महोत्तरीमा सशस्त्रका एसपी अधिकारीले तस्करीको लाईन खुलाएर लिगल व्यापारीलाई दुःख दिएको आरोप : JCNEPAL MEDIA

बैशाख २६,२०८३ / जेसी नेपाल संवाददाता

जलेश्वर : विगत बैशाख २२ गते महोत्तरीमा सशस्त्रका एसपी अधिकारीले तस्करीको लाईन खुलाएर लिगल व्यापारीलाई दुःख दिएको व्यपारीहरूले आरोप लगाएका छन ।

महोत्तरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीकै संरक्षणमा ‘लाइन मिलाएर’ तस्करी हुने गरेको आरोपबीच हालैको एउटा घटनाले वैध व्यापारसमेत प्रभावित हुने अवस्था देखिएको छ । व्यवसायीहरूले सशस्त्र प्रहरीका उच्च अधिकारीले अनैतिक लाभ लिन दबाब दिने र ‘लाइन’ नमिल्ने व्यापारीलाई दुःख दिने प्रवृत्ति बढेको आरोप लगाएका छन् । व्यवसायीका अनुसार सिमावर्ती क्षेत्रमा “लाइन खुलेको” नाममा मासिक रकम बुझाउने समूहको सामान निर्वाध रूपमा ओसारपसार हुने गरेको छ । तर रकम नबुझाउने व्यापारीको सामान भने सक्कली बिल, विजक र सरकारी भिसिटिएस प्रणालीमा अभिलेख भए पनि नियन्त्रणमा लिएर भन्सार बुझाउने गरिएको आरोप छ ।

यही आरोपलाई बल पुग्ने गरी गत शुक्रबार राति सशस्त्र प्रहरी गण ९ नम्बर हेक्वा महोत्तरीका एसपी शेरबहादुर अधिकारी नेतृत्वको टोलीले मनरा सिस्वा नगरपालिका–२ भोल्हीबाट तीनवटा पिकअपमा रहेको स्याउ नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको हो । व्यवसायीका अनुसार प्र–१–०४–००१ च ०४१४, म.प्र.०४–००१ च ०३८० र प्रदेश २–०२–००१ च ०७२२ नम्बरका पिकअपमा रहेको ३४५ कार्टुन स्याउ बजरंग ट्रेडिङ कम्पनी प्रालि, बर्दिबासबाट माँ जानकी ट्रेडर्स, मनरा सिस्वाका नाममा कानुनी बिलसहित पठाइएको थियो । सामानसँग नेपाल सरकारको अनलाइन भिसिटिएस बिलसमेत रहेको दाबी गरिएको छ ।

तर, सशस्त्र प्रहरीले कुनै स्थलगत मुचुल्का, प्रारम्भिक अनुसन्धान वा औपचारिक प्रक्रिया पूरा नगरी सामान नियन्त्रणमा लिएको व्यवसायीहरूको आरोप छ । स्थानीयले एसपी अधिकारी स्वयं उपस्थित भएर सामान नियन्त्रणमा लिएको भिडियोसमेत रहेको दाबी गरेका छन् । घटनापछि सशस्त्र प्रहरीले ती सामानलाई “बेवारिसे बरामद” उल्लेख गर्दै मूल भन्सार कार्यालय मलिवाडा, भिटामोड बुझाएको थियो । तर प्रारम्भिक चरणमा संगठनात्मक प्रतिवेदन नै नभएकाले मुद्दा दर्ता हुन सकेको थिएन । पछि घटना भएको तीन दिनपछि मात्र प्रतिवेदन पठाइएको बताइएको छ । भन्सार स्रोतका अनुसार नेपाली बजारभित्रबाट वैध बिलसहित बरामद भएको सामानमा सामान्यतया मुद्दा दर्ता नहुने प्रावधान छ । तर व्यवसायीहरूले एसपी अधिकारीले भन्सार प्रमुखमाथि दबाब दिएर मुद्दा दर्ता गराउन खोजेको आरोप लगाएका छन् ।

व्यवसायी तथा स्थानीय जनप्रतिनिधिको पहलपछि अन्ततः सोमबार उक्त मुद्दा फस्यौट गर्दै सामान सम्बन्धित व्यापारीलाई फिर्ता गरिएको थियो । भन्सार कार्यालयले समेत सामान बिलविजकअनुसारकै रहेको र नेपाली बजारबाटै बरामद भएको पुष्टि गरेको स्रोतले जनाएको छ । स्थानीय व्यापारीहरूका अनुसार यो घटना प्रतिनिधिमूलक मात्रै हो । महोत्तरीका विभिन्न सीमावर्ती क्षेत्रमा ‘लाइन मिलाएर’ काम गर्ने र आर्थिक लेनदेन नमिल्ने व्यापारीमाथि कारबाहीको दबाब सिर्जना गर्ने प्रवृत्ति बढ्दो छ । रघुनाथपुर, सम्सी, रामनगर, भिटामोड, मटिहानी, गौशाला, खैरबन्नी, इटहरवा कट्टी र एकडारालगायत क्षेत्रमा खटिएका सुरक्षा अधिकारीहरूको संलग्नतामै यस्तो नेटवर्क सञ्चालन हुने गरेको आरोप स्थानीय व्यवसायीको छ ।

व्यवसायीहरूले सीमामा तस्करी नियन्त्रणभन्दा पनि वैध व्यापारलाई दुःख दिने र आर्थिक लाभका लागि दबाब सिर्जना गर्ने प्रवृत्तिले व्यवसायिक वातावरण नै असुरक्षित बनेको गुनासो गरेका छन् । एसपी अधिकारीले भने तत्कालै व्यापारीसँग बिल बिजक नभएको कारण पक्राउ गरिएको बताइएको छ ।

प्रकाशित : बैशाख २४,२०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA