CIB को असई हुँ भनी सर्वसाधारणलाई ठगी गर्ने महिलालाई प्रहरीले गरे पक्राउ : JCNEPAL

माघ २५,२०८२ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : सर्लाहीमा आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा कार्यरत प्रहरी असई भएको बताउँदै सर्वसाधारणलाई झुक्याएर ठगी गर्दै आएकी एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–६ घर भई हाल कबिलासी नगरपालिका–१० सलेमपुर टोलमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया निर्मला महतो रहेको प्रहरीले जनाएको छ। उनले नेहा, निशा र पुनम कुमारीलगायत विभिन्न नाम प्रयोग गर्दै लामो समयदेखि ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार आरोपीले आफू CIB मा कार्यरत प्रहरी असई भएको दाबी गर्दै सरकारी पहुँच र प्रभाव देखाई विभिन्न व्यक्तिबाट नगद तथा सामग्री ठगी गर्ने गरेको पाइएको छ। सर्लाहीको लालबन्दी नगरपालिका निवासी राजेश्वर साहसँग करिब एक वर्षअघि नवलपुर बजारमा चिनजान भएपछि आरोपीले आफू भन्सारका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको बताउँदै सस्तोमा स्कारपियो गाडी निकालिदिने प्रलोभन दिएको प्रहरीले जनाएको छ।

पुरुषको नाममा गाडी निकाल्दा कर बढी लाग्ने भन्दै उनले साहकी श्रीमती पुनम कुमारीको सक्कल नागरिकता र फोटो लिई भन्सार कर तिर्नुपर्ने बहानामा पटक–पटक गरी रु. १ लाख ५० हजार ठगी गरेकी थिइन्। प्रहरीका अनुसार सोही नागरिकता र फोटो प्रयोग गरी उनले आफू पुनम कुमारी नै भएको भनी इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट राष्ट्रिय परिचयपत्र बनाएकी थिइन्। त्यसकै आधारमा माछापुच्छ्रे बैंक लिमिटेड, चन्द्रपुर शाखामा पुनम कुमारीको नाममा बैंक खाता खोलेको पनि अनुसन्धानमा खुलेको छ।

आरोपीले आफू प्रहरी भएको प्रभाव देखाउँदै चन्द्रपुरका सन्तोष बहादुर विश्वकर्माको ज्वेलर्स पसलबाट उधारोमा लिएको रु. २ लाख ७४ हजार बराबरको सुनचाँदीका गहना भुक्तानी नगरेको आरोप छ। त्यस्तै, गुजरा नगरपालिका निवासी विजय साह बनियासँग घरायसी समस्या देखाएर रु. ५ लाख सापटी लिएको तथा चन्द्रपुरका प्रविण साहको किराना पसलबाट उधारो सामान लिई स्कारपियो गाडी भाडामा लगेर बाँकी रहेको रु. १ लाख २६ हजार नतिरेको प्रहरीको भनाइ छ। ती सबै रकम तिर्ने भन्दै उनले पुनम कुमारीको नाममा खोलेको खाताको चेक दिएको भए पनि खातामा पर्याप्त मौज्दात नरहेको खुलेको छ।

चेकमा पुनम कुमारीकै हस्ताक्षर प्रयोग गरी ठगी गरिएको प्रहरीको दाबी छ। आरोपीलाई मिति २०८२ माघ ४ गते दिउँसो चन्द्रपुर नगरपालिका–६ क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउपछि लामो समयसम्म उनले आफ्नो वास्तविक नाम र ठेगाना खुलाउन नमानेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डीएसपी रुपा लाबुङका अनुसार विभिन्न नाममा बनाइएका परिचयपत्र, बैंक खाता र कागजातहरूको यथार्थ पुष्टि भएपछि मात्र आरोपीलाई सार्वजनिक गरिएको हो। उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : माघ २५,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इरानलाई फेरि अमेरिकाले आक्रमण गर्ने दिए धम्की : JCNEPALMEDIA

घर बचाउन आन्दोलनको घोषणा,१६ सदस्य संघर्ष समिति गठन : JCNEPALMEDIA

जनकपुरधामको एक मात्र कभर्ड जिर्नाेधारकाे प्रखाईमा, जोखिममा खेलाडी : JCNEPAL MEDIA

रवि लामिछाने सहित १७ साँसदमाथि छानबिन गर्न आयोगको सिफारिस : JCNEPAL MEDIA

प्रहरी हिरासतमा थुनुवाको मृत्यू ,एसपीसहित १० प्रहरीलाई कारवाहीको सिफारिस : JCNEPAL MEDIA

जनकपुरका मेयर मनाेज साहले कन्या मावि जनकपुरलाई पूर्णरुपमा महिला विद्यालय बनाउने गरे निर्णय : JCNEPALMEDIA