मधेशमा डीआईजी घुमुवाकै सेटिङमा नाकाबाट व्यापक तस्करी, महिना ताेकेरै असुलीको आरोप : JCNEPAL MEDIA

चैत १०,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : मधेश प्रदेशको जिल्लाहरूमा निर्वाचन सम्पन्न भएसँगै सीमावर्ती क्षेत्रहरूमा तस्करी गतिविधि पुनः मौलाउन थालेको देखिएको छ । पछिल्लो घटनाले जिल्लामा अवैध भण्डारण र चोरी–छलका धन्दा संगठित रूपमा सञ्चालन भइरहेको संकेत दिएको छ । हालै भ्रष्टाचार र तस्करी नियन्त्रण गर्ने नारासहित भएको “Gen-z Rebelution ” पछि नयाँ राजनीतिक परिवर्तनको अपेक्षा गरिएको थियो। तर, सरकार बन्ने चर्चा चलिरहेका बेला पनि मधेश प्रदेशका आठवटै जिल्लामा प्रहरीकै संरक्षणमा तस्करी भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलिया सरुवा भएर आएपछि अतिरिक्त कमाउधन्दा सञ्चालन गर्न आफ्नै टोली सक्रिय बनाएको आरोप छ। बरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादव नेतृत्वको घुमुवा टोलीले विभिन्न जिल्लामा आर्थिक असुलीको नेटवर्क विस्तार गरेको स्राेतबाट बुझिएको छ । धनुषामा चैत १ गते सई जयलाल यादवले डीआईजीको नाममा घुस उठाउँदै आएका एक व्यापारीको सामान बरिष्ठ सई गोपाल थापा मगरले बरामद गरेपछि घटनाले हंगामा मच्चिएको थियो। उक्त घटनापछि विषयलाई सामसुम पार्न डीआईजी थपलियाले फुलगामा चौकीका इन्चार्ज सई टेकबहादुर कार्कीसहितको टोलीलाई हतारहतार सोही जिल्लामै फिर्ता गराएको आरोपसमेत उठेको छ।

सिरहामा कार्यरत भए पनि धनुषा लगायतका नाकामा समेत उठौतीका लागि परिचालन गरिएका सई जयलाल यादव र बरिष्ठ सई गोपाल थापा मगरले मधेशका आठवटै जिल्लामा असुली आतंक मच्चाएको स्थानीय स्रोतको दाबी छ। यसका कारण जिल्लाका एसपीहरू समेत बोल्न नसक्ने अवस्थामा पुगेको बताइन्छ। जिल्ला, इलाका र चौकीलाई जानकारी नदिई सीमा नाकामा पुगेर उठौती गर्ने गतिविधिले प्रहरी संगठनकै छविमा धब्बा लागेको स्थानीयको गुनासो छ। सिरहाका नाकाबाट तस्करीको नेटवर्क डीआईजीका घुमुवा सई जयलाल यादवले सिरहाका तारापट्टि, हर्कट्टी, कचनारी, गोरगामा, ठाडी, माडर, खिराउना र कमलापारी लगायतका नाकाबाट तस्करी सञ्चालन हुने गरी दररेट नै तोकेको आरोप छ।

स्रोतका अनुसार जयलालको सेटिङमा गोपाल राई नामका व्यक्तिले तारापट्टि, लकडी हुँदै भारतको जोगियासम्म तस्करीको लाइन सञ्चालन गर्दै आएका छन्। नेपालबाट स्याउ लगायतका सामान भारततर्फ लैजाने र भारतबाट कपडा लगायतका सामग्री नेपाल भित्र्याउने काम हुँदै आएको बताइन्छ।

तस्करी सञ्चालनका लागि प्रदेश र जिल्ला तहसम्म मासिक करिब ७ लाख रुपैयाँ सम्मको सेटिङ गरिएको स्राेतकाे दाबी रहेको छ। यता धनुषामा पनि भररिया, दुहबी ,महिनाथपुर र खजुरी लगायतकाे नाकाबाट ९ बजे देखि राती १२ बजे सम्म खुलले आम तस्करी भइरहेको स्राेतबाट बुझिएको छ । यस विषयमा आधिकारिक रूपमा प्रहरी प्रशासनले भने कुनै प्रतिक्रिया दिएको छैन। तर मधेशका विभिन्न नाकाबाट भइरहेको तस्करी र प्रहरीकै संरक्षणको आरोपले सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। प्रकाशित : चैत १०,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सुरक्षा निकायकै मिलेमत्तोमा भद्रपुरबाट संगठित तस्करी : JCNEPAL MEDIA

मकवानपुरमा ठूलो मात्रामा गाँजा बरामद ,१७१ किलोसहित २० वर्षीय चालक पक्राउ : JCNEPAL MEDIA

हावाहुरीसहितको भीषणवर्षाले खत्री ठाँटी बजार क्षेत्रमा ठूलो क्षति : JCNEPAL MEDIA

विकास योजनाको काम उपभोक्ता समितिबाट गराउने मधेस सरकारको तयारी : JCNEPAL MEDIA

न्यायाधीश पोखरेलले स्वार्थ बाझिने अवस्थामा पनि रविको मुद्दा हेर्दा उठे प्रश्न ? : JCNEPAL MEDIA

धनुषामा बिहेको मटकोरमा नाच्दै गर्दा युवकको किचिएर मृत्यू, खुसी शोकमा परिणत : JCNEPAL MEDIA