भारतबाट नेपाल भित्रिँदै गरेका युवामाथि सशस्त्र प्रहरीको एक्सन, स्कुटर छाडेर तस्कर फरार : JCNEPALMEDIA

जेष्ठ ०६,२०८३ / जेसी नेपाल संवाददाता

सुनसरी : नेपाल–भारत सीमा क्षेत्र जमुवा यतिबेला लागूऔषध तस्करीको संवेदनशील ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको खुलासा भएको छ । केही साताको अन्तरालमै एउटै सीमा क्षेत्रमा भएका दुई फरक घटनाले सुनसरीको दक्षिणी नाका लागूऔषध ओसारपसारको नयाँ रुट बन्दै गएको संकेत दिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी श्रीपुरले कोशी गाउँपालिका–३ जमुवा सीमा क्षेत्रमा गरेको निगरानीका क्रममा दुई छुट्टाछुट्टै अपरेशनमार्फत ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । पहिलो घटनामा दुई युवक पक्राउ परेका छन् भने दोस्रो घटनामा स्कुटरमै लागूऔषध छाडेर दुई जना फरार भएका छन् ।घटनाले सीमा क्षेत्रमा सक्रिय लागूऔषध गिरोहको शैली, भारतीय बजारसँगको कनेक्सन र युवाहरूको संलग्नताबारे गम्भीर प्रश्न उठाएको छ ।

डिउटी देख्नेबित्तिकै भागे युवक ,पहिलो घटना वैशाख १ गते साँझ करिब ६ः२० बजे भएको थियो । नयाँ वर्षको दिन भए पनि जमुवा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको नियमित चेकजाँच चलिरहेको थियो ।सशस्त्र प्रहरी बल नेपाल बीओपी श्रीपुरबाट आईडी नं. ४०४१५ का सशस्त्र प्रहरी जवान मनबहादुर न्यौपानेको कमाण्डमा ३ सदस्यीय टोली सीमा क्षेत्रमा चेकप्वाइन्ट ड्युटीमा खटिएको थियो । त्यही बेला भारतबाट नेपालतर्फ आउँदै गरेका केही युवाको गतिविधि शंकास्पद देखियो । प्रहरीले उनीहरूलाई रोक्न खोज्नेबित्तिकै युवकहरू भाग्न थाले । त्यसपछि सशस्त्र प्रहरी टोलीले लखेट्न सुरु गर्‍यो ।

भाग्दै गरेका युवाहरूले खेतको आलीतिर केही वस्तु फालेको प्रहरी टोलीले देखेको थियो । प्रहरी त्यहाँ पुग्दा ठूलो मात्रामा लागूऔषध क्याप्सुल फेला परेको थियो ।केही बेरको खोजीपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिन सफल भयो । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–३ बस्ने अन्दाजी २० वर्षीय निशान माझी र मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने अन्दाजी २३ वर्षीय अर्जुन माझी रहेका छन् ।

नगद, मोबाइल र लागूऔषध बरामद , प्रहरीका अनुसार पक्राउ परेका निशान माझीको साथबाट नगद ४ हजार ५ सय रुपैयाँ बरामद भएको छ भने अर्जुन माझीको साथबाट १० हजार १ सय २० रुपैयाँ फेला परेको छ ।त्यसैगरी उनीहरूको साथबाट Spasmo Proxyvon Plus नामक लागूऔषध ५४ पत्तामा ४३२ पिस बरामद गरिएको छ । साथै Tramal-50 Mg नामक औषध ३ पत्तामा ३० पिस फेला परेको छ ।प्रहरीले उनीहरूको साथबाट एक थान Redmi मोबाइल र एक थान Realme मोबाइल समेत नियन्त्रणमा लिएको जनाएको छ ।बरामद सामग्री तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि सोही राति जिल्ला प्रहरी कार्यालय सुनसरी बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । के हो Spasmo Proxyvon र Tramal ? बरामद गरिएका Spasmo Proxyvon Plus र Tramal-50 Mg सामान्य औषधि भए पनि यसको दुरुपयोग लागूऔषधको रूपमा हुने गरेको प्रहरी बताउँछ ।Spasmo Proxyvon मा रहेका केही तत्वले नशालु प्रभाव दिने भएकाले सीमावर्ती क्षेत्रमा यसको अवैध कारोबार हुने गरेको छ ।

Tramal अर्थात् Tramadol पनि पीडानाशक औषधि हो, तर अत्यधिक प्रयोग गर्दा यसले लत बसाउने र मानसिक असर पार्ने खतरा हुन्छ ।प्रहरी स्रोतका अनुसार यस्ता औषधि नेपालमा प्रत्यक्ष उत्पादन नहुने भएकाले अधिकांश भारतबाट अवैध रूपमा भित्र्याइन्छ । पहिलो घटनाको करिब एक महिनापछि फेरि त्यही जमुवा सीमा क्षेत्रमा अर्को सनसनीपूर्ण घटना भयो ।जेठ ४ गते दिउँसो ३ः४० बजे सशस्त्र प्रहरी बल नेपाल बीओपी श्रीपुरबाट सशस्त्र प्रहरी बल हवल्दार लक्ष्मण मगरको कमाण्डमा ३ सदस्यीय टोली सीमा क्षेत्रमा चेकजाँचमा खटिएको थियो । त्यसक्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २१ प ९५०१ नम्बरको स्कुटरमाथि प्रहरीले शंका गर्‍यो ।स्कुटर रोकेर चेकजाँच गर्न खोज्नेबित्तिकै स्कुटरमा सवार दुई जना व्यक्ति अचानक भागेका थिए ।प्रहरीले तत्काल स्कुटर नियन्त्रणमा लिएर चेकजाँच गर्दा अगाडिको भागमा लुकाइछिपाई राखिएको लागूऔषध फेला पारेको थियो ।

स्कुटरभित्र भेटियो ‘ड्रग्स स्टक’ , प्रहरीका अनुसार स्कुटरबाट Spasmo Proxyvon Plus ३ पत्तामा २४ पिस, Tramal-50 Mg ३ पत्तामा ३० पिस र Nitrazepam ५ पत्तामा ५० पिस बरामद गरिएको छ ।Nitrazepam निद्रा लगाउने औषधिका रूपमा प्रयोग हुने भए पनि यसको दुरुपयोग लागुऔषधका रूपमा हुने गरेको छ ।स्कुटरमा सवार व्यक्ति फरार भए पनि प्रहरीले नम्बरको आधारमा मालिकको खोजी थालेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । किन बन्दैछ जमुवा सीमा ‘ड्रग ट्रान्जिट’ ? सुरक्षा निकायका अनुसार सुनसरीको जमुवा क्षेत्र पछिल्लो समय लागूऔषध ओसारपसारको सहज रुटका रूपमा प्रयोग हुन थालेको छ ।

खुला सीमा, खेत–बारीको बाटो, सीमित सुरक्षा जनशक्ति र स्थानीय भौगोलिक अवस्थाका कारण तस्करहरू मुख्य नाका छलेर साना बाटो प्रयोग गर्ने गरेका छन् ।भारततर्फबाट सस्तो मूल्यमा औषधिजन्य नशालु पदार्थ ल्याएर नेपालका विभिन्न सहरमा पुर्‍याउने गिरोह सक्रिय रहेको प्रहरीको अनुमान छ ।विशेष गरी धरान, विराटनगर, इटहरी, दमक र काठमाडौंसम्म यस्ता औषधि पुग्ने गरेको सुरक्षा स्रोत बताउँछ ।

युवालाई ‘कुरियर’ बनाउने गिरोह , प्रहरी अनुसन्धानमा लागूऔषध कारोबारमा संलग्न मुख्य गिरोहले बेरोजगार तथा आर्थिक अभावमा रहेका युवालाई ‘कुरियर’ का रूपमा प्रयोग गर्ने गरेको तथ्य पटक–पटक देखिएको छ ।पक्राउ परेका अधिकांश युवा सीमावर्ती जिल्ला वा पूर्वी नेपालका विभिन्न सहरका हुने गरेका छन् । उनीहरूलाई केही हजार रुपैयाँ दिएर सामान ओसार्ने काममा प्रयोग गरिन्छ ।सुरक्षा अधिकारीहरूका अनुसार लागूऔषध ओसारपसारमा संलग्न मुख्य व्यक्ति भने प्रायः पर्दापछाडि नै रहने गर्छन् । पक्राउ पर्नेहरू प्रायः ‘क्यारियर’ मात्र हुने गरेका छन् ।

सुनसरी–मोरङ क्षेत्रको खुला सीमा लागूऔषध मात्र होइन, सुन तस्करी, प्रतिबन्धित औषधि, नक्कली सामान तथा अन्य अवैध कारोबारको समेत रुट बन्दै गएको सुरक्षा अधिकारीहरू बताउँछन् ।सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको नियमित निगरानी भए पनि तस्करहरूले नयाँ–नयाँ तरिका अपनाउने गरेका छन् ।कहिले पैदल, कहिले मोटरसाइकल वा स्कुटर प्रयोग गरेर, त कहिले महिलालाई समेत प्रयोग गरी लागूऔषध भित्र्याउने प्रयास हुने गरेको प्रहरीको भनाइ छ ।

समुदायस्तरमै फैलिँदै जोखिम , लागूऔषधको बढ्दो कारोबारले सीमावर्ती समुदायमा सामाजिक असर समेत देखिन थालेको स्थानीय बताउँछन् ।विद्यालय तथा कलेज उमेरका युवामा नशालु ट्याब्लेटको पहुँच बढ्दै गएको, सीमावर्ती बजारमा गोप्य रूपमा बिक्री हुने गरेको र केही युवाहरू त्यसको लतमा फस्न थालेको स्थानीयको गुनासो छ ।स्वास्थ्यकर्मीहरूका अनुसार Tramadol, Nitrazepam जस्ता औषधिको अनियन्त्रित प्रयोगले मानसिक समस्या, आक्रामक व्यवहार, डिप्रेसन र शारीरिक क्षति निम्त्याउन सक्छ । सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय सुनसरीले दुवै घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

बरामद मोबाइलको कल डिटेल, सीमावर्ती सम्पर्क, भारतीय नेटवर्कसँगको सम्भावित सम्बन्ध तथा फरार व्यक्तिको खोजीमा अनुसन्धान केन्द्रित गरिएको छ ।प्रहरीका अनुसार सीमामा लागूऔषध नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको छ ।तर यी दुई घटनाले एउटा कुरा स्पष्ट पारेको छ,नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै लागूऔषध गिरोह अझै सक्रिय छन्, र यदि नियन्त्रण प्रभावकारी हुन सकेन भने सीमावर्ती क्षेत्र ‘ड्रग करिडोर’ मा रूपान्तरण हुन धेरै समय लाग्ने छैन ।

प्रकाशित : जेष्ठ ०६, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पूर्वी नेपालमा लागूऔषधको विगविगी, एकैदिन ८ युवा पक्राउ, ब्राउन सुगरदेखि ट्रामाडोलसम्म बरामद : JCNEPALMEDIA

मधेशमा मन्त्री फेरबदल गरी सरकार टिकाउने तयारी,स्वास्थ्यमन्त्री जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने दाउमा : JCNEPALMEDIA

सरूवा एसपी–डीएसपीलाई आईजीपीको निर्देशन, नवीन साेचमा कामगर्नु : JCNEPALMEDIA

सुकुम्वासीहरूले अब काठमाडौं केन्द्रित आन्दोलनको गरे तयारी, सिंहदरबार मार्चको घोषणा : JCNEPAL MEDIA

सिरहा सशस्त्र प्रहरी द्वारा ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक ट्रक नियन्त्रणमा : JCNEPALMEDIA

आजदेखि मलेमास प्रारम्भ, जनकपुर गेरुकाधाममा श्रद्धालुको स्नान शुरू : JCNEPALMEDIA