विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ अविरल घिमिरे सम्मानित : JCNEPAL MEDIA

मंशिर १५,२०८१ / जेसी नेपाल संवाददाता

किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका नेपाली युवा किक बक्सर अविरल घिमिरे‘हिमचितुवा’ सम्मानित हुनुभएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र छामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महजर्ननले हिट किक बक्सिङ (एमएमए)द्वारा आज आयोजित कार्यक्रममा इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता घिमिरेलाई विशेष सम्मान गर्नुभएको हो ।

बक्सर घिमिरेले किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाई विश्वमा नयाँ ‘रेकर्ड’ कायम गरेको जनाउँदै शुक्रबार धनबहादुर खेलकुद प्रतिष्ठानले अभिनन्दन गरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका उहाँ आफ्नो परिवारका साथ हाल जापानको नागोया सहरमा बसोबास गर्दै आउनुभएको छ । करिब छ वर्षपछि यही मङ्सिर ६ गते नेपाल आउनुभएका विश्वविजेता खेलाडी घिमिरेलाई चन्द्रागिरि नगरपालिकाले सोही दिन नगरपरिक्रमा गराई अभिनन्दन गरेको थियो । नगरपालिकाले कलङ्की (खड्कुलेपुल)देखि धिमे, पञ्चेबाजासहित विश्वविजेता खेलाडी घिमिरेलाई गाडीमा राखेर नगरपरिक्रमा गराएको थियो ।

सो अवसरमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, प्रशासकीय अधिकृत हेमराज अर्याल, उपप्रमुख बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गीले बक्सर घिमिरेलाई अभिनन्दन गर्नुभएको थियो । स्वदेश आउँदा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, मदनभण्डारी स्पोर्ट एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य रमा आले, चन्द्रागिरि नगरपालिकाका प्रवक्ता खड्गी, काठमाडौ जिल्ला खेलकूद परिषद्का अध्यक्ष भाइकृष्ण बलामीलगायत खेलाडीले स्वागत गर्नुभएको थियो । ‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० गते आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का) प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बन्नुभएको थियो ।

यो प्रतियोगितामा उहाँले फ्रान्सका कडा प्रतिद्वन्द्वी एन्टोनिन मार्काेनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल हुनुभएको थियो । यसका लागि बक्सर घिमिरेले आफ्नै खर्चमा थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण लिनुभएको थियो । यो प्रशिक्षण लिने उहाँ पहिलो नेपाली बक्सरसमेत हुनुभएको थियो । इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसल प्रदान गर्नुहुने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिनुभएको थियो । ‘हिमालय चितुवा’ का रूपमा विश्व प्रसिद्ध हुनुभएका घिमिरे सो प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुनभएको थियो ।

प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर ‘इन्टरनेसनल किक बक्सिङ’को उपाधि चुम्नुभएको थियो । हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक हिट प्रतियोगिताको ‘टाइटल म्याच’को उपाधि (बेल्ट) समेत रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल हुनुभएको थियो । उहाँले विश्वप्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई ‘नक आउट’ गर्न सफल हुनुभएको थियो ।

हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसक्नुभएका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल हुनुभएको छ । जापानको नागोया सहरमा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको छ । कराते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ ।

प्रकाशित : मंशिर १५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA