आज खण्डग्रास सूर्यग्रहण, साँझ ४ः५२ बजेबाट शुरू भएर ६ः४५ बजे छोड्ने

काठमाडौं । आज कार्तिक कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाे छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
 
करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।
 
अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नुहुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।
 
निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।
 
अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ ।
 
यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नु हुँदैन । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ । ग्रहण ‘स्वाती नक्षत्र र तुला राशिलाई अति कष्ट’ आजको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।
 
समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ । यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ ।
 
कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ । दिउँसो ४ : ५२ बजेदेखि ग्रहणले स्पर्श गर्नेछ । ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब पौने ७ बजेसम्म ग्रहण रहने जनाइएको छ । यही महिनाको २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।साभार : स्पेसखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA

जनकपुरको २० प्राईभेट अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, बिना दर्ताबाला बन्द गर्न निर्देशन : मधेस प्रदेश JCNEPAL MEDIA

मधेस प्रदेशसभाको ७ वर्ष वितिद‌ै, सभामा भए ३२२ वटा बैठक तर ,बनेका अधिकांश कानून कार्यान्वयन भएन : JCNEPAL MEDIA

तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै : बागमती प्रदेश JCNEPAL MEDIA

मुख्यमन्त्री सिंहले सेटिङकाे अधारमा विवादित दासलाई बनाए बारा यातायात कार्यालय प्रमुख : JCNEPAL MEDIA

अन्तराष्ट्रि बहुउद्येश्यि रंगशाला निर्माणका लागि मधेश सरकारले १ अर्ब रुपैयाँ दिने : JCNEPAL MEDIA