वरिष्ठ सई सागर राणालाई फसाउने डिआइजी थपलियाको षडयन्त्र फेल, केन्द्रले रोक्यो निलम्बनको प्रक्रिया : JCNEPALMEDIA

बैशाख ०९,२०८३ / जेसी नेपाल संवाददाता

वीरगञ्ज : मधेस प्रदेश प्रहरीभित्र पछिल्लो समय विकसित घटनाक्रमले सङ्गठनभित्र गहिरो सङ्कट र शक्ति सङ्घर्षको सङ्केत दिएको छ । आर्थिक लेनदेन, तस्करी ‘सेटिङ’, घुमुवा प्रहरीको भूमिका र कमान्ड कन्ट्रोलसम्बन्धी विवाद एकै पटक सतहमा आएपछि सङ्गठनभित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ ।

विवादमा बिना कारण मुछिएका जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागर शमशेर राणाविरुद्ध गरिएको निलम्बन सिफारिस प्रहरी प्रधान कार्यालयले तत्कालका लागि रोकेको छ । प्रारम्भिक अध्ययनका आधारमा थप प्रमाण र वस्तुनिष्ठ छानबिन आवश्यक देखिएकाले हतारमा कारबाही नगर्ने निर्णय गरिएको उच्च स्रोतले जनाएको छ । राणालाई फसाएर आफै उम्किने षडयन्त्र स्वरूप गरिएको निलम्बन केन्द्रले रोकेपछि घटना थप जटिल बनाएको छ । विवादित गतिविधिमा नाम जोडिएका ‘घुमुवा’ प्रहरी—वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादवलाई प्रहरी मुख्यालय काठमाडौँ तानिएको छ ।

उनीहरूको कार्यशैली, आर्थिक लेनदेनसँगको सम्भावित संलग्नता र कमान्ड संरचनाबाहिरको प्रभावबारे छानबिन गरिने बताइएको छ । घुमुवा प्रहरीमार्फत तस्करी नियन्त्रणको नाममा उल्टै ‘लाइन मिलाउने’ र रकम असुली हुने गरेको आरोप लामो समयदेखि उठ्दै आएको थियो । विवादको मुख्य जडका रूपमा सार्वजनिक भएको अडिओलाई लिइएको छ । अडिओमा वरिष्ठ सई राणा र जनकपुरका व्यापारी राजीव महासेठबीचको संवाद रहेको दाबी गरिएको छ । उक्त अडिओमा व्यापारीहरूसँग रकम सङ्कलन गरी घुमुवा प्रहरीमार्फत माथिल्लो तहसम्म पुर्‍याइने उल्लेख छ । तर, राणाले उक्त अडिओमा आफ्नो आवाज भए पनि सन्दर्भ तोडमोड गरिएको र आफूलाई योजनाबद्ध रूपमा फसाउन खोजिएको दाबी गरेका छन् ।

उनले कुनै पनि अवैध आर्थिक गतिविधिमा संलग्न नरहेको र प्रमाणित भए कडा कारबाही भोग्न तयार रहेको बताएका छन् । मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियामाथि आफ्ना निकटस्थमार्फत तस्करी ‘सेटिङ’ मिलाउने, व्यापारीसँग आर्थिक लेनदेन गर्ने र असुली संयन्त्र सञ्चालन गर्ने आरोप लागिरहेको छ । प्रहरी स्रोतका अनुसार सीमा क्षेत्रमा हुने तस्करीमा संलग्न व्यापारीसँगको सम्बन्ध बाहिर आउने त्रासपछि कनिष्ठ कर्मचारीलाई लक्षित गरी कारबाही प्रक्रिया अघि बढाइएको आरोप छ । यद्यपि, डिआइजी थपलियाले सबै आरोप अस्वीकार गरेका छन् । उनले अडिओको विश्वसनीयतामाथि प्रश्न उठाउँदै आफूलाई बदनाम गर्ने नियतले नियोजित रूपमा सामग्री सार्वजनिक गरिएको बताएका छन् । “सत्य तथ्य छानबिनबाट बाहिर आउँछ, दोषी जोसुकै भए पनि कारबाही हुन्छ,” उनको भनाइ छ । अडियो प्रकरणले प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबिचको सम्बन्धमा गम्भीर दरार उत्पन्न गरेको छ ।

धनुषाका प्रहरी प्रमुख (एसपी) रुगम कुवरले आफ्ना मातहतका कर्मचारीमाथि कारबाही गर्ने अधिकार आफूमा निहित रहेको अडान लिएका थिए । तर, प्रदेश कार्यालयबाट प्रत्यक्ष हस्तक्षेप र दबाब आएपछि विवाद चर्किएको हो । एसपी कुवरमाथि दुई पटक स्पष्टीकरण सोधिएको र लगातार मानसिक दबाब सिर्जना भएको स्रोतको दाबी छ । यही तनावका बिच उच्च रक्तचाप बढेपछि उनी जनकपुरस्थित अस्पतालमा भर्ना हुनुपरेको छ । एसपी कुवरले पछिल्लो समय सक्रिय रूपमा तस्करी नियन्त्रण अभियान चलाउँदै करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेका थिए । यसले तस्करी सञ्जाल प्रभावित भएको र त्यसको ‘रियाक्सन’ प्रहरी सङ्गठनभित्रै देखिएको दाबी गरिएको छ ।

विशेषगरी पर्सा, सिराहा, सर्लाहीलगायत जिल्लाबाट नियमित रूपमा रकम सङ्कलन गरी माथिल्लो तहसम्म पुर्‍याइने आरोपले सङ्गठनको छवि गम्भीर रूपमा प्रभावित भएको छ । विवादको जड चैत १ गते भएको एउटा बरामद घटनासँग पनि जोडिएको छ । सो दिन वरिष्ठ सई गोपाल थापा मगरले एक व्यापारीसँग सम्बन्धित अवैध सामान नियन्त्रणमा लिएका थिए । तर, उक्त घटनामा संलग्न नभएका अन्य कर्मचारीलाई समेत तान्ने प्रयास भएको भन्दै जिल्ला प्रहरी असन्तुष्ट बनेको थियो । यस क्रममा डिआइजीका निकटस्थ भनिएका घुमुवा सई जयलाल यादव र मगरलाई जोगाउने उद्देश्यले निर्णयहरू प्रभावित भएको आरोप लाग्दै आएको छ ।

प्रहरी सङ्गठनका पूर्व कर्मचारी तथा जानकारहरूले पछिल्लो घटनाक्रमलाई “संरचनागत समस्या”को रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार तल्लो तहका कर्मचारीलाई बलिको बोका बनाउने र उच्च तहका अधिकारी जोगिने प्रवृत्तिले संस्थागत विश्वसनीयतामाथि गम्भीर असर पारिरहेको छ । हाल प्रहरी प्रधान कार्यालयले घटनालाई गम्भीर रूपमा लिएर बहुआयामिक छानबिन अघि बढाएको बताइएको छ । अडिओको प्राविधिक परीक्षण, सम्बन्धित व्यक्तिहरूको बयान, आर्थिक कारोबारको ट्र्याकिङ र कमान्ड निर्णयहरूको समीक्षा गरिनेछ ।

प्रकाशित : बैशाख ०९,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

राराब क्याम्पसमा BBA परीक्षार्थी र क्याम्पस प्रशासनबीचकाे विवादले केही विद्यार्थी हरू परिक्षाबाट बन्चित : JCNEPAL MEDIA

ई-बिडिङ ह्याकिङ ‘महाजाल, ठेक्कामा साइबर चलखेल,६ जना निर्माण व्यवसायी पक्राउ : JCNEPALMEDIA

आउदो साउन देखि नगरपालिका बाटै नापी र मालपोत सेवा दिने : JCNEPALMEDIA

सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA