मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना न्यून, आजै अर्को सरकार गठन : मधेस प्रदेशJCNEPAL MEDIA

मंशिर १६,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : सर्वोच्च अदालतले सोमबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेसँगै प्रदेशको राजनीतिक वृत्तमा हलचल उत्पन्न भएको छ । सर्वोच्च अदालतको आदेशपछि सत्ता पक्ष र विपक्षी दुवै पक्ष आफूअनुकूल बहुमत सुनिश्चित गर्ने प्रयासमा लागेका छन् । यद्यपि, मुख्यमन्त्री यादवको दल एमालेलाई बहुमत जुटाउन त्यति सजिलो भने छैन ।

एमालेबाहेकका दलहरू यादव नेतृत्वको सरकारलाई ‘असंवैधानिक’ भन्दै विश्वासको मत नदिने अडानमा कायमै देखिएका छन् । मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध नेपाली कांग्रेससहितका सात दलले रिट दायर गरेकाले पनि एमालेलाई बहुमत जुटाउन सजिलो नदेखिएको हो । मधेस प्रदेशसभामा कूल १०७ सदस्य रहेकामा सरकार बनाउन कम्तीमा ५४ मत आवश्यक पर्छ । तर एमालेसँग २५ सांसद रहेकोमा एक जना निलम्बित छन् । मुख्यमन्त्री यादवले नेपाल संघीय समाजवादी पार्टी र राप्रपाबाट एक–एक जनालाई समेटेर सरकार गठन गरेकाले संघीय समाजवादी पार्टीको मत उसले पाउने सम्भावना छ ।

तर राप्रपाले प्रदेश सभामा रहेका आफ्‌ना एक मात्र सांसद कञ्चन बिच्छा, जो अहिले मन्त्री पनि छिन्, उनलाई कारबाही प्रक्रिया अघि बढाइसकेको अवस्था छ । उता, कांग्रेस २२, जसपा नेपाल १८, जनमत पार्टी १३, माओवादी केन्द्र ९, लोसपा ८, एकीकृत समाजवादी ७ र नागरिक उन्मुक्ति पार्टी १ गरी सातदलीय गठबन्धन दुई तिहाइ सांसद छन् । यसले सहजै नयाँ सरकार गठन हुने देखिएको छ । सर्वोच्चले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिन नसके संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखको नाममा आदेश दिएकाले पनि सातदलीय गठबन्धनकै सरकार गठन हुने सम्भावना छ । सर्वोच्चको आदेशपछि मुख्यमन्त्री यादव स्वयंले पनि विश्वासको मत पाउनेमा शंका व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘यदि उपधारा ५ मा प्रक्रिया अघि बढेको भए अवस्था फरक हुन सक्थ्यो। सर्वोच्चले उपधारा २ मा नै जान भनेपछि अब सबै विकल्प खुला छन् ।’ यसअघि एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा तथा प्रदेश प्रमुख र सभामुखको सहयोगमा संविधानको धारा १६८(३) अनुसार सरकार गठन गरेको थियो । तर त्यो प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै सातदलीय गठबन्धन सर्वोच्चमा पुग्दा प्रदेश प्रमुख र सभामुख दुवैले पद गुमाइसकेका छन् । उता, एमालेका मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले देशी विदेशी शक्ति लागेर एमालेको मुख्यमन्त्रीका पक्षमा भएको बहुमतमा प्रहार गर्ने काम भएको जिकिर गरेका छन् । आज नै मुख्यमन्त्री यादवले विश्वासको मत लिनु पर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै उनले भनेका छन्, ‘एमालेको मुख्यमन्त्री गैरसंवैधानिक भन्ने अरू दलरको आरोप त पुष्टि भएन, विश्वासको मत लिने समयभित्र लिनेछौँ ।

उनले राजनीतिमा विश्वासको वातावरणमा काम गर्नु पर्ने भएर एमालेले काम गरिरहेको तर अरू दलहरूबाट धोका भएको बताए । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिए पनि मधेस प्रदेशका मुख्यमन्त्री यादवले भने अझै प्रदेश सभा बैठक बोलाएका छैनन् । प्रदेश सभा बैठकका लागि अहिलेसम्म मुख्यमन्त्री यादवबाट कुनै पनि निर्देशन नआएको उपसभामुख बबिता राउत ईशरले बताइन् । यादवलाई मुख्यमन्त्री नियुक्त गर्दा पदअनुकूल आचरण नगरेको आरोप लागेका मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल महाअभियोगबाट पदमुक्त भएकाले मधेसमा उपसभामुख राउतले नै बैठक सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मुख्यमन्त्री ज्यूले त्यसअनुसार प्रदेशसभाको बैठक बोलाउन पत्र पठाउनु पर्ने हुन्छ,’ उपसभामुख राउतले भनिन्, ‘मैले उहाँ (मुख्यमन्त्री)सँग मोबाइलमा कुराकानी त गरेँ । तर, उहाँले अहिलेसम्म बैठक बोलाउन कुनै निर्देशन दिनु भएको छैन । पत्र पनि पठाउनु भएको छैन । म उहाँको निर्देशन र पत्र पर्खेर बसेकी छु ।’ सर्वोच्चले यदि यादवले प्रदेश सभामा विश्वासको मत नपाए यसअघि नै प्रदेश सभाका ७३ जना सदस्यले भनेअनुसार संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठन प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।

प्रकाशित : मंशिर १६,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

कोहलपुर इप्रकामा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम, दादागिरी मौलाउदै : JCNEPAL MEDIA

भैरहवामा करोडौं ठगी गर्ने गिरोहका ९ जना पक्राउ : JCNEPAL MEDIA

१६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध जागरूकता कार्यक्रम सम्पन्न : JCNEPAL MEDIA

विरासत वाेकेकाे विवेकशील र शक्ति र संख्या भएको रास्वपा जोड्यो : JCNEPAL MEDIA

राेशनी झाकाे मृत्यु संकास्पद, सुक्ष्म जाँच हने धनुषा प्रहरी प्रमुखको भनाइ : JCNEPAL MEDIA

एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात : विराटनगर JCNEPAL MEDIA