डाेनल्डट्रम्पको \'कारोबारी\' विदेश नीतिले नेपालमा पार्न सक्ने प्रभाव-JCNEPAL MEDIA

माघ ७,२०८१ / जेसी नेपाल मिडिया

अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि शपथग्रहण गर्न लाग्दा 'कारोबारी प्रकृतिको' उनको विदेश नीतिका विभिन्न असर नेपालसम्म आइपुग्न सक्ने परराष्ट्र र आर्थिक मामिलाका विज्ञहरूले बताएका छन्।

पदभार ग्रहण गर्नुअगावै विभिन्न देशहरूमाथि कर लगाउने र आप्रवासनसहितका क्षेत्रमा कडा नीति ल्याउने घोषणा गरेका ट्रम्पको यो कार्यकालमा लेनदेनमा आधारित विश्वव्यवस्था फस्टाउने कतिपयले विश्लेषण गरिरहेका छन्। अन्तर्राष्ट्रिय मामिलासम्बन्धी एउटा अखबार 'फरन पोलिसी'को अनलाइन संस्करणमा प्रकाशित एउटा लेखमा प्रभावशाली देश र कम्पनीलाई ट्रम्पको शासनकालमा लाभ पुग्न सक्ने तर अरूलाई खासै फाइदा नहुने विश्लेषण गरिएको छ। परराष्ट्र मामिलाका कतिपय जानकारहरू भने भारत र चीनबीच अवस्थित नेपाल भूराजनीतिक कारणले अमेरिकी 'रडार' मा परिरहने भए पनि दुईपक्षीय सम्बन्धमा धेरै फेरबदल देखा नपर्ने आकलन गरिरहेका छन्।

* दुइपक्षीय सम्बन्धमा कस्तो परिवर्तन देखा पर्न सक्छ?

ट्रम्पको पहिलो कार्यकालमा नै नेपाल र अमेरिकाबीच 'मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट'मा हस्ताक्षर भएको थियो। यसअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर (६९ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी) अनुदानमा उपलब्ध गराइरहेको छ। भारत जोड्ने विद्युत् प्रसारण लाइन र सडक सञ्जाल स्तरोन्नतिको लागि अनुदान दिने वाचा गरिएको उक्त सम्झौता नेपालमा व्यापक विवादित बनेको थियो।

राष्ट्रपति बाइडनको कार्यकालमा अमेरिकी सरकारले नेपाली अधिकारीहरूलाई 'अल्टिमेटम' दिएपछि नेपालको संसद्ले एमसीसीलाई अनुमोदन गरेको थियो। यसै महिना मात्रै एमसीसीले नेपाललाई दिएको अनुदानमा पाँच करोड डलर (छ अर्ब ९० करोड रुपैयाँभन्दा बढी) थप गरिदिएको छ। सन् २०१९ को सेप्टेम्बरयता अमेरिकाले नेपाललाई ९७ अर्ब रुपैयाँभन्दा बढी सहयोग उपलब्ध गराएको अमेरिकी विदेश मन्त्रालयले गएको महिना बताएको थियो। ट्रम्पको पहिलो कार्यकालमा नै नेपाल र अमेरिकाबीच 'मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट'मा हस्ताक्षर भएको थियो ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाका लागि नेपाली राजदूत रहेका अर्जुनकुमार कार्की दोस्रो पटक उनले सत्ता सम्हाल्दा नेपाल-अमेरिका दुईपक्षीय सम्बन्धमा खासै प्रभाव नपर्ने बताउँछन्। उनले भने, "उहाँको चार वर्षको कार्यकाल हामीले पहिला पनि भोगिसकेका हौँ।

उहाँको कार्यकालमा नेपाल-अमेरिका सम्बन्धमा खासै ठूलो फरक पर्ने म देख्दिनँ।" तर ट्रम्प प्रशासनले अवलम्बन गर्ने कतिपय नीतिहरूले नेपाललाई अप्रत्यक्ष ढङ्गले प्रभावित पार्ने उनले बताए। उनले थपे, "अन्तरसरकारी प्रक्रिया र संयन्त्रहरूबाट अप्रत्यक्ष असर पर्न सक्छ। जस्तो : जलवायु लगानीमा अमेरिकी सरकारको लगानी घट्न सक्छ। विश्व स्वास्थ्य सङ्गठनसँग उहाँको शासनकालमा सम्बन्ध बिग्रिएको थियो, त्यही भएर डब्ल्यूएचओको योगदान प्रभावित हुन सक्छ। अमेरिकी सहायतामा पनि मातृशिशु स्वास्थ्य, परिवार नियोजन र गर्भपतनका क्षेत्रमा लगानी गर्ने कुरालाई रिपब्लिकन सरकार हुँदा निरुत्साहित गर्ने गरिन्छ। त्यसले पनि असर पार्छ।" राष्ट्रपतिमा निर्वाचित भएपछि दिएको प्रतिक्रियामा वाशिङ्टन डीसीस्थित विल्सन सेन्टरका दक्षिण एशिया केन्द्रका निर्देशक माइकल कुगल्मेनले नेपाल पनि ट्रम्प 'सम्भवत: जानकार नरहेको' मुलुकमध्ये भएको बताउँदै भारत र चीनबीचको प्रतिस्पर्धाको केन्द्र बनिरहेकाले उनको प्रशासनले नेपाललाई शक्ति राष्ट्रबीचको प्रतिस्पर्धाको दृष्टिकोणले हेर्न सक्ने बताएका थिए।

नेपालका दुई पूर्वप्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रहिसकेका कूटनीतिज्ञ दिनेश भट्टराई ट्रम्पको दोस्रो कार्यकालमा पनि चीनप्रति अमेरिकाले कडा रूप अपनाउने लक्षणहरू देखिएको बताउँछन्। "पहिलो कार्यकालको अनुभव हेर्दा र जुन प्रकारका कडा विचार राख्ने व्यक्तिहरूलाई प्रमुख ओहदाहरूमा मनोनयन गरिएको छ, त्यसले चीन र अमेरिकाबीचको प्रतिद्वन्द्विता अझ चर्कने देखिन्छ।

घटनाक्रम कसरी अघि बढ्छन्, हामीले नजिकबाट हेर्नुपर्छ। तिब्बतसँग नेपालको सीमाना जोडिने भएकाले चनाखो भएर बस्नुपर्छ।" उनले ट्रम्पकै पालमा 'इन्डो-प्यासिफिक रणनीति' आएको र आउने दिनमा यो सामरिक धारणालाई अमेरिकाले कसरी अघि बढाउँछ त्यो पनि चासोपूर्वक हेर्नुपर्ने उल्लेख गरे।

प्रकाशित : माघ ७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेसकाे स्वास्थ्य सामग्री खरिदमा अर्वैकाे भ्रष्टाचार , छानबिनमा मुख्यमन्त्री र स्वास्थ्य सचिव बाधक : JCNEPAL MEDIA

कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

धनुषामा पनि ग्यास सिलिन्डरकाे कालोबजारी ,यदकूहास्थित जानकी किचेन हाउसमा आयल निगमकाे छापामारी, सयाैं सिलिण्डर बरामद : JCNEPALMEDIA