प्रचण्डको चाहनामा नारायणकाजीको रिसले बाेलेको शब्द : JCNEPAL MEDIA

फाल्नु १३,२०८१/ जेसी नेपाल संवाददाता

झापाबाट 'जनतासँग माओवादी तराई–मधेस जागरण अभियान' थालेको नेकपा माओवादी केन्द्रमा पछिल्लो समयमा नेतृत्व तहबीच मौलाएको असमझदारीबारे सर्वत्र चर्चा हुँदै आएको छ। विशेषगरी पदाधिकारी तहमा जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई चुनौती दिइरहेको र दोस्रो तहका अन्य नेताहरू पनि प्रचण्डसँग सन्तुष्ट नभएको विषय निरन्तर समाचारका विषय बनिरहेका छन्। सोही क्रममा प्रचण्डले अभिव्यक्ति दिँदा सत्ताको लोभमा परेर आफूले जनतातिर फर्किन बिर्सेको, तर अब त्यसो नगर्ने भन्दै निरन्तर 'आत्मालोचना' पनि गर्दै आइरहेका छन्।

प्रचण्डकै शब्दमा 'यी र यस्ता धेरै प्रश्नहरू जनतामाझ उत्तरित होऊन् भन्ने चाहना' थियो। त्यसैले हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानको उद्घाटन सत्रमा सबै पदाधिकारीलाई बोल्न दिएर 'त्यो हल्ला चिर्ने' योजनामा थिए उनी। 'अभियान उद्घाटन र शुभारम्भको दिन भएकाले सबैले बोलौं' भनेर आफैले भनेको प्रचण्डले सुनाए। यसरी सबैले बोल्ने क्रममा 'पार्टी र नेताहरूबारे धेरै प्रश्नहरू उत्तरित भएको' बताएका प्रचण्डलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निराश बनाइदिए। नारायणकाजीपछि बोलेका प्रचण्डले उक्त विषय लुकाएनन्। तर, जस्तोसुकै कमजोरीलाई पनि सजिलै स्वीकार गरिदिने प्रचण्डले नारायणकाजीको विषय 'ठूलो नभएको' बताउँदै उपस्थित कार्यकर्ताहरूलाई आश्वस्त पार्न खोजे। सोमबार बिहान झापाको कचनकवलस्थित बनियानीमा आयोजित अभियान उद्घाटन समारोहमा पदाधिकारीहरू सबैले पालैपालो बोल्दै गए।

नेताहरूले पार्टी र नेताहरूको पछिल्लो अवस्थाबारे जनतालाई सबै कुरा बुझाउँदा आफूलाई खुसी लागेको भन्दै प्रचण्डले प्रसन्नता प्रकट गरे। 'सबैले बोल्दै आउनुभयो। नेताहरूबारे प्रश्नहरू थिए होलान्,' प्रचण्डले भने, 'ती प्रश्नहरू उत्तरित भए होला भन्ने मलाई लाग्छ।' प्रचण्डको प्रसन्नतामा नारायणकाजीको रिस हलुवामा बालुवा सरह भयो। नारायणकाजीले बोल्दाबोल्दै रिसाएर माइक छाडेको घटनाले प्रचण्ड र अन्य नेता कार्यकर्तालाई खिन्न पारेको उनीहरूले बताएका छन्। प्रचण्डले नारायणकाजीतिर लक्षित गर्दै बोल्दाबोल्दै मन्तव्य नरोकेको भए राम्रो हुने बताए। 'उद्घाटनमा सबै पदाधिकारीले पाँच-पाँच मिनेट बोल्न कमरेडहरूलाई अपिल गरे,' प्रचण्डले भने, 'यसले हाम्रो प्रतिबद्धता कति गम्भीर र जिम्मेवारीपूर्ण हो भन्ने बुझ्न पनि सजिलो हुन्छ भनेर जनतालाई बुझ्न सजिलो हुन्छ।' उनले थप भने, 'सबैले बोल्दै आउनुभयो। नेताबारे प्रश्नहरू थिए होलान्, ती पनि उत्तरित भए होला भन्ने लाग्छ। कमरेड वरिष्ठ उपाध्यक्षले बोल्दै गर्दा यहाँ अलिकति केही असहज जस्तो हुन गयो।

तपाईंहरूतिर हेर्दा बडो ध्यानपूर्वक सुनेको महसुस गर्दै थिएँ। त्यही बेला अग्नी (कार्यक्रम उद्घोषक राजु आचार्य) जी आइपुग्नुभएछ। उहाँलाई पनि के हो भन्ने पर्न गयो।' प्रचण्ड बोल्नुअघि बनियानीको मञ्चमा भएको घटनाबारे प्रस्टीकरण दिँदै थिए। जहाँ केही बेरअघि मात्रै नारायणकाजी श्रेष्ठले बोल्दाबोल्दै रिसाएर माइक छाडेका थिए। कार्यक्रममा उपस्थित माओवादी कार्यकर्ताका अनुसार जागरण अभियानको उद्घाटन कार्यक्रममा सबैजसो पदाधिकारीले बोल्ने भएपछि हतार भएको थियो। वक्ताको सूचीमा पुरूषको संख्या धेरै भएको महसुस भएपछि नारायणकाजीकै जोडबलमा उद्घघोषक आचार्यलाई झापाकी नेता धर्मशील चापागाईंलाई बोल्न मञ्चमा बोलाउन लगाएका थिए। केन्द्रका ठूला नेताहरू बोल्न थालेपछि आफ्नो पालो नआउने बुझेर धर्मशील त्यहाँबाट हिँडिसकेकी थिइन्। उनको नाम उद्घोषकले तीन पटकसम्म लिएका थिए। तर उनी आइनन्। त्यसले नारायणकाजीलाई 'इरिटेट' बनाएको थियो। 'त्यही विषयमा उहाँ (नारायणकाजी) अध्यक्षसँग मञ्चमै झोंक्किएको सुनिएको थियो,' माओवादीका एक नेताले भने, 'तर उहाँले बोल्ने क्रममा त्यो रिस त्यो रूपमा प्रकट गर्नुहोला भन्ने थिएन।' कार्यक्रम वरिष्ठ उपाध्यक्ष नारायणकाजीले सम्बोधन गरिरहेका थिए।

समयको दबाबकै कारण उद्घोषक राजु नारायणकाजी बोलिरहेकै बेला नजिकै गएर उभिएका थिए। कार्यक्रम सञ्चालक आफूअघि उभिएको देखेपछि नारायणकाजीले उनलाई राम्ररी हेरे। नारायणकाजीले आफूलाई हेरेको देखेपछि राजु हाँसिदिए। उनको हाँसो नारायणकाजीलाई थप आक्रोशित पार्ने बहाना बनिदियो। 'तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखा परेको?' भन्दै नारायणकाजी झोंक्किए। त्यति भनेर उनी थप नबोली आफ्नो कुर्सीमा बसे। त्यसपछि कार्यक्रम स्थलमा असजिलो अवस्था सिर्जना भएको नेताहरू बताउँछन्। नारायणकाजीले रिसाएर माइक छाडेपछि उद्घोषक राजुले आफूले गर्दै नगरेको गल्तीप्रति क्षमा मागे। त्यसपछि उनले अध्यक्ष प्रचण्डलाई बोल्न अनुरोध गरे।

प्रचण्डले आफ्नो भनाइको सुरूआत झापाका राजवंशी समुदायबाट गरे। आफू आइतबार आएर राजवंशी समुदायकै सहिद परिवारकोमा बसेको, उनीहरूसँगै खाना खाँदै संवाद गरेको सुनाए। आठ मिनेट जति बोलेपछि प्रचण्ड नारायणकाजीका विषयमा प्रवेश गरेका थिए। 'यसमा अग्नीजी (उद्घघोषक)ले अलिकति आत्मसमीक्षा गरेर गल्ती भए क्षमा चाहन्छु भनी सक्नुभएको छ। यो ठूलो कुरा होइन। त्रुटि भएछ भने रियलाइज गर्छौं,' प्रचण्डले भने, 'म यति चाहिँ भन्छु, वरिष्ठ उपाध्यक्ष सैद्धान्तिक विषय राख्न बल गर्दै हुनुहुन्थ्यो। उहाँले नरोक्दा हुन्थ्यो भन्ने लागेको थियो। तर रोकिसकेपछि त त्यो सकिइहाल्यो।

प्रकाशित : फाल्नु १३,२०८१ मंगलबार          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा१ काे निर्वाचन घटनामा रास्वपा उम्मेदवार किशोरी साह(कमल)को रिटमा सुनुवाइ सकियो : JCNEPAL MEDIA

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान भए बाधक : JCNEPAL MEDIA

सिरहामा मोटरसाईकलको ठक्करबाट वृद्ध घाइते ,सेनाका दुई जवान पक्राउ : JCNEPAL MEDIA

धनुषामा बिहेको मटकोरमा नाच्दै गर्दा युवकको किचिएर मृत्यू, खुसी शोकमा परिणत : JCNEPAL MEDIA

सराेज राय द्वारा बरहथवा नगर अस्पताललाई अक्सिजन सिलिन्डर र नेबुलाइजर सहयोग :JCNEPAL MEDIA

रास्वपाकाे मतपरिणामलाई शुभकामना दिदै भने ,आम जनताको शान्त विद्रोह : बाबुराम भट्टराई JCNEPAL MEDIA