विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्छ : मुख्यमन्त्री सिंह JCNEPAL MEDIA

माघ १२,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले विद्यालय व्यवस्थापन समिति खारेज गर्ने प्रस्ताव गरेपछि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले ताली बजाएर समर्थन गरे । प्रधानाध्यापक संघले शनिबार जनकपुरमा आयोजना गरेको ‘शिक्षा संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालय राम्रो गरिरहेको र अझ राम्रो गर्न विद्यालय व्यवस्थापन समिति खारेज हुनुपर्ने धारणा राखेका थिए ।दुई दशक अघिसम्म सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सन्तोषजनक रहेपनि एनजिओ र आइएनजिओहरुले बिगारेको आरोप मुख्यमन्त्री सिंहले लगाए ।

म विद्यालयको विद्यार्थी छँदा गृहकार्य नगरी कक्षामा उपस्थित हुनुहुँदैन भन्ने डर थियो र डरको कारण पढाईमा लगनशील हुन्थेँ’ उनले भने, ‘विद्यार्थीलाई डराउनु हुँदैन, कक्षामा अनुत्तीर्ण गर्नु हुँदैन जस्ता व्यवस्थाहरु ल्याएर विद्यालय बिग्रिदै गयो । मुख्यमन्त्री सिंहले मधेशका प्रदेशसभा सदस्यहरु पनि भाषणमा मात्रै शिक्षा र कृषिको विकासवारे फलाक्नेगरेको टिप्पनी गरे । ‘माननीयहरुले पनि प्रदेशसभा बैठकमा भाषण गर्दा शिक्षा र कृषिमा लगानी गर्नुपर्ने ठूला कुरा गर्छन्’ मुख्यमन्त्री सिंहले भने, ‘उहाँहरुको सिफारिसमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड बजेट पठाएको त ९९ प्रतिशत योजना सडक ढलान, सामुदायिक दलान र मन्दिर बनाउनमै सिमित भएर आउँछ । अर्को प्रसंगमा मुख्यमन्त्री सिंहले अभिभावक र शिक्षकको हातमा सामुदायिक विद्यालयको भविष्य रहेको बताए ।

शिक्षकले न्युन्तम जिम्मेवारी वहन गर्ने र अभिभावकले नियमित रुपमा बालबालिकालाई विद्यालय पठाउन तथा गृहकार्य गर्न सहजीकरण गरिदिए सामुदायिक विद्यालयको तुलना निजीले गर्न नसक्ने उनको भनाई थियो । मुख्यमन्त्रीले सम्वाद कार्यक्रमलाई सम्बोधन गरिसकेपछि जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहले विद्यालय व्यवस्थापन समिति खारेज गर्ने मुख्यमन्त्रीको प्रस्तावमा ताली पिट्ने प्रधानाध्यापकहरुलाई हकारे ।

मुख्यमन्त्रीजीले विद्यालय व्यवस्थापन समिति खारेज गर्ने कुरा गर्नुभो तपाइहरुले ताली पिट्नुभो’ नगर प्रमुख साहले प्रतिप्रश्न गरे, ‘विद्यालय सरकारको हो र ? विगतमा समुदायले जग्गा दान दिएर निर्माण गरिदिएको विद्यालयहरु समुदायको निगरानी रहेसम्म मात्रै राम्ररी सञ्चालन हुन सक्ने तर्क गर्दै नगर प्रमुख साहले विद्यालय व्यवस्थापन समितिको अवधारणा राम्रो गर्नकै लागि भएको जिकिर गरे ।कार्यक्रममा राजविराजका प्रधानाध्यापक योगेन्द्र प्रसाद यादवले सामुदायिक विद्यालयबाट राम्रो प्रतिफल आइरहेको जिकिर गर्दै अभिभावकको साथ पाए अझ राम्रो गर्न सक्ने बताए । ‘हाम्रोमा खाजा पाउने लोभमा बालबालिकाहरु आउँछन् । निजी विद्यालयहरुमा अभिभावकले नै खाजा बोकेर विद्यालयमा पुग्छन्’ उनले भने, ‘अभिभावकले आफ्ना बच्चालाई नियमित रुपमा विद्यालय पठाउने काम मात्रै गरिदिए पनि हामीले राम्रो परिणाम ल्याउन सक्छौं ।

शिक्षक सेवा आयोगका पूर्व सदस्य समेत रहेका शिक्षाविद् डा. ज्ञानी यादवले शिक्षक, अभिभावक र स्थानीय सरकारबीच तालमेर मिले शैक्षिक गुणस्तर राम्रो गर्न सकिने बताए । ‘शिक्षक सेवा आयोग पास गरेर आउने जनशक्ति राम्रो भएपनि काम गर्ने वातावरण बनाउन नसकेर क्षमता अनुरुपको परिणाम दिन नसकिरहेकै हो’ उनले भने । नेपाल प्राधानाध्यापक संघका मधेश प्रदेश अध्यक्ष संजय झाको सभापतित्वमा आयोजित सम्वाद कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गौतम, शिक्षा विकास समन्वय ईकाइका प्रशासकीय अधिकृत उमेश मुखियालगायत आठवटै जिल्लाबाट करिब साढे दुई सय विद्यालयका प्रधानाध्यापकहरु उपस्थित थिए ।

प्रकाशित : माघ १२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA