ठगी गरेको आरोपमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ : सप्तरी JCNEPAL MEDIA

माघ ९,२०८१ / जेसी नेपाल संवाददाता

सप्तरी : मधेस प्रदेशमा ‘पैसा डबल’ गरिदिने ठगी धन्दा चलाउने गिरोह सक्रिय रहेको खुलासा भएको छ । सप्तरी जिल्लामा सर्वसाधारणको पैसा लिएर ‘डबल’ गरिदिने भन्दै ठगी धन्दा चलाइरहेको गिरोहका नाइकेसहित एक जना पत्रकार पक्राउ परेपछि यसको खुलासा भएको हो । सप्तरी प्रहरीले बुधवार बिहान पत्रकार महासङ्घ सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई पक्राउ गरेको छ ।

प्रहरीले उनलाई तिलाठीाट पक्राउ गरेको जनाएको छ । पत्रकार यादवमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भएकोले पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताए । उनका अनुसार दर्जनौँ मान्छेहरूको जाहेरी परेपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको र सोही क्रममा पत्रकार यादव पक्राउ परेका हुन । यसअघि प्रहरीले पैसा डबल गरिदिने धन्दा चलाइरहेका गिरोहका मुख्य नाइके सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका –७ निवासी रामबहादुर भन्ने हनुमानी रजकलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरुविरुद्ध १३ वटा जाहेरी परेको प्रहरी प्रवक्ता बस्नेत बताउँछन् ।

उनका अनुसार यो गिरोहले दश वर्षदेखि सप्तरीमा पैसा डबल गरिदिने भन्दै ठगी धन्दा चलाइरहेका थिए । अहिलेसम्म परेको जाहेरीमा यो गिरोहले करिब अढाइ करोड रुपैयाँ ठगी गरेको पाइएको छ । ठुलो गिरोह बनाएर ठगी धन्दा चलाइरहेको देखिएकोले प्रहरीले यो घटनामा सूक्ष्म अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ । कसरी चल्थ्यो ठगी धन्दा ? सप्तरी प्रहरीका अनुसार यो धन्दाको सुरुवात करिब दश वर्ष अगाडिदेखि भइरहेको छ । पत्रकार र नेताहरूसहितको गिरोह बनाएर ठगी गर्ने योजनाका साथ धन्दा सुरुवात गरिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

प्रहरीका अनुसार त्यही योजनाअनुसार उक्त गिरोहले आफूहरूसँग पैसा छाप्ने मेसिन रहेको भन्दै सुरुमा प्रचार गरेका र पछि पैसा ठग्न थालेका हुन् । डबल पैसा पाउने लोभमा ठगिएका भरत ठाकुरका अनुसार सुरुमा यो गिरोहका मान्छे सर्वसाधारणको घरमा जान्थे । उनी भन्छन्, ‘आफूहरूसँग पैसा छाप्ने मेसिन छ, त्यसमा केमिकलको प्रयोगबाट पैसा डबल बनाइन्छ भन्दै जालमा फसाइन्थ्यो । रकम बढी आइसकेपछि पैसा छाप्ने मेसिनको केमिकल सकिएको छ, आउन केही समय लाग्छ भन्दै त्यसपछि उनीहरु बहाना बनाउन सुरु गर्थे ।’ उनका अनुसार जब पैसा माग्न गइन्थ्यो तब उनीहरूले झन् उल्टै धम्काउँथे । उनका अनुसार प्रहरी प्रशासन, नेता गुन्डाहरू सबै आफ्नो गोजीमा रहेको भन्दै उल्टै हामीलाई हप्कीदप्की आउँथ्यो ।

प्रहरी प्रवक्ता बस्नेत भन्छन् : गिरोहले सुरुमा सर्वसाधारणसँग कम पैसा लिन्थ्यो, केही समयपछि त्यसलाई डबल गरेर फिर्ता गरिदिन्थ्यो । जुन कारण सर्वसाधारण विश्वस्त हुन्थे । त्यसपछि ती व्यक्ति फेरि लोभमा परेर लाखौँ रुपैयाँ दिन्थे । अनि जब बढी पैसा आउँथ्यो, त्यो पैसा भने उनीहरूले गायब बनाइदिन्थे । उनका अनुसार तर उक्त गिरोहले पैसा लिँदा भने कुनै प्रमाण दिँदैन्थ्यो, जुन कारण सर्वसाधारणहरू बिचल्लीमा पर्थे । तर धेरैको जाहेरी आइसकेपछि प्रहरीले थालेको अनुसन्धानमा उक्त गिरोह धेरै जनासँग ठगी गरेको पाइएको उनी बताउँछन् । यसरी नै उनीहरूले लामो समयदेखि जिल्लामा ठगी धन्दा चलाइरहेको पाइएको प्रहरी भनाइ छ ।

समाचार : राताेपाटी

प्रकाशित : माघ ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA