फरार श्रीमतीको बिदा थप्न लेखा समिति सभापतिद्वारा विद्यालयलाई दबाब : महेन्द्र रात्रि मा.वि.-JCNEPAL MEDIA

पुस १०,२०८१/ जेसी नेपाल संवाददाता

विराटनगर : उमा–गौरी कृषि सहकारीको बचत ठगी मुद्दाकी फरार अभियुक्त अञ्जला कोइरालाको उनले पढाउँदै आएको विद्यालयमा बिदा थप्न संसद्को सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका श्रीमान् ऋषिकेश पोखरेलले दबाब दिएका छन् ।

अदालतले पक्राउपुर्जी जारी गर्नुअघि देखि ‘फरार’ रहेकी उक्त सहकारीकी पूर्व सञ्चालक कोइरालासहित २६ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगोबमोजिम जरिवाना गरी ६ देखि ८ वर्षसम्म कैदसजाय माग गर्दै मुद्दा दायर गरेको छ । वर्गीकृत विज्ञापन अञ्जला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन् । ‘सभापति पोखरेलज्यूले इमेल पत्र पठाउनुभएको छ, त्यसमा अनिश्चितकालीन बिरामी बिदा स्वीकृतिको माग गरिएको छ,’ प्रधानाध्यापक झङ्कप्रसाद पराजुलीले कान्तिपुरसँग भने, ‘उहाँले फोन गरेर पत्र प्राप्त भए/नभएको बारेसमेत बुझ्नुभयो ।

आइतबारदेखि लागू हुने गरी अनिश्चितकालीन बिदा मागसहितको पत्र इमेलमार्फत पठाइएको पराजुलीको दाबी छ । विद्यालयले उनको बिदा स्वीकृत भने गरिनसकेको पराजुलीले बताएका छन् । उमा–गौरी कृषि सहकारी संस्थाको बचत ठगीमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मंसिर २७ मा अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसै दिनदेखि फरार अभियुक्तका रूपमा रहेकी उनी मुद्दा दायरपछि पनि केही दिन विद्यालयमा उपस्थित थिइन् । उनीसहित थप १६ जनाविरुद्ध मोरङ जिल्ला अदालतले पुस २ मा पक्राउपुर्जी जारी गरेको थियो । पक्राउपुर्जी जारी हुनु अघिल्लो दिनदेखि पाँच दिनको बिदा स्वीकृत गरी बसेकी थिइन् । विद्यालयले मंसिर २८ मा आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड कार्यक्रममा पनि उनी उपस्थित थिइन् ।

लेखा समिति सभापति पोखरेलले भने विद्यालयमा पत्र पठाएको बारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । पत्र पठाएको पुष्टि प्रधानाध्यापकले नै गरेको प्रश्नमा सभापति पोखरेलले भने, ‘जसले जे भने पनि भयो ? क–कसले के–के कथा बनाउनुहुन्छ, सबै कथाको उत्तर कसरी दिने मैले ? उमा–गौरी सहकारी ठगीमा तत्कालीन सञ्चालक तथा पदाधिकारी अञ्जला कोइरालाका साथै रोशन राजवंशी, शम्भुप्रसाद रौनियार, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जितमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, उपासी राजवंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बास्कोटा, सुमन लोहनी, मित्रप्रसाद शिवाकोटी, शरदराज सिंह, मो. नसरुदिन, मनोजकुमार सोनी, यशोदाकुमारी राजवंशीलाई बिगोबमोजिम जरिवाना र कैदसजाय माग गरिएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा कात्तिक १४ मा सहकारी कार्यालयको ताला फोडेर प्रमाण संकलन गरेको थियो । त्यसयता कार्यालय बन्द छ । संसद्को सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा सांसदहरूले सभापति पोखरेलको राजीनामा माग गरेका थिए । तर पोखरेलले कानुनलाई सहयोग गर्ने बताउँदै विषयान्तर गरेका थिए । सहकारी ठगीमा श्रीमती फरार रहेको स्विकारेका पोखरेलले भनेका थिए, ‘मेरी श्रीमती फरार छिन्, कानुनी प्रक्रियाका लागि म तयार छु ।’ फरार श्रीमतीलाई विद्यालयमा बिदा मागसहितको पत्र पठाएपछि पोखरेलको भूमिकामाथि थप प्रश्न उठेको सहकारीपीडितको भनाइ छ । माओवादी कोशी संसदीय दलले पनि गत बिहीबार सभापति पोखरेलको राजीनामा माग गरेको थियो ।

उमा–गौरी कृषि सहकारीले नबिल बैंक र आरएसडीसी लघुवित्तबाट २४ करोड रुपैयाँभन्दा बढी ऋण लिएको थियो । ऋणीका नाममा धितो राखेर लिएको कर्जाको आधा रकम सम्बन्धित व्यक्तिलाई नदिई सञ्चालकले हिनामिना गरेको देखिएको छ । २०७२ देखि २०७८ सम्म सञ्चालक समिति सदस्य रहेकी कोइरालासमेतको हस्ताक्षरबाट सहकारीले कर्जा लिएको प्रमाण अभियोगपत्रमा समावेश छ । नबिल बैंकमा धितो राखेर लिएको ऋण फिर्ता गर्न नसक्दा सहकारीका करिब ५ हजार सेयर सदस्य पीडित छन् । २०६८ मा स्थापित उमा गौरी कृषि सहकारीमा अञ्जला दुई कार्यकाल सदस्य थिइन् । उनले २०७८ माघ ५ मा सहकारीबाट राजीनामा दिएको बताएकी छन् । आरएसडीसीबाट उक्त सहकारीले ऋण लिन निर्णय गर्दा ‘माइन्युट’ मा अञ्जलाको पनि हस्ताक्षर छ । आरएसडीसीले उच्च अदालत विराटनगरमा उपलब्ध गराएको कागजातअनुसार ०७७ पुस २९ मा थप ३ करोड रुपैयाँ कर्जा माग गर्ने सहकारीको निर्णयमा पनि अञ्जलाको हस्ताक्षर छ ।

‘माइन्युट’ मा उल्लेख विवरणअनुसार सहकारीले ०७७ पुस २९ अगावै लघुवित्तबाट ४ करोड २५ लाख कर्जा लिई कारोबार गरिरहेको र लगानी विस्तार गर्न थप ३ करोड कर्जा माग गर्ने निर्णय भएको थियो । उक्त लघुवित्तबाट प्राप्त हुने कर्जा सहकारीका नाममा नबिल बैंकको विराटनगर शाखामा रहेको खातामा जम्मा गर्न आग्रह गर्ने पनि ‘माइन्युट’ मा उल्लेख छ । कर्जा लिने विषयमा भएका तीनवटै बैठकमा संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आलम अन्सारी मियाँ तथा सञ्चालकहरू अञ्जला कोइराला, आमोद मण्डल र रोशन राजवंशी उपस्थित थिए ।

उमा–गौरी सहकारीले ०७७ असोज २८, ०७७ फागुन १३ र ०७८ असार २४ मा लघुवित्तबाट ऋण लिएको र अञ्जलाले सहकारीको सञ्चालक समिति पदाधिकारीका हैसियतमा सामूहिक/व्यक्तिगत धनजमानी दिएको आरएसडीसीको दाबी छ । सहकारीले समयमा ऋण चुक्ता नगरेको कारण देखाउँदै अञ्जलासहितका तत्कालीन सञ्चालक समितिका पदाधिकारीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिएको थियो । आरएसडीसीले उमा–गौरी सहकारीका नाममा ०७९ कात्तिक १६ मा निकालेको कर्जा चुक्तासम्बन्धी सूचनामा अन्य सञ्चालकसँगै अञ्जलाको पनि नाम र तस्बिर छापिएको थियो ।

प्रकाशित : पुस १०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA

पूर्वसभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला : बालकोट JCNEPAL MEDIA

सर्लाहीकाे मलंगवामा भन्सार गाडीमाथि महिला तस्करको आक्रमण :JCNEPAL MEDIA

नेकपा एमाले धनुषा अधिवेशनमा जुली- रघुवीर गुट हावी,अध्यक्षमा भोला यादव पुरै प्यानलसहित विजयी : JCNEPAL MEDIA