कामू सीईओ पनि पक्राउ पर्ने भएपछि सीआईबी पुगे सञ्चालक : JCNEPAL MEDIA

मंशिर १५,२०८२ / जेसी नेपाल संवाददाता

काठमाण्डौ : प्रभू बैंक लिमीटेडले कामू सीईओको जिम्मेवारी दिएको निरज लम्साल पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धान गरिरहेको बैंकिङ कसूर प्रकरणमा संलग्नमध्येका एक आरोपी रहेका पाइएको छ ।

सीआईबीले आफूहरुले अनुसन्धान गरिरहेको प्रकरणमा जोडिएकामध्ये एक आरोपीलाई नै प्रभू बैंकको सञ्चालक समितिको बैठकले कामू सीईओको जिम्मेवारी दिएपछि आश्चर्य प्रकट गर्दै सोमबार बिहान सञ्चालकहरुलाई ब्यूरो बोलाएको समेत खुलेको छ । प्रभू बैंकका दुई सञ्चालक कामू सीईओ लम्साल समेत पक्राउ पर्ने जोखिम बढेपछि अत्तालिँदै ब्यूरो पुगेका थिए । त्यहाँका प्रहरी अधिकारीहरुले निरज लम्सालको संलग्नता अहिलेको प्रकरणमा समेत रहेको भन्दै उनका विषयमा बनेको फाइल नै देखाएपछि सञ्चालकहरु थप आत्तिएका स्रोतको भनाई छ । हिजोमात्र बैंकका सीईओ, डिसीइओ र सीसीओ पक्राउ परेका र फेरि कामू सीईओ पनि पक्राउ पर्ने अवस्था बने बैंक भद्रगोल हुने र यसले सर्वसाधारणमा गलत म्यासेज गई प्रणालीगत जोखिम निम्तिनसक्ने भन्दै सञ्चालकहरुले लम्सालको विषयमा लचक बनिदिन आग्रह गरेका थिए ।

सीआईबीका अधिकारीहरुले लम्साल कतै नभाग्ने ग्यारेण्टी गर्ने हो र चाहिएको बेला उपस्थित गराउने शर्त मान्ने हो भने बैंकको भविष्यलाई हेरेर केही लचक बन्न सकिने बताएका थिए । त्यसपछि ती दुवै सञ्चालकले ब्यूरोमा निरज लम्साललाई अनुसन्धानका क्रममा चाहिएको बेला उपस्थित गराउने शर्तनामा गरेका प्रहरी स्रोतले जनाएको छ । 'हामीले अनुसन्धान गरिरहेको केशमा संलग्नता रहेका आरोपीमध्ये उहाँ(निरज लम्साल) पनि एक हुनुहुन्छ । उहाँलाई नै बैंकले नेतृत्व दिएपछि हामी सुरुमा आश्चर्यमै पर्यौं ।' एक प्रहरी अधिकारीले बिजशालासँग भने- 'बैंकले यस्तो गर्नु हुँदैन थियो । यसमा राष्ट्रबैंकले गाँठो फुकाउने काम गर्छ भन्ने अपेक्षा छ । हामीलाई शंका लागेका सबैसम्म पुगेर अनुसन्धान गर्ने वातावरण सबै पक्षले बनाइदिन्छन् भन्ने आशा राखेका छौं । निरज लम्साल प्रभू बैंकमा निकै लामो समयदेखि कार्यरत बैंकर हुन् । उनी हाल चिफ रिकभरि अफिसरको रुपमा कार्यरत छन् ।

सीईओ अशोक शेरचन पक्राउ परेको प्रकरणमा उनी पनि तानिने स्वभाविक पात्र हुन् । अझ बैंकस्थित स्रोतको दाबीलाई मान्ने हो भने त यो प्रकरणका प्रमुख खेलाडीमध्ये निरज लम्साल पनि एक हुन् । यो विषयमा कुरा बुझ्न खोज्दा लम्साल सम्पर्कमा आउन चाहेनन्। उता, राष्ट्रबैंकमा समेत लम्सालको विषयमा सीआईबीले राखेको कन्सर्न पुगेपछि बरु बाहिरबाट कुनै बैंकरलाई ल्याएर बैंक सम्हाल्न दिने गरी तत्काल निर्णय गरेर जाने विकल्पमा समेत छलफल भइरहेको बुझिएको छ । यसका लागि राष्ट्रबैंकका केही उच्च अधिकारीहरुले केही अनुभवी बैंकरहरुसँग निरन्तर छलफल पनि थालेका छन् ।

यही विषयमा केन्द्रीत रहेर बैंकका अध्यक्ष किशोरजंग कार्कीलाई समेत केन्द्रीय बैंकले बोलाइसकेको छ । बैंकको भावी नेतृत्व, जोखिम न्यूनिकरण तथा समस्याको सही व्यवस्थापनका लागि केन्द्रीय बैंकले प्रभू बैंकलाई आज स्पष्ट निर्देशन गर्ने तयारी गरिरहेको समेत बुझिएको छ ।

प्रकाशित : मंशिर १५,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA