष्ट्र नचाउन रोक लगाएको छ ।तर साहले आफ्नो इलाकामा आरकेष्ट्रा नचाउने अनुमति दिन रकम लिने गरेको आरोप लागेको छ ।

प्रकाशित : कार्तिक १८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA