निर्मल निवासमा पूर्वराजासँग राप्रपा नेताहरूको `शुक्रबारे कचहरी´ : JCNEPAL MEDIA

बैशाख ०७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित ७ जना नेताहरू शुक्रवार निर्मल निवास छिरेको प्रसङ्ग शनिवार सार्वजनिक भयो । राप्रपाको टोलीले पूर्वराजा ज्ञानेन्द्र सँग लन्चसहित गरेको छलफलमा मुख्य अन्तरवस्तुहरु भने गोप्य नै राखिएका छन् ।

पूर्वराजाकै बोलावटमा राप्रपा नेताहरूको दलबल निर्मल निवास गएको हो । राप्रपा टोलीमा वरिष्ठ नेताद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षत्रय बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे तथा प्रवक्ता ज्ञानेन्द्र शाही थिए । राप्रपाले काठमाडौंमा निषेधाज्ञा तोड्ने निर्णय गरेको भोलिपल्ट निर्मल निवासले गरेको मन्त्रणालाई अर्थपूर्ण मानिएको छ । दुई घण्टाभन्दा बढी चलेको लन्च मिटिङमा तीनकुने आन्दोलनमा भएको हिंसादेखि दुर्गा प्रसाईँलाई कमान्डर कसले तोकेको हो भन्ने सम्मका विषयवस्तुहरू आएका थिए । पूर्वराजाले तीनकुने आन्दोलनमा भएको भौतिक र मानवीय क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको एक नेताले बताए । भेटवार्तामा सहभागी ती नेताले पूर्वराजालाई उद्धृत गर्दै भने, ‘हामी शान्तिप्रेमी हौँ ।

हामीले नारायणहिटी दरबार छोड्दाखेरि त कुनै अप्रिय घटना भएन । मान्छे मारेर आएको व्यवस्था टिकाउ हुँदैन । प्रहरीहरू हाम्रै दाजुभाइ हुन् । उनीहरूलाई ढुंगा हान्नु हुँदैन । बरु गुलाबको फूल दिनुस् ।’ छलफलका क्रममा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजाले दुर्गा प्रसाईँलाई आन्दोलनको कमान्डर बनाएको भनी बाहिर चलेको चर्चाबारे जिज्ञासा राखेका थिए । पूर्वराजाले भने यसलाई इन्कार गरेको स्रोतले बतायो । प्रसाईँसँग मेची पुलको कार्यक्रमपछि आफ्नो भेटसमेत नभएको उनको भनाइ थियो । जनआन्दोलनको कमान्डर तोकिएकै दिन दुर्गा प्रसाईँ निर्मल निवास छिरेका थिए ।

तर, त्यसबखत उनलाई आफूले नभेटेको पूर्वराजाको भनाइ उद्धृत गर्दै एक नेताले बताए । ‘प्रसाईँले पूर्वराजालाई नभएर उनका एकजना सचिवलाई भेटेर फर्किएका रहेछन्,’ ती नेताले भने । त्यसपछि बैठकमा नवराज सुबेदीको प्रसंग पनि निस्कियो । सुबेदीलाई जनआन्दोलन समितिको संयोजक कसले बनाएको हो भन्ने चर्चा चलेको थियो । पूर्वराजाले यसमा आफ्नो कुनै पनि भूमिका नरहेको प्रष्टीकरण दिएको एक नेताको भनाइ छ । न उहाँले नवराज सुबेदीलाई संयोजक तोक्नुभएको रहेछ, न दुर्गा प्रसाईँलाई कमान्डर,राप्रपाको संस्थापन पक्षीय ती नेताले भने, राजाले यो विषयमा डा। लोहनी र पाण्डेलाई यस्तो कुरा कसरी आयो भनेर सोध्नुभयो । दुवै नेता नाजवाफ भए ।

राप्रपाको प्रतिनिधिमण्डलमा रहेकामध्ये लोहनी र पाण्डे पछिल्लो समय संस्थापन इतर नेताका रूपमा चिनिन्छन् । उनीहरू नवराज सुबेदी नेतृत्वको जनआन्दोलन समितिलाई राजसंस्था पुनर्स्थापनाको आन्दोलनको नेतृत्व गर्न दिनुपर्ने पक्षमा छन् । तामाङ, प्रधान र शाही भने संस्थापन पक्षीय हुन् । उनीहरू राप्रपाले नै आन्दोलनको नेतृत्व गर्नुपर्ने अडानमा छन् ।

राणा भने ‘तटस्थ’ छन् । पूर्वराजाले भने राप्रपाले नै आन्दोलनको नेतृत्व गरोस् भन्ने चाहना घुमाउरो ढंगले प्रकट गरेको संस्थापनपक्षीय नेताहरूको दाबी छ । एक नेताले भने, ‘उहाँले आन्दोलन भन्ने शब्द त प्रयोग गर्नुभएन, जनभावनाको नेतृत्व राप्रपाले गर्नुपर्छ भन्नुभयो ।

प्रकाशित : बैशाख ०७,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA

राप्रपा प्रदर्शनमा घुसपैठ हुने डरले शिक्षकहरु बिहानै गरे आन्दोलन : JCNEPAL MEDIA

एक भारतीय विद्यार्थीको गोली हानी हत्या : क्यानडा JCNEPAL MEDIA

स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावले केही क्षेत्रमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखाका JCNEPAL MEDIA

२५ करोड प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर, काठमाडौं जिल्ला अदालतमा JCNEPAL MEDIA

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, सरकारको समीक्षा र भातृ संस्थाको अधिवेशन मुख्य एजेण्डा : JCNEPAL MEDIA