पूर्वी नेपालमा लागूऔषधको विगविगी, एकैदिन ८ युवा पक्राउ, ब्राउन सुगरदेखि ट्रामाडोलसम्म बरामद : JCNEPALMEDIA

जेष्ठ ०५,२०८३ / जेसी नेपाल संवाददाता

झापा : पूर्वी नेपालका तीन जिल्ला झापा, सुनसरी र मोरङमा लागूऔषध कारोबार तथा दुव्र्यसनको जालो भयावह बन्दै गएको संकेत देखिएको छ । पछिल्लो घटनामा जेठ ०३ गते मात्रै प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकामध्ये अधिकांश युवा उमेर समूहका रहेका छन्, जसले समाजमा बढ्दो लागूऔषध संकटलाई थप गम्भीर बनाएको छ । प्रहरीका अनुसार झापा, सुनसरी र मोरङका विभिन्न स्थानमा गरिएको चेकजाँच तथा विशेष सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाबाट ब्राउन सुगर, ट्रामाडोल क्याप्सुल, डिकोलिक ट्याब्लेट लगायतका प्रतिबन्धित औषध बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–२ का २३ वर्षीय विशेष लिम्बुलाई ६२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै दमक–९ का १९ वर्षीय सनम लिम्बुलाई ७५ क्याप्सुल र ७५ ट्याब्लेट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार पछिल्लो समय दमक क्षेत्रमा युवामाझ ब्राउन सुगरको प्रयोग तीव्र रूपमा फैलिरहेको छ । सीमावर्ती क्षेत्र र राजमार्गको सहज पहुँचका कारण लागूऔषध कारोबारीहरूले पूर्वी जिल्लालाई ट्रान्जिट र बजार दुवैको रूपमा प्रयोग गर्न थालेको आशंका गरिएको छ । सुनसरीमा बसपार्कदेखि बजार क्षेत्रसम्म निगरानी ,जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका प्रहरी युनिटहरूले छुट्टाछुट्टै स्थानबाट चार जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएका छन् ।इटहरी–२ हलगडाका २३ वर्षीय कृष्ण राईलाई ९२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

त्यस्तै धरान–१५ का २५ वर्षीय सनम राईलाई ट्रामाडोल १४० क्याप्सुल र डिकोलिक १४० ट्याब्लेटसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसैबीच रामधुनी नगरपालिका–९ का २२ वर्षीय रोहन चौधरी र रामधुनी–७ का २३ वर्षीय मनिस चौधरीलाई इनरुवा–४ स्थित बसपार्क क्षेत्रबाट ६ ग्राम ७४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । प्रहरीका अनुसार बसपार्क, होटल, लज तथा भीडभाड हुने सार्वजनिक स्थलहरू लागूऔषध कारोबारका लागि प्रयोग हुन थालेपछि निगरानी बढाइएको छ । सुनसरीमा पछिल्लो समय विशेषगरी ब्राउन सुगर र मेडिकल ड्रग्सको कारोबार बढ्दै गएको सुरक्षा अधिकारीहरू बताउँछन् । मोरङको लेटाङमा दुई युवा समातिए ,इलाका प्रहरी कार्यालय लेटाङले मोरङको लेटाङ–३ क्षेत्रमा चेकजाँच गर्ने क्रममा बेलबारी नगरपालिका–११ का २३ वर्षीय प्रेमबहादुर तामाङ र बेलबारी–४ का २० वर्षीय संजोग विशंखेलाई पक्राउ गरेको छ ।उनीहरूको साथबाट ६ ग्राम २८ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

युवामाझ फैलँदो कुलत ,सुरक्षा निकायका अनुसार पक्राउ पर्नेहरू अधिकांश २० देखि २५ वर्ष उमेर समूहका छन् । यो तथ्यांकले लागूऔषधको प्रयोग र कारोबारमा युवा पुस्ता गम्भीर रूपमा फस्दै गएको देखाउँछ ।लागूऔषध प्रयोगकर्ताहरूको संख्या बढेसँगै चोरी, लुटपाट, घरेलु हिंसा तथा आपराधिक गतिविधि पनि बढ्न सक्ने भन्दै प्रहरी चिन्तित देखिएको छ । विशेषगरी बेरोजगारी, खराब संगत, सीमापार तस्करी र सामाजिक निगरानीको अभावका कारण युवा लागूऔषधको जालोमा फस्ने गरेको जानकारहरू बताउँछन् ।पूर्वी नेपालका सीमावर्ती क्षेत्रबाट भारत हुँदै ब्राउन सुगर भित्रिने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । सानो परिमाणमा ल्याएर स्थानीय बजारमा वितरण गर्ने शैली सक्रिय रहेको अनुसन्धानमा खुलेको स्रोतले जनाएको छ ।

प्रहरीको अभियान तीव्र, कोशी प्रदेश प्रहरी कार्यालयले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन भइरहेको जनाएको छ । राजमार्ग, बसपार्क, होटल तथा शंकास्पद स्थानहरूमा निगरानी बढाइएको प्रहरीको भनाइ छ ।प्रहरी अधिकारीहरूका अनुसार लागूऔषध नियन्त्रण केवल पक्राउ अभियानबाट मात्र सम्भव नहुने भएकाले परिवार, विद्यालय, स्थानीय तह र समुदायको पनि सक्रिय भूमिका आवश्यक छ ।लागूऔषध प्रयोगकर्तालाई समयमै परामर्श, उपचार र पुनःस्थापनामा जोड दिन नसके स्थिति अझ भयावह बन्न सक्ने सरोकारवाला हरूको चेतावनी छ ।हाल पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ०५, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सरूवा एसपी–डीएसपीलाई आईजीपीको निर्देशन, नवीन साेचमा कामगर्नु : JCNEPALMEDIA

सुकुम्वासीहरूले अब काठमाडौं केन्द्रित आन्दोलनको गरे तयारी, सिंहदरबार मार्चको घोषणा : JCNEPAL MEDIA

आजदेखि मलेमास प्रारम्भ, जनकपुर गेरुकाधाममा श्रद्धालुको स्नान शुरू : JCNEPALMEDIA

बटसाबित्रि सावित्री र सत्यवान्को प्रेम कथा

जनकपुर यातायात कार्यालयबाट तीन जना बिचौलिया पक्राउ : JCNEPALMEDIA

रास्वपालाई आफ्नो राजनीतिक अनुभवबाट सिक्न प्रचण्डले दिए सुझाव : JCNEPALMEDIA