पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

मंशिर २४,२०८२ / जेसी नेपाल संवाददाता

वीरगञ्ज : सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले सादा पोशाकमा परिचालन गरेका घुमुवा जवान रामराज यादवलाई काठमाडौंस्थित हेडक्वार्टर तानिएको छ।

स्रोतका अनुसार, पाँच–छ वर्षदेखि पर्सामा कार्यरत यादव संगठनको नीति विपरीत लामो समय एउटै जिल्लामा बसेर अवैध असुली र तस्करीमा संलग्न रहेको गुनासो तथा उजुरी उच्चस्तरमा पुगेपछि उनलाई तानिएको हो। घुमुवा यादव तानिए पनि एसपी भट्टका प्रमुख सहयोगी र घुमुवा कमान्डर, सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल अझै पर्सामा असुली कार्यमा परिचालन भइरहेको छ। आई.डी. नं. ३०७७ भएका प्रहरी निरीक्षक मल्ल हाल स.प्र.बल, नेपाल नं. ४६ गुल्म हे.क्वा. डोल्पामा सरुवा भइसके पनि स्रोतका अनुसार भट्टले उनलाई ‘काजमा राखेर’ पर्सामा असुलीमा परिचालन गरिरहेको खबर प्राप्त भएको छ।

महोत्तरीबाट पर्सा आएका एसपी भट्टले पर्सा सशस्त्र प्रहरी बलको प्रतिष्ठा धुमिल पार्दै आएको र घुमुवालाई प्रयोग गरेर अवैध कारोबार चलाएको आरोप उच्च स्रोतहरूले लगाएका छन्। पर्सा गणमा रहेका घुमुवा जवान रामराज यादव एसपी भट्टको निर्देशमा स्थानीय तस्करहरूसँग मिलेर ठूलो रकम असुली तथा तस्करीमा संलग्न भएको विवरण आएको छ। घुमुवा यादव पर्साका स्थायी बासिन्दा हुन् । स्थानीय व्यापारी र स्रोतका अनुसार यादवलाई ‘सेटिङ मिलाउने व्यक्ति’ भनेर चिनिन्छ। संगठनको नीति विपरीत लामो समय एउटै जिल्लामा रहेकाले उनलाई हेडक्वार्टर तानिएको हो। विगतमा पनि सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ छिन्नमस्ता बाहिनी मधेस प्रदेशका तत्कालीन बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी कहाँ यादवको विरुद्ध धेरै उजुरी तथा गुनासो पुगेपछि घुमुवा यादवलाई धनुषा लखेटेका थिए । तर डिआईजी सरुवा भएपछि यादव पुनः पर्सामा फर्केर अवैध कारोबार सञ्चालन गर्न सफल भएका थिए।

स्रोतका अनुसार, एसपी भट्टले पर्सा गणमा दर्जनौं घुमुवा परिचालन गरेका थिए। घुमुवाहरुले तस्करहरूसँग मोटो रकम असुली गर्ने, तस्करीको लाइन सञ्चालन गर्ने तथा स्थानीय व्यापारीलाई धम्क्याउने कार्यमा संलग्न रहेको खुलेको छ। हेडक्वार्टरका एक स्रोतले बताए अनुसार, एसपी भट्टलाई पनि सोधपुछका लागि बोलाई चेतावनी दिइएको छ। भट्टमाथि भन्सार छली, चोरी तथा तस्करी नियन्त्रणमा असफल भएको आरोप लगाइएको छ। स्थानीयहरूले भट्टले ‘देखावटी कारबाही’ र ‘प्रचारबाजी’ गर्ने शैली अपनाएको गुनासो पनि गरेका छन्। सशस्त्र प्रहरी बलले घुमुवा प्रणाली अन्त्य गर्ने नीति लिएको भए पनि पर्सास्थित १३ नम्बर गणका गणपति भट्टले नीति विपरीत घुमुवा राखेर अवैध असुली र तस्करी सञ्चालन गरेको देखिएको छ ।

जानकारका अनुसार, एसपी भट्टलाई तत्कालीन गृहमन्त्री रमेश लेखकको सिफारिसमा महोत्तरी गणबाट पर्सा गणमा इन्चार्ज–टु–इन्चार्ज सरुवा गरिएको थियो। महोत्तरीमा पाँच महिना मात्र कार्यरत रहे पनि, पर्सामा आएका उनी स्थानीय तस्करी नेटवर्कसँग जोडिएर अवैध असुलीमा संलग्न भएको आरोपमा हेडक्वार्टरमा सोधपुछ भइरहेको छ।

प्रकाशित : मंशिर २४,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता : JCNEPALMEDIA

मधेस प्रदेशका अर्थमन्त्रीले वाचन गरेको बजेट र मन्त्रालयगत बजेटमा ८ अर्ब भन्दा बढीको फरक : JCNEPALMEDIA

हवाई फायर गरेर ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ : JCNEPALMEDIA

कसमिरमा सेनाले गाेलि चलायाे ,४६ जनाकाे मृत्यु : JCNEPALMEDIA

चोरीको मुद्दामा पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु : JCNEPALMEDIA

भारतमा विमान दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायु सहित पाँच वायुसेना जवानको मृत्यु : JCNEPALMEDIA