स्वास्थ्य सचिव नियुक्तिमा प्रधानमन्त्रीले बाराकोटी, कांग्रेसले मिश्रा च्याप्दा बीचबाट यसरी फुत्किए विकास : JCNEPAL MEDIA

चैत्र ०२,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीकै अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । अतिरिक्त सचिवत्रय डा. संगिता कौशल मिश्राको नाम पहिलो नम्बरमा, डा. विकास देवकोटाको दोस्रो नम्बरमा र डा टंक बाराकोटीको तेस्रो नम्बरमा नाम सिफारिस भएको थियो ।

अध्यक्ष रेग्मीले तोकेको आयोगको सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञ पूर्वस्वास्थ्य सचिव डा. किरण रेग्मी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्यसचिव रहेको बढुवा सिफारिस समितिले गरेको सिफारिस बमोजिम फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले दोस्रो नम्बरमा सिफारिस भएका डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गर्ने निर्णय ग¥यो । डा. कौशल मिश्रा र डा. बराकोटीबिचमा को सचिव हुने भन्ने प्रतिस्पर्धा भइरहँदा बिचबाट निस्किएर देवकोटा बढुवामा परेका हुन् । निकटस्थहरूका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारमा दुई दलले सचिवका लागि छुट्टाछुट्टै व्यक्ति बोकेका थिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र कांग्रेस डा. मिश्रालाई सचिव बनाउनुपर्ने लबिङमा थिए । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली डा. बाराकोटीलाई सचिवमा बढुवा गर्नुपर्ने पक्षमा थिए । मधेसी मुलकी डा. मिश्रालाई सबैभन्दा ठुलो आशिर्वाद वर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा (देउवा)को थियो । डा. मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक पनि डा. आरजुकै सिफारिसमा भएकी थिइन् । स्वास्थ्यसचिव बढुवा निर्णय प्रक्रियामा संलग्न एक पदाधिकारीका अनुसार सचिव बढुवामा पनि सभापति देउवालाई स्वास्थ्यमन्त्री पौडेलले ब्रिफिङ गर्दा ‘मधेसी महिला माथिल्लो तहमा पुगेको छ । एक नम्बरमा बढुवा सिफारिस भएको छ । तसर्थ उसैलाई गर्न प्रधानमन्त्रीलाई सिफारिस गर्नु,’ भनेका थिए ।

जवाफमा देउवालाई स्वास्थ्यमन्त्री पौडेलले ‘डा. मिश्राको मन्त्रालयमा ‘एसेप्टेन्स’ कत्ति पनि छैन । म उहाँको पक्षमा नै छु,’ भनेका थिए । स्रोतका अनुसार मन्त्री पौडेलले प्रधानमन्त्रीसमक्ष आफूले डा. मिश्राको बारेमा ब्रिफिङ गर्न नसक्ने सभापति देउवालाई जानकारी गराएका थिए । प्रधानमन्त्रीको जोड डा.बाराकोटीमा रहेकोसमेत पौडेलले देउवालाई ब्रिफिङ गरे । मन्त्री पौडेलले देउवासँग आफूले डा. मिश्रा एक नम्बरमा सिफारिस भएको, मधेसी, त्यसमाथि महिला रहेकाले बनाउँदा उपयुक्त हुने बताएका थिए । तर, मिश्राको मन्त्रालयमा ‘एसेप्टेन्स’ भने नरहेको पनि उनले जानकारी गराएका थिए । मन्त्री पौडेलले प्रधानमन्त्री ओली कुनै पनि हालतमा डा. मिश्रालाई मान्न तयार नभएको समेत देउवालाई प्रस्ट पारेका थिए । सँगै उनले देउवालाई डा. बाराकोटी कम्युनिस्ट ब्याकग्राउण्डको र ओलीको गृह जिल्ला झापाकै रहेकाले काम गर्न अप्ठ्यारो हुने जानकारी गराए ।

स्रोतका अनुसार मन्त्री पौडेलले त्यो विषय कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापालाई पनि जानकारी गराए । सभापति देउवामात्रै होइन, मन्त्रिपरिषद्मा रहेका मधेसी मूलका मन्त्रीहरू युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी त जसरी भए पनि डा. मिश्रालाई सचिवमा बढुवा गर्नुपर्ने पक्षमा थिए । मन्त्री पौडेलसहित कांग्रेस सभापति देउवा र नेताहरू लागे–पुगेसम्म डा. मिश्रालाई सचिवमा बढुवा गर्ने, नभएमा कांग्रेसकै ब्याकग्राउण्डका डा. देवकोटालाई सचिवमा बढुवा गर्नुपर्ने, डा. बाराकोटीलाई मान्नै नसकिने पक्षमा थिए ।

त्यसपछि पार्टीको तर्फबाट स्वास्थ्यसचिवमा डा. मिश्राको बढुवा गर्नुपर्ने प्रस्ताव लगेर सभापति देउवाले गृहमन्त्री रमेश लेखकलाई प्रधानमन्त्री ओली भेट्न पठाए । लेखकले मन्त्री पौडेललाई सँगै बालुवाटार लिएर गए । तर, प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लेखक आफूमात्र भित्र छिरे । केहीबेरमा बाहिर निस्किएर मन्त्री लेखकले डा. मिश्रालाई कुनै पनि हालतमा स्वीकार्न नसकिने र आफ्नो चाहना डा. बाराकोटीलाई बढुवा गर्नुपर्ने रहेको प्रधानमन्त्रीले बताएको पौडेललाई सुनाए । कांग्रेस नेताहरूबिच त्यसभन्दा पहिल्यै सकेसम्म डा. मिश्रालाई नै च्याप्ने, नभएमा डा. बाराकोटीलाई कुनै पनि हालतमा हुन नदिने भन्ने अनौपचारिक सहमति थियो । गृहमन्त्री लेखक र स्वास्थ्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीको स्वास्थ्य सचिवबारेको धारणा सभापति देउवालाई जानकारी गराए ।

देउवाले डा. बाराकोटीलाई स्वीकार्न नसकिने जानकारी गराउन भने । फेरि गृहमन्त्री लेखक गएर त्यो जानकारी प्रधानमन्त्री ओलीलाई गराए । अपराह्न ४ बजे खबर गरेर साँझ ६ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यसचिव बढुवाको एजेण्डा २९ नम्बरमा थियो । निकटस्थ स्रोतका अनुसार सचिवबारे कुनै सहमति नबन्दै मन्त्रिपरिषद् बैठक सुरु भयो । सहमति नहुँदै बैठक सुरु भएकाले के गर्ने भन्दै मन्त्री पौडेल छटपटाइरहेका थिए । बैठकमा तीन नाममा छलफल गर्दा धेरैजसो मन्त्रीहरू डा. मिश्राको पक्षमा देखिने, प्रधानमन्त्रीले त्यो हुन्न, डा. बाराकोटीलाई गरौँ भन्ने हुन् कि भन्ने भयजस्तोमा पौडेल देखिएको एक मन्त्रीले बताए । त्यत्तिकैमा प्रधानमन्त्री ओलीले बैठक सुरु भएपछि २९ नम्बरको एजेण्डा रहेको स्वास्थ्य सचिवबारे सुरुमै स्वास्थ्यमन्त्री पौडेललाई सोधे । ‘स्वास्थ्यसचिव कसलाई बनाउने हो ?’ डा. मिश्रालाई नस्वीकार्ने स्पष्ट रूपमा प्रधानमन्त्रीले बताइसकेकाले पौडेलले डा. विकासलाई गर्ने आफ्नो चाहना सुनाए । प्रधानमन्त्रीले ‘निर्णय भयो, टिप्नुस्’ भनेर मुख्यसचिव एकनारायण अर्याललाई निर्देशन दिए ।

त्यसपछि समय घर्किसकेको भन्दै महत्त्वपूर्ण विषयमात्रै छलफलमा ल्याउन मुख्यसचिव अर्याललाई प्रधानमन्त्रीले निर्देशन दिए । मुख्यसचिव अर्यालले मुख्यमुख्य एजेण्डा भन्दै गएर २९ औँ नम्बरमा पुगेपछि पुनः स्वास्थ्यसचिवमा सिफारिस भएकाको नाम पढे । सँगै रहेका एक मन्त्रीका अनुसार मुख्यसचिव अर्यालले ती नाम पढ्नेबित्तिकै मन्त्री पौडेलको अनुहार मलिन भयो । त्यो पढेर सुनाइनसक्दै प्रधानमन्त्री ओलीले यसबारे बैठकको सुरुमै निर्णय भइसकेको बताए ।

प्रधानमन्त्रीले त्यति भनिनसक्दै खेलकुदमन्त्री चौधरी, कानुनमन्त्री चौरसिया र श्रममन्त्री भण्डारीले ‘भइसक्यो र ? हामीले त थाहै पाएनौँ’ भन्दै थिए । प्रधानमन्त्रीले सुरुमै ‘सबैले सुन्नेगरी स्वास्थ्य सचिवमा स्वास्थ्यमन्त्रीजीको प्रस्ताव अनुरुप विकास देवकोटा बनाउने निर्णय भयो भनेको होइन ?’ भनेपछि बैठक सकिएको थियो ।

प्रकाशित : चैत्र ०२,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA

सर्लाहीकाे मलंगवामा भन्सार गाडीमाथि महिला तस्करको आक्रमण :JCNEPAL MEDIA

विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड बढी भ्रष्टाचार, पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर : JCNEPAL MEDIA

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द : JCNEPAL MEDIA