किशोरीहरूलाई प्रलोभनमा पारेर डिम्बको अवैध कारोबार, निःसन्तान दम्पतीबाट २० लाखसम्म असुली : काठमाडौं JCNEPAL MEDIA

असार ३१,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौँका दुई क्लिनिकमा किशोरीको डिम्ब संकलन गरी निःसन्तान दम्पतीलाई बेचेको आरोपमा अनुसन्धान सुरु भएको छ। प्रहरीले होप फर्टिलिटीका तीन चिकित्सकसहित पाँच जनालाई पक्राउ गरी हाजिर जमानीमा छाडेको छ, जसमा एजेन्ट पनि समावेश छन्। क्लिनिकहरूले किशोरीबाट डिम्ब निकालेर १५ हजार दिने र एजेन्टले ४० हजार लिने गरेको खुलेको छ, भने दम्पतीले २० लाख तिर्ने गरेका थिए।

काठमाडौँ : अवैधरुपमा किशोरीहरूबाट डिम्ब सङ्कलन गरेर बच्चा जन्माउने प्रयोजनका लागि निःसन्तान दम्पतीलाई बेचबिखन गरेको आरोपमा काठमाडौँका दुई वटा क्लिनिकमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । बबरमहलमा सञ्चालित होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र महाराजगन्जमा सञ्चालित एन्जेल फर्टिलिटी क्लिनिकमाथि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । ती क्लिनिकले १८ वर्षमुनिका किशोरीहरूबाट डिम्ब सङ्कलन गर्ने र निःसन्तान महिलाहरूलाई ट्रान्सफर गर्ने गरेको भेटिएको छ ।

ब्युरोले होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिका तीन चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा डा. असिम अधिकारी, डा. स्वस्ती शर्मा, डा. मलिना चौधरी, जस्टिना प्रधान र अलिसा ओली थिए । तर, काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई ‘थुना बाहिर राखेर अनुसन्धान गर्नू’ भनेपछि आरोपीहरूलाई हाजिर जमानीमा छाडिएको एसएसपी बोगटीले जानकारी दिए । एन्जेल फर्टिलिटी क्लिनिकबाट पक्राउ परेका एक जना आरोपीलाई पनि हाजिर जमानीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिमा एजेन्टको रूपमा कार्यरत २० वर्षीया जस्टिना प्रधानले रजस्वला भएको तेस्रो दिनका किशोरीहरूलाई सम्पर्कमा ल्याउने गर्थिन् । त्यस्ता किशोरीहरूलाई बबरमहलमा लगेर १० दिनसम्म राख्ने र नाइटो वरपर १० वटा सिरिन्ज लगाउने गरिन्थ्यो ।

१३ औँ दिनमा बेहोस बनाएर ओभरीमा जम्मा भएको डिम्ब निकालेर निःसन्तानहरुलाई ट्रान्सफर गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । डिम्ब सङ्कलन गरेबापत किशोरीलाई १५ हजारसम्म दिने र एजेन्टले ४० हजार लिने गरेको भेटिएको छ । निःसन्तान दम्पतीहरुले क्लिनिक सञ्चालकहरूलाई २० लाखसम्म लिने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । क्लिनिक सञ्चालकहरूले कृत्रिम गर्भधारण (आईभिएफ) प्रविधिको नाममा कानुन विपरीत किशोरीहरूको डिम्ब निकालेर बेचेका हुन् । त्यसरी डिम्ब निकालेका किशोरीहरूमा दुब्लाउने र खाना अरुचिको समस्या देखिएपछि अभिभावकले ब्युरोमा उजुरी गरेका थिए । अहिलेसम्म ब्युरोमा दुई वटा उजुरी दर्ता भएको छ । प्रहरीले आरोपीहरू विरुद्ध बालबालिका विरुद्धको कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : असार ३१,२०८१              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA