कांग्रेसभित्र कुरा नमिल्दा रोकियो राजाविरुद्ध गणतान्त्रिक मोर्चा बनाउने प्रयास : काठमाडौं JCNEPAL MEDIA

चैत ०९,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : राजतन्त्र पुनर्स्थापनाको एजेन्डालाई लिएर सडकमा देखिएको उपस्थितिलाई हेर्ने विषयमा कांग्रेसमा फरक मत देखा परेको छ। सभापति शेरबहादुर देउवा सहितका केही नेताहरू राजतन्त्र पुन:स्थापनाको आन्दोलन विरुद्ध आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने पक्षमा देखिएका छन्।

तर महामन्त्री गगन थापासहितका नेताहरू भने आन्दोलनलाई एकपक्षीय रुपमा मात्रै हेर्न नहुने र सडकमा युवा पुस्तासमेत आएको कुरालाई ध्यान दिनुपर्ने पक्षमा देखिएका हुन्। कांग्रेसभित्र राजावादीको आन्दोलनलाई हेर्ने दृष्टिकोणलाई लिएर मतभेद भएपछि गणतान्त्रिक दलहरूबीच मोर्चा बनाउने तयारी रोकिन पुगेको छ। गणतन्त्र पक्षदरहरूको मोर्चा बनाउने र त्यसले व्यवस्थाको पक्षमा विभिन्न किसिमको गतिविधि गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा देउवा सहमत भएपनि कांग्रेसमा कुरा नमिल्दा रोकिएको एक नेताले जानकारी दिए। दलहरूको गणतान्त्रिक मोर्चा बनाउने र संयुक्त विज्ञप्ति जारी गर्ने कुरामा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमति जनाएका छन्।

ओलीले कांग्रेस–माओवादीसँग कुरा गर्न सङ्क्रमणकालीन मामिला सम्बन्धी सल्लाहकार अग्नि खरेललाई खटाएका छन्। गणतान्त्रिक मोर्चा बनाउने र प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर गणतन्त्रको पक्षमा आह्वान गर्ने तयारी रोकिन पुगेको हो। कांग्रेसका नेता अर्जुनरसिंह केसी, गृहमन्त्री समेत रहेका नेता रमेश लेखकले मोर्चा बनाएर जाने कुराको असहमति जनाएका छन्। कम्युनिस्ट पार्टीहरूको प्रस्ताव र एजेन्डामा भन्दा पनि पार्टी आफ्नै विचारबाट अघि बढ्नु पर्ने दबाब बढ्दो छ। धर्म निरपेक्षता, सङ्घीयता, राजतन्त्रबारे पार्टीले लिएको नीतिमा पुनःविचार हुनुपर्ने शशाङ्क कोइराला, शङ्कर भण्डारीसहितका नेताहरूको मत छ।

कांग्रेसमा राजावादीहरूको आन्दोलनलाई हेर्ने दृष्टिकोण फरक–फरक भएपछि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। पार्टी कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा सडकमा राजतन्त्र पुनस्थापनाको पक्षमा देखिएको आन्दोलन र अरु समसामयिक विषयमा छलफल हुने देउवाको सचिवालयले जानकारी दियो। बैठकमा फागुन २५ गते राजतन्त्र पुन:स्थापनाको पक्षमा प्रदर्शन हुँदा देखाइएको योगी आदित्यनाथको फोटोको विषयलाई देशको आन्तरिक राजनीतिसँग जोड्न नहुने आवाज कांग्रेसभित्र छ।

केही नेताहरूले राजावादीको आन्दोलनमा भारतीय घुसपेट भएको अभिव्यक्ति दिएपछि त्यसलाई बाह्य शक्तिसँग आन्तरिक विषयलाई जोड्न नहुने अडान लिएका छन्।

प्रकाशित : चैत ०९,२०८१                 ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA