पार्टी टुक्र्याउने कुरा मेन्यूमा छैन, संसद्‌को हिउँदे अधिवेशनमा ओलीले भने : JCNEPAL MEDIA

माघ १८,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : शुक्रवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कांग्रेस-एमाले गठबन्धन सरकारले विसं २०८४ सम्मै निरन्तरता पाउने पनि दाबी गरे। "पार्टी टुक्र्याउने, भत्काउने जस्ता खुद्रे कुराहरू यो सरकारको मेन्यूमा छैन," ओलीले भने। सरकारले दल विभाजन गर्न सहज हुने गरी राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न लागेको आशङ्का कतिपय विपक्षी दलहरूले यसअघि गरेका थिए।

विपक्षी दलहरूले सरकार ढल्न लागेको चर्चा गरेको आरोप लगाउँदै ओलीले गठबन्धन सरकार तत्काल नढल्ने दाबी समेत गरे। विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेको जस्तो लागेको छ। 'सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे सङ्क्रान्ति आदि ... ओलीले भने। बजारमा चर्चामा रहेको 'ढलेँ, ढलेँ' भन्ने गीत राजनीतिमा पनि धेरै सुनिएको भन्दै ओलीले थपे, "यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा बन्द गरे हुन्छ किनभने २०८४ सम्म सरकार टसमस गर्नेवाला छैन।

* अध्यादेशको बचाउ प्रधानमन्त्री ओलीले संसद् अधिवेशन सुरु हुनै लाग्दा जारी भएका अध्यादेशप्रति विपक्षी दलहरूले जनाएका आपत्तिको पनि खण्डन गरेका छन्। "'केही साथीहरूले संसद् नचलेका बेलामा किन अध्यादेश ल्याएको' भन्ने प्रश्न गर्नुभएको छ, अध्यादेश ल्याउने भनेको संसद् नचलेका बेलामै हो। संविधानले संसद् नचलेका बेलामै अध्यादेश ल्याउने व्यवस्था गरेको छ," ओलीले विपक्षीप्रति कटाक्ष गर्दै भने। संसद्‌मा बोल्ने क्रममा ओलीले अध्यादेशहरूको प्रतिरक्षा गरे। उनले अध्यादेशहरूले सार्वजनिक सेवा प्रवाहलाई छरितो बनाउन, सुशासन र आर्थिक गतिविधिलाई तीव्रता दिन सहयोग गर्ने दाबी गरे।

ओलीले एमाले-कांग्रेस गठबन्धनको सरकार बनेयता देशमा आर्थिक वृद्धिदर बढेको र आर्थिक गतिविधि बढेको विवरणसमेत प्रतिनिधिसभामा पेस गरेका छन्। छ महिनाअघि जस्तो अहिले अर्थतन्त्रमा भयावह अवस्था छैन। अर्थतन्त्रका सूचकहरू सकारात्मक छन् : ओलीले भने।

* देउवाले पनि गरे अध्यादेशको बचाउ सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सरकारले जारी गरेका अध्यादेशहरूको बचाउ गरे। उनले अध्यादेशको कार्यान्वयनका लागि आवश्यक नियमहरू छिटो बनाउन पनि सरकारलाई आग्रह गरे।

यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने मैले विश्वास लिएको छु। सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि पनि सरकारले अध्यादेशहरू ल्याएको हो, उनले भने। देउवाले संसद्ले कानुन निर्माणलाई गति दिन नसकेको गुनासो सुनिने गरेको भन्दै त्यसलाई तीव्रता दिन सांसदहरूलाई आग्रह समेत गरे। हामीले आवश्यक कानुन बनाउन ढिलाइ गर्नु हुँदैन। म यस विषयमा माननीय सांसदहरूको गम्भीरतापूर्वक ध्यान आकृष्ट गर्न चाहन्छु।

संविधानको कार्यान्वयनसँग सम्बन्धित र नागरिकका सरोकारका विषयमा आवश्यक पर्ने थप विधेयकहरू पनि सरकारले चाँडै संसद्‌मा पेस गरोस् भन्ने आग्रह गर्दछु,उनले भने।

प्रकाशित : माघ १८,२०८१              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA