धनाैजीका पुर्व नगर अध्यक्ष सहित ९ जनाविरूध भ्रष्टाचार मुद्दा, उप- प्रमुख समेत अख्तियारकाे फन्दा : JCNEPAL MEDIA

असार २०,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंहसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ लाख ३४ हजार ७७८ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा संघीय सरकारबाट प्राप्त विशेष अनुदान अन्तर्गत ‘बजार नाला तथा फोहोरमैला व्यवस्थापन’ शीर्षकमा विनियोजित ९२ लाख रुपैयाँमध्ये योजनाको अनधिकृत संशोधन र आर्थिक अनियमितता भएको देखिएको हो । २०७८ वैशाख १३ गतेको कार्यपालिका बैठकबाट ‘बजार सेड सटर’ निर्माणतर्फ योजना मोडिएको तर गाउँपालिकालाई त्यसो गर्ने अधिकार नभएको अवस्थामा गरिएको निर्णयलाई गैरकानुनी मान्दै आयोगले आरोप पत्र दायर गरेको हो ।

आयोगका अनुसार सार्वजनिक खरिद ऐनको उलंघन, झुटा कागजात बनाइएको, एकै प्रकारका दररेट पेस गर्ने कम्पनीहरू चयन गरिएको र म्याद सकिएको योजनालाई जबर्जस्ती सम्पन्न देखाइएको प्रमाण फेला परेको छ । मुद्दामा पूर्वअध्यक्ष सिंहसँगै धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवति देवी मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय गौरी शंकर मण्डल र सावन कुमार चौधरी, सव–इन्जिनियर छोटे मण्डल, योजना शाखा प्रमुख नरेश कुमार मण्डल, लेखापाल राधेश्याम राय, सह–लेखापाल विनोद कुमार मण्डल र ठेकेदार कम्पनी ‘एकता सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिका’का सञ्चालक इन्द्रेश कुमार सिंहसमेत प्रतिवादी रहेका छन् ।

उपप्रमुख रामवति देवी मण्डलले बिहीबार मात्रै फेसबुकमार्फत ‘घुस, कमिशन वा पिसी’ मागेमा १०७ मा सम्पर्क गर्न वा आफूलाई जानकारी दिनुहोस् भन्दै सार्वजनिक आग्रह गरेकी थिइन् । तर, अहिले उनी आफैं भ्रष्टाचार मुद्दाको प्रतिवादी बनेकी छन् ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार गैरकानुनी लाभ लिएको ठहर गर्दै बिगो रकमको मागसहित विशेष अदालतमा सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।

प्रकाशित : असार २०,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA

भारतमा अभिनेता थलापति विजयको र्‍यालीमा भएको भागदौडमा ३६ जनाको मृत्यु : JCNEPAL MEDIA

जनप्रतिनिधिहरु बीचको आपसी विबाद र बजेट भागबन्डामा कुरा नमिल्दा औरही गाउँसभा अन्याेलमा: धनुषा JCNEPAL MEDIA

प्रम कार्की आयोगले जेनजी आन्दोलनबारे छानबिनको काम थाल्यो : JCNEPAL MEDIA