मुख्यमन्त्री सिंहद्वारा जलाद खोलाको अनुगमन हुदाँ सात वटा टिपर सहित दुई वटा जेसिबी नियन्त्रणमा : JCNEPAL MEDIA

चैत २३,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार दिउँसो धनुषाकोे मिथिला नगरपालिका–४ मा पर्ने जलाद खोलाको अनुगमन गर्नुभएको छ ।

अनुगमनको क्रममा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थकोे उत्खनन भइरहेको भेटिएपछि उत्खनन तथा ओसारपसारमा प्रयोग भइरहेको सात वटा टिपर र दुई वटा जेसिबी मेसिन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केबरको जिम्मा लगाउनुभएको छ । मुख्यमन्त्री सिंहका अनुसार जलाद खोला वन क्षेत्रभित्र पर्ने भएकाले त्यहाँ कुनै पनि किसिमको उत्खनन गर्नुअघि वन नियमावलीअनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनिवार्य हुन्छ । सो प्रतिवेदनलाई प्रदेश सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिनुपर्ने व्यवस्था छ ।

“वन मन्त्रालयको स्वीकृति पश्चात मात्र सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयले सहमति जनाउँछ र त्यसपछि मात्र स्थानीय तहले ढुंगा, गिट्टी र बालुवा उत्खननको ठेक्का दिन पाउँछ,” उहाँले भन्नुभयो । तर, मिथिला नगरपालिकाले वातावरणीय अध्ययन प्रतिवेदन आफैंले स्वीकृत गरेको देखिएको छ, जुन वैधानिक प्रक्रिया विपरीत हो । यसरी स्वीकृति नदिइ खोलामा ठेक्का लगाएर उत्खनन कार्य अघि बढाएको पाइएपछि मुख्यमन्त्री सिंहले सम्बन्धित ठेकेदारलाई आवश्यक कागजातसहित प्रदेश सरकारअन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपस्थित हुन निर्देशन दिनुभयो ।

उहाँले अनुगमनको क्रममा अवैध उत्खननको विरुद्ध कडा कारबाही गरिने चेतावनी पनि दिनभयो । उहाँले भन्नुभयो, “सरकारले वातावरणीय संरक्षण तथा प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । नियम विपरीत गतिविधि गर्ने जो–कोहीलाई कानूनी दायरामा ल्याइनेछ ।”

प्रकाशित : चैत २३,२०८१                     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA