बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डिएसपीनिवासमा पार्टी : JCNEPAL MEDIA

असार ११,२०८२ / जेसी नेपाल संवाददाता

जबर्जस्ती करणीको मुद्दामा सफाइ पाएको भोलिपल्टै आरोपीले जिल्ला प्रहरी कार्यालय सप्तरीपरिसरमा डिएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा भव्य पार्टी आयोजना गरेका छन् । बलात्कार मुद्दामा जिल्ला अदालत सप्तरीबाट गत ४ जेठमा सफाइ पाएका राजविराज नगरपालिका– ६ का आकाश आदर्शले भोलिपल्टै मुद्दाको अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षकको ‘बर्थ डे सेलेब्रेसन’ गरेका हुन् ।

यो मुद्दामा तत्कालीन अनुसन्धान अधिकृत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन सेलेब्रेसन भन्दै पार्टी आयोजना गरिएको थियो । जसमा डिएसपी बस्नेत, प्रहरी निरीक्षक श्रेष्ठ, अर्का प्रहरी निरीक्षक उदयकुमार राई तथा एक दिनअघि सफाइ पाएका आकाश आदर्शसहित सहभागी थिए । आदर्शले सञ्चालन गरेको राजविराजको तन्दुरी रेस्टुरेन्टमा काम गर्ने एक महिलाले उनीमाथि जबर्जस्ती करणी गरी भिडियो बनाई सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याएको भन्दै ०८१ असोजमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले आदर्शलाई राजविराजबाट नियन्त्रणमा लिएर प्रहरी निरीक्षक मनीष श्रेष्ठलाई अनुसन्धान अधिकृत तोक्दै अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयमार्फत सप्तरी जिल्ला अदालतमा पेस गरिँदा थुनछेक बहसका क्रममा आदर्श पाँच लाख धरौटीमा छुटेका थिए । प्रहरी निरीक्षक श्रेष्ठले मुद्दाको अनुसन्धान टुंग्याएपछि गत २० कात्तिकमा सप्तरी जिल्ला अदालतमा आरोपपत्र दायर गरिएको थियो । मुद्दाको दसौँ पेसीअन्तर्गत ४ जेठमा सप्तरी जिल्ला अदालतका न्यायाधीश रोमनाथ अधिकारीको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको थियो । जिल्ला अदालतबाट सफाइ पाएका आदर्शले ५ जेठमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतको निवासभित्र मुद्दाको अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षक श्रेष्ठको बर्थ डे सेलेब्रेसन पार्टी गरेका हुन् ।

सप्तरीका डिएसपी बस्नेतले आफ्नो निवासभित्र पार्टी भएको स्वीकार गरेका छन् । ‘प्रहरी निरीक्षक मनीष श्रेष्ठ जन्मदिन मनाउन मेरै निवासमा आउनुभयो, आकाश आदर्श पनि थिए,’ उनले भने, ‘आकाश आदर्शमाथिको मुद्दा र सफाइबारे थाहै भएन ।’ प्रहरी निरीक्षक श्रेष्ठले पनि आफ्नो जन्मदिन मनाउन डिएसपी बस्नेतको निवासमा आयोजित कार्यक्रममा आकाश आदर्शसमेत सहभागी रहेको स्विकारे । यो मुद्दामा पीडित पक्ष अझै दुई तहको अदालत जान सक्ने प्रावधान कायमै छ । ‘एक तहको अदालतले सफाइ दिएपछि त्यसको भोलिपल्टै प्रहरी नेतृत्व र अनुसन्धान अधिकारी सोही व्यक्तिसँग डिएसपीको निवासमा पार्टी गर्नुलाई जायज मान्न सकिन्न,’ वरिष्ठ अधिवक्ता शैलेन्द्र अम्बेडकरले भने, ‘प्रहरीको केन्द्रीय नेतृत्व यस विषयमा गम्भीर बन्नुपर्छ ।’

 मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चदुर्बेदी यस विषयमा छानविन भइरहेको बताउँछन् । ‘तपाईंले चासो राख्नुभएको विषयबारे म जानकार छु । यस विषयमा छानविन भइरहेको छ,’ उनले भने ।

प्रकाशित : असार ११,२०८२              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA